सुनसरी । साविक बिजेता विराटनगर महानगरपालिकाले दोस्रो संस्करणको मेयरकप अन्तरपालिका क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
इटहरी उपमहानगरपालिका–९ स्थित जनता क्रिकेट खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा विराटनगरले इटहरी उपमहानगरपालिकालाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
इटहरीले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य विराटनगरले १९ दशमलव ५ बलमा ६ विकेट गुमाउँदै पुरा गर्यो । विराटनगरका लागि मिनास थापाले सर्वाधिक ८७ रनको उत्कृष्ट इनिङ खेले ।
४५ बलको सामना गरेका उनले ६ छक्का र ८ चौका प्रहार गरे । अटल शाहले २६ रन बनाउदा कप्तान दिपेश कँडेलले नटआउट २० रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले रितेश रायको ६१ रनको मद्दतमा निर्धारित २० ओभरमा ७ बिकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो ।
इटहरीका लागि अंकित सुबेदीले २५ रन बनाउँदा गौरव कटुवाल र सुमन गहतराजले समान १९ रन जोडे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विराटनगरका दिपेश कँडेल घोषित हुँदै नगद ७ हजार पुरस्कार पाए ।
उत्कृष्ट ब्याटर इलामको माई नगरपालिकाका अनिल लामिछाने र बलर मोरङको कटहरी गाउँपालिकाका प्रेम कामत भए । उनीहरूले जनही ५ हजार रुपैयाँ पाए ।
उपाधि बिजेता विराटनगरले नगद १ लाख रुपैयाँ र उपविजेता इटहरीले नगद ५० हजार पुरस्कार प्राप्त गरेको छ ।
इटहरी उपमहानगरपालिकाले संयोजन गरेको प्रतियोगितामा कोशी प्रदेशका १८ वटा पालिकाबाट खेलाडीहरू सहभागी भएका थिए ।
View : 64
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved