सुनसरी । कोशी नदीमा डल्फिनको संख्या गत वर्षभन्दा बढेको पाइएको छ । यस वर्षको गणनामा तीन वटा थपिएर डल्फिनको संख्या २२ पुगेको छ । तीमध्ये २ वटा बच्चा चाहिँ माउले बोकेर हिंडेको भेटिएको छ ।
गत वर्ष गणना गर्दा कोशीमा १९ वटा डल्फिन देखिएका थिए । संकटापन्नको सुचीमा रहेको डल्फिन नेपालको कर्णाली र कोशी नदीमा छन् ।
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा गरिएको डल्फिन गणनाबाट दुई बच्चासहित यो तथ्याङ्क देखिएको हो । माउसँगै बच्चा देखिनुले कोशी नदीको नेपालतर्फ नै डल्फिनले बच्चा जन्माएको हुन सक्ने अनुमान गरिएको छ ।
कोशीमा प्रदुषण र विषादीको प्रयोग हुने भएकाले आहाराको कमी हुँदा उल्लेख्य रुपमा डल्फिनको वृद्धि हुन नसकेको आरक्ष कार्यालयले जनाएको छ ।
कोशी नदी दक्षिण भारततर्फ बगेर जाने र उतैबाट आउने भएकाले नदीमा गरिएको गणनालाई कतिपयले सही तथ्याङ्क मान्दैनन् । भारतको गंगा नदीबाट उत्तरतर्फ बगेर नेपालका साना खोलाहरूमा पनि यदाकदा डल्फिन फेला पर्ने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा डल्फिन संरक्षित स्तनधारीका रूपमा सूचीकृत छ ।
गणनाका क्रममा १५ वटा वयस्क, ५ वटा अर्धवयस्क र २ वटा बच्चा गरी २२ वटा डल्फिन रेकर्ड गरिएको आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
कोशी नदी तथा कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा यही जेठ १५ देखि १८ गतेसम्म चार दिन गरिएको डल्फिनको संख्या आरक्ष कार्यालयले बिहीबार सार्वजनिक गरेको हो ।
डल्फिनको संख्या थोरै भए पनि बढ्नुले संरक्षणकर्मी खुसी देखिएका छन् । गणनामा संरक्षणकर्मीसमेत सहभागी थिए ।
कोशीटप्पु वन्यजन्तु आरक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्र, आरक्ष सुरक्षामा रहेको नेपाली सेनाको भीमकाली गुल्म, तथा कोशीमा पंक्षी तथा वातावरण संरक्षणमा काम गर्दै आएको कोशी बर्ड अब्जरभेटरी र हिमाली प्रकृति नामका संस्था गणनामा सामेल थिए ।
प्रकृति संरक्षण कोष कोशी केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार नदीमा डुङ्गा र किनारबाट गणना गरिएको हो । डल्फिन देखिने खास स्थानहरुमा गणकहरू बसेर नियालेका थिए ।
कोशी ब्यारेजको दक्षिणी क्षेत्र सप्तरीको गोबरगाडा आसपासमा मात्रै छ वटा डल्फिन फेला परे ।
‘आहाराको खोजीमा उत्तरतर्फ नै बग्ने डल्फिनलाई ब्यारेजको ढोकामा भने आवतजावत गर्न सहज हुँदैन’ गौतमले भने ।
View : 106
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved