Biratnagar, Morang, Nepal
१४ वैशाख २०८२, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

एमालेको ४० मुनिका युवाको कार्यक्रम

राज्यको खर्चमा मन्त्री, मुख्यमन्त्रीको लर्को ?

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आफ्नो निजी सचिवालयको डप्फैसहित एमालेका बहुसंख्यक मन्त्रीहरू काठमाडौंको भृकुटीमण्डपको ‘युथ सेलिब्रेसन’ मा सहभागी बनेका छन् ।
उद्‌घोष सम्वाददाता
१२ वैशाख २०८२, शुक्रवार

विराटनगर । सत्तारुढ नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा ‘युथ सेलिब्रेसन’ कार्यक्रम आयोजना गर्याे । 

४० वर्ष मुनिका एक लाख युवा सडकमा उतार्ने अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा सफल पार्न कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा उनीहरूका सचिवालयका बहुसंख्यक कर्मचारी काठमाडौं पुगेका छन् । त्यतिमात्रै होइन एमालेबाट जितेका वडाध्यक्षदेखि पालिकाका प्रमुखसम्म काठमाडौं पुगेका छन् ।

एमाले कोशीका सांसद तथा मन्त्रीहरूले बिहीबार दिनभरिजसो आफ्नो फेसबुक वालमा कार्यक्रममा सहभागी भएको तस्बिर हालेर आफूहरू काठमाडौं पुगेको प्रमाण सार्वजनिक गरेका थिए । 

राजधानीको भृकुटीमण्डपमा कार्यक्रम गरेर एमालेले जनताले जितेको दिन भन्दै ‘युथ सेलिब्रेसन’ गरिरहँदा कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की आफ्नो निजी सचिवालयको डप्फै र एमालेका बहुसंख्यक मन्त्रीहरूसहित काठमाडौंको भृकुटीमण्डपको ‘युथ सेलिब्रेसन’ मा सहभागी बनेका थिए ।

मुख्यमन्त्री कार्की, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर  मगर, खानेपानी, सिँचाइ तथा ऊर्जा  मन्त्री एकराज कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलगायतका मन्त्रीहरू पार्टीको कार्यक्रममा सहभागी हुन काठमाडौं पुगेका हुन् । 

‘पार्टीको कार्यक्रममा सहभागी हुन मन्त्रीज्यूसहित काठमाडौं आएका छौं,’ आन्तरिक मामिला मन्त्रीका स्वकीय सचिव दीपक श्रेष्ठले भने ‘अब आइतबारतिर विराटनगर फर्कछौं ।’ 
प्रदेश सरकारमा एमालेबाट मन्त्री रहेका सामाजिक विकास मन्त्री पाँचकर्ण राई मात्रै काठमाडौं नपुगेको उनको सचिवालयले जनाएको छ । 

‘उहाँ पनि जाने कुरा त थियो तर यता धेरै कार्यक्रम परेर बाहिर निस्कन पाउनुभएन’ मन्त्रीका स्वकीय सचिव कमल पुरीले भने । 

४० वर्षमुनिका युवाहरूको भेलामा सरकारको काम छाडेर मुख्यमन्त्रीदेखि मन्त्रीहरूसम्म किन काठमाडौं गए भनेर सोध्दा एक मन्त्रीले ‘सरकारी कामकै कारण काठमाडौं आइपुग्दा पार्टीको कार्यक्रममा सहभागी भएको’ जवाफ दिए । 

‘हामी पनि पार्टीकै मान्छे हौं नि, आउनै पर्यो’, उनले भने । ती मन्त्रीले ‘सरकारकै कामका लागि काठमाडौं आएको’ भन्ने जवाफले दर्शाउँछ, मुख्यमन्त्रीदेखि मन्त्रीहरू सबै सरकारी खर्चमा सचिवालयका सदस्यहरूसमेत लिएर काठमाडौं पुगेका हुन् । 

मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार मुख्यमन्त्री विराटनगरबाट बाहिर जाँदा उनी र उनको सचिवालय, सुरक्षाकर्मीसहित कम्तीमा पाँचदेखि सात जनाको टिमको आउनेजाने खर्च (हवाई भाडा), काठमाडौंमा बासको खर्च राज्यकोषबाट भुक्तानी हुन्छ । 

यसबाहेक मुख्यमन्त्रीले दैनिक रुपमा तीन हजार रुपैयाँ भ्रमण भत्ता पनि पाउँछन् । अन्य कर्मचारीले पनि त्यो सुविधा दर्जाअनुसार पाउने गर्छन् । 

त्यस्तै मन्त्रीहरू विराटनगर बाहिर जाँदा खाने, बस्ने, हवाई भाडासहित दैनिक २ हजार ५ सय रुपैयाँ भ्रमण भत्ता पाउँछन् । मन्त्रीहरूले मुख्यमन्त्रीबाट स्वीकृति लिएर राजधानी बाहिर जाने ऐनमा व्यवस्था छ । 

पूर्वस्वीकृति लिएर मात्रै जानुपर्ने कानुनी प्रावधान भए पनि पहिले आफूखुशी जिल्लाबाहिर जाने, पछि फर्केर कागजात मिलाउने चलन स्थापित भइसकेको एक कर्मचारी बताउँछन् । 

‘जुन जोगी आएपनि गर्ने यही हो’ एक कर्मचारीले भने, ‘पहिला आफ्नो निजी वा पार्टीको के काम हो, जान्छन्, पछि सरकारी काम भनेर कागजपत्र बनाएर भुक्तानी लिन्छन् ।’ 

राजनीतिक नियुक्त पाएका व्यक्तिले यसरी दावी गरेको भ्रमण भत्ता, हवाई टिकटको भुक्तानी अख्तियारप्राप्त कर्मचारीले आँखा चिम्लेर गरिदिन्छन् । र, यही मेसोमा कर्मचारीहरूले पनि भ्याएसम्मको भ्रमण भत्ता चप्काउँछन् ।

मुख्यमन्त्री र मन्त्रीहरू यसरी लर्को लागेर पार्टीको कार्यक्रममा सहभागी हुन काठमाडौं जाँदाको खर्च राज्यकोषले बेहोर्छ कि बेहोर्दैन भन्ने प्रश्नमा आर्थिक मामिला तथा योजना मन्त्रालयका एक उच्च तहका अधिकारीले ‘तपाईको प्रश्नको स्तर नै पुगेन’ भन्दै व्यङ्ग्य गरेका छन् ।

‘मुख्यमन्त्री र मन्त्रीहरू व्यक्तिगत खर्चमा काठमाडौं जालान् त ?’ भन्दै उनले भने ‘उहाँहरूको यस्तो सबै खर्च प्रदेश सरकारले बेहोर्छ । अहिले मात्रै होइन, जसको सरकार हुँदा पनि चलन नै त्यही हो । अहिलेको मात्रै कुरा होइन ।’

View : 325

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved