विराटनगर । किरात राई समुदायको मौलिक भाषा, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले ‘चाम्लिङ एवं बाहिङ (बायुङ) भाषाको प्रशिक्षण विराटनगर सुरु भएको छ । किरात राई समुदायको ३२ भाषा मध्ये ती भाषाको अध्ययन–अध्यापन तथा साकेला सिली प्रशिक्षण कार्यक्रम’ विराटनगरमा मंगलबार भव्यताकासाथ उद्घाटन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले भाषा र संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमहरू प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्दै आफ्नो संस्कृति बिर्सिंदै गएकोमा चिन्ता व्यक्त गरे । सबै जातजातिको भाषा, लिपी, संस्कार, संस्कृति संरक्षणमा स्थानीय सरकार सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे ।
चाम्लिङ भाषाका लागि जीतमान राई र कालभान राई, बाहिङ भाषाका लागि प्रताप बाहिङ र राजवीर बाहिङले प्रशिक्षण दिने छन् । भाषा र संस्कृतिको संरक्षणमा यो प्रशिक्षण ऐतिहासिक कदम हुने आशा गर्दै यस्ता प्रयासहरूले किरात राई समुदायको भाषा र संस्कृतिलाई संरक्षण मात्र होइन, पुनर्जीवन दिने विश्वास लिइएको छ ।
एक महिनासम्म सञ्चालन हुने सो प्रशिक्षणमा किरात राई समुदायको सांस्कृतिक पहिचानको गौरवशाली प्रतीक साकेला सिलीको नृत्य मनिता राई र सनम राईले सिकाउने छन् । नयाँ पुस्तालाई परम्परागत नाच, भेषभूषा र संस्कार सिकाएर सांस्कृतिक उत्तराधिकार जगेर्ना गर्ने कार्यका लागि यो प्रशिक्षण उपलब्धीमुलक हुने विश्वास गरिएको छ ।
किरात राई यायोख्खा विराटनगर महानगरपालिका समिति अध्यक्ष विष्णुकुमारी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् मोरङका अध्यक्ष दिलबहादुर थेवे, राजवंशी समाज विकास समितिकी जिल्ला सदस्य अर्पना राजवंशी, नेपाल तामाङ घेदुङकी महानगर अध्यक्ष विष्णुकुमारी तामाङ, किरात याक्थुङ चुम्लुङका महानगर अध्यक्ष टीकाप्रसाद लिम्बू (कुमार), भूपू मेजर मानबहादुर राई, विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेलगायत विभिन्न समुदायका अग्रज, युवा पुस्ता तथा स्थानीय नागरिकहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो कार्यत्रम किरात राई यायोख्खा विराटनगर महानगर समितिको आयोजनामा कोशी प्रदेश सरकारको सहयोग र विराटनगर महानगरपालिकाको समन्वयमा गरिएको हो ।
View : 70
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved