मनमा एउटा बेग्लै छटपटी थियो । श्रीमतीजी गर्भवती हुनु भन्दा अगाडिदेखि दोस्रो सन्तान जन्माउने कि नजन्माउने छलफल करिब ८ वर्ष नै चल्यो । हामी दुवै जनाले दोस्रो सन्तान चाहिन्छ भन्ने निष्कर्षमा पुग्यौं । जब उनी गर्भवती भइन् तब एउटा बेग्लै उत्साह र चुनौती थपिएको महसुस भयो । हरेक महिना डाक्टरसँगको भेटले प्रतीक्षाको घडी कम हुुँदै गएको थियो । जिम्मेवारी बढ्दै गएको महसुस गराउँथ्यो । पहिलो सन्तान छोरो भएकोले दोस्रो छोरी त होलानि भन्ने प्रश्न सामान्य जस्तै थियो तर हामीले कहिल्यै डाक्टरलाई प्रश्न गरिनम् ।
ईश्वरको कृपाले हामी जे भएनि खुशी नै हुन्थौं । हामीलाई दोस्रो सन्तान मात्र चाहिएको थियो । आफ्नो जागिर टाढा भएकोले श्रीमतीको नियमित हेरचाह गर्ने अवसरबाट बञ्चित थिएँ । उनी पनि जागिरे भएकोले थकान र पीडा बढ्दै थियो ।
करिब ३८ हप्ता पछि विराटनगरको नोबेल अस्पतालमा श्रीमतीजीको शल्यक्रिया गर्ने निर्णयमा पुगिम् । शल्यक्रिया (अपरेसन) को लागि डा शान्तिले पुस ११ गतेको मिति तय गरिदिनु भयो । हामीमा एक बेग्लै रोचक अनुभव साथै भयले मुटुको धड्कन बढ्न थाल्यो । पुस १० गते डाक्टरले अस्पतालमा भर्ना हुनु पर्ने र अपरेसनको पूर्वतयारी गर्ने पुर्जामा सुझाव दिनु भएको दिन नै हामीमा डरको ढड्कनको डिग्री ३६० पुगिसकेको थियो ।
पहिलो सन्तान पनि अपरेसन भएकोले दोस्रो सन्तानमा अनुभव त हुन पर्ने तर अपरेसन गर्न म पनि डराएको थिएँ । हामीलाई सुत्केरी हुँदा भन्दा पनि सुरक्षाको चुनौती धेरै थियो । बच्चा जन्माउने भय नहुनु पर्ने हो तर नोबेल अस्पतालमा बारम्बारको सुत्केरी महिलाको मृत्युको घटनाले थप त्रसित बनाएको थियो ।
१० गतेको साँझ अस्पताल बसाइ नोबेलको वेड (शय्या) नं ३५ क्याबिनलाई बुक गरियो । श्रीमतीजीको मनमा डरको सीमा नाघेर गइसकेको थियो । त्यही साँझ डाक्टरले श्रीमतीजीलाई जाँचको लागि प्रसवकक्षमा एक्लै लगें । त्यहाँ उनीले अन्य गर्भवतीको अवस्था, प्रसव पीडा (लेवर पेन) को आवाजले उनीको बीपी (रक्तचाप) एक्कासी बढेर गयो । सामान्यत बीपी कम हुने श्रीमतीजीको १५०–१०० पुगेछ । डाक्टर पनि त्यो अवस्था देखेपछि बच्चालाई असर गर्छ । रक्तचाप घटेन भने अझै अपरेसन गर्नु पर्ने पनि हुन सक्ने डर सुझाव दिए । श्रीमतीजीलाई प्रसव कक्ष (लेवररुम) बाट पुनः वेड नं ३५ ल्याइयो ।
भगवानको कृपाले करिब दुई घण्टाको आराम पछि प्रेसर पुनः सामान्य अवस्थामा आयो ।
श्रीमतीजी एक्लै प्रसव कक्षमा हुँदा उनीलाई परेको मानसिक तनाव र मनोवैज्ञानिक त्रासमा श्रीमानसँगै नहुँदा दुःखित थिएँ । पुरुषको लागि प्रसवकक्ष आफ्नी श्रीमतीजीसँग जान पाएको भए श्रीमतीजीलाई ढाडस तथा मनोवैज्ञानिक आत्मवल बढ्थ्यो भन्ने कुरा उनीको त्यो डर, भावनाले स्पष्ट बोलिरहेको थियो । अपसोच त्यो क्षणलाई श्रीमान् भएर सहयात्री बन्न सकिनँ ।
भोलिका दिन हाम्रो लागि जीवनको महत्वपूर्ण थियो । डाक्टरले अपरेसनको मिति तोकेको दिन उत्साह भन्दा भय धेरै भयो । श्रीमतीजीको आत्मबल बढाउन मैले गरेका प्रयास निरन्तर थियो । तर, श्रीमतीजी अत्यधिक डराएको अवस्थामा मैले न डराएको अभिब्यक्ति त गर्नै पर्यो तर म पनि धेरै डराएको थिएँ ।
‘म एक्लै जे हुन्छु । धेरै डर लागिरहेको छ’ भन्ने उनीको भनाइले आफूलाई ग्लानी र भय थप बढिरहेको थियो । मस“ग भगवानको प्रार्थना बाहेक केही विकल्प थिएन । घरीघरी मनमा दोस्रो सन्तान जन्माउने निर्णय गलत गरिम् कि भन्ने प्रश्न पनि आइरहेको थियो । नोबेल अस्पतालमा विरामीप्रतिको हेलचेक्राइ भएको समाचारले गर्दा अपरेसन गर्ने अस्पताल गलत छनोट भयो कि भन्ने मेरो मनमा खेलिरहेको थियो । तर, डा शान्तिप्रतिको विश्वासले हामीलाई नोवेल पु¥याएको थियो । तर पनि मनमा छटपटी भइरहेको थियो । श्रीमतीजीलाई केही भइहालेमा के गर्ने भन्ने कमजोर मानसिक विचारले छटपटाहट बढिरहेको थियो ।
करिब विहानको १० बजे अपरेसनको लागि तयारी हुने सूचना आयो । मुटुको धड्कन एक्कासी ३६० नै पुगे जस्तो महसुस भयो । श्रीमतीजीलाई एप्रोन लगाएर प्रसवकक्षमा लग्ने तयारी भयो । श्रीमतीजीलाई वेडमा राखेर प्रसव कक्षसम्म पुर्याउन बाहेक अरु केही थिएन । जीन्दगीको यस्तो महत्वपूर्ण अवस्थामा श्रीमतिलाई एक्लै छाडेर बाहिर बस्नुको पीडा एक श्रीमानको कस्तो होला ? यो संवेदनशील अवस्थामा श्रीमतिलाई मनोवैज्ञानिक आँट, साहस दिने सबैभन्दा नजिकको साथी श्रीमान नै हो । तर, किन श्रीमानलाई श्रीमतीसँगै जान नदिएको मेरो प्रश्न थियो ? तर त्यसको उत्तर कसैले दिइनन् ।
श्रीमती प्रसवको छटपटीमा श्रीमानलाई टाढा राख्ने ब्यवहार, संस्कार पूर्णतः गलत छ भन्ने महसस गरें । नेपाली समाज पुरुष र महिलाबीचको भावनात्मक सम्बन्ध प्रगाढ बनाउने सांस्कृतिक अभ्यास नै कम भएको महुसस गरें ।
मेरा आ“खा प्रसवकक्ष र अपरेसन थिएटरतिर थिए । मेरा कान तिखो बनाएर श्रीमतीजीको नाम सुन्न आतुर थिएँ । भगवानलाई सम्झिने र पुकार्ने बाहेक केही थिएन । प्रसवकक्षमा हुने गतिविधिको अनुमान गर्नबाहेक केही उपाय थिएन ।
बेलाबेलामा माइकबाट सुत्केरीको नाम आउँदा मेरो कान श्रीमतीजीको नाम कतिखेर आउने ब्यग्र प्रतीक्षामा थिएँ । अन्य अभिभावकले हातमा बच्चा बोकेको देख्दा मेरा पनि हातमा मेरो बच्चा कतिखेर राखुम् भनेर आतुर थिएँ । करिब १ घण्टाको समय मलाई श्रीमतीजीको पीडा भन्दा ठूलो थियो । महसुस गर्ने, प्रसव कक्षको क्षण म श्रीमतीजीसँगै छेउमा, उनीको हात समातेर आत्मबल दिन पाएको भए सायद उनी पनि ढुक्क हुने थिइन् र म पनि । तर, त्यो अवसरबाट एक बाबु, श्रीमान् गुम्दा दुःखित थिएँ ।
जब, भित्रबाट श्रीमतीजीको नाम उच्चारण भयो । तब, झसङ्ग भएँ । थप मेडिसिन लिनको लागि अनुरोधको सन्देस थियो । फुपूआमालाई जिम्मा लगाएर म दैडिएँ । अपरेसन कक्षमा के भएको छ भन्ने मैले अझै थाहा पाउन सकिन ।
मेडिसिन लिन गएकै अवस्थामा फुपूआमाको फोन आयो । मेरो पहिलो जिज्ञासा थियो, नविनतालाई कस्तो छ ? उनीलाई ठिक छ भन्ने सुनें । भगवानलाई धेरै आभार प्रकट गरे । मन हलुका भयो । हतार हतार थप मेडिसिन लगें । श्रीमतीजीलाई भेट्न दिने अनुमति मागें । तर उनीलाई क्याविनमा ल्याइ सकेको थिएन । अझै मनमा डर र आवेग बढिरहेको थियो । केही समयपछि उनीलाई वार्डमा ल्याइयो । उनी अचेत जस्तै थिइन् । शरीर थरथर कापीरहेको थियो । नजिक गएर उनीको हात छुएँ । उनीको हात कापी रहेकोले मेरो पनि हात र मुटु काप्यो । तर, उनी सकुसल भएको देख्दा मन खुशी भयो ।
श्रीमती बेडमा अचेत अवस्थामा थिइन् । उता बच्चा फपूआमासँग थियो । आमाको दूध खुवाउनु पर्ने । अस्पतालको भित्तामा भर्खर जन्मेको बच्चालाई आमाको दूध खुवाउनु भनेर टाँसिएको थियो तर आमाको दूध कसरी खुवाउने साहै्र गाह्रो भयो । नर्सहरुको सजीकरण पनि थिएन । श्रीमतीजी अचेत अवस्थामा भएको बेलामा बच्चालाई आमाको दूध खुवाउनु असम्भव प्रायः थियो । ‘फरमुला’ खुवाउने निधो गरियो । अस्पतालमा बच्चालाई अनिवार्य आमाको दूध खाने ब्यवस्थापन र सहजीकरण गर्न कुनै पहल थिएन । सरकारले सबै अस्पतालमा शुरुमा बच्चालाई आमाको दूध अनिवार्य खुवाउने ब्यवस्थापन गर्नु गर्ने महसुस गरें । जुन कमजोर पक्ष थियो ।
श्रीमतीजीलाई करिब ५ घण्टापछि आफ्नै क्याविनको वेड नं ३५ मा लाने निधो गरियो । करिब ९ महिनासम्म गर्भमा बच्चा बोक्ने, स्याहार, अपरेसन गर्दाको घाउको दुखाइ, जीवन र मरणको पीडा, नियमित रुपमा बच्चालाई दूध खुवाउनको समस्या एक महिला तथा आमाको महत्त्व र पीडालाई राम्रोसँग अनुभव र महसुस गरें । बाबु भएर बच्चा जन्माउने क्षणमा मनोवैज्ञानिक तथा भावनात्मक स्पर्श गर्न नपाउँदाको पलजस्तो क्षण जिन्दगीमा अन्य बाबुले भोग्नु नपरोस् ।
अहिले छोरो ५ महिनामा प्रवेश गरिसकेको छ । तर, पनि आमाको भूमिका बाबुको तुलनामा अहम् रहेको महसुस हुन्छ । सम्पूर्ण आमाहरुको त्याग र बलिदानप्रति सम्मानपूर्ण नमन गर्दछु । एक श्रीमानले प्रसव कक्ष, अपरेसन कक्षमा श्रीमतीसँग बसेर श्रीमतीको आत्मवल बढाउने कुरामा राज्य गम्भीर हुन सकोस् ।
(लेखक मानव अधिकारको क्षेत्रमा कार्यरत छन् ।)
View : 79
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved