विराटनगर । चर्को घाममा छहारी खोजिरहेको श्रमिकले सितल प्रदान गर्ने रुख नपाएपछि हत्केलाले घाम छेकेर रापबाट जोगिएको दृश्य देखेका पारुल क्षेत्री सडक किनारमा बिरुवा रोप्न थाले ।
८ हजार बिरुवा हुर्काउन थालेका उनी एक लाख बिरुवा रोप्ने योजनाका साथ अघि बढेका छन् ।
विराटनगरको मुनालपथमा दुई चार वटा गर्दै रोप्न थालेका उनले उत्साहित भएर एक हजार बिरुवा रोप्ने योजना गरेका थिए । तर ८ हजार बिरुवा पुर्याउँदा उनी पनि थाकेनन् ।
विराटनगर प्रवेशद्वार ढाटदेखि रानी भन्सार नाकासम्मको दुई तर्फी सडकमा पारुलले थालेको अभियानले ८ हजार बिरुवा रोपेर हुर्काउँदैछ ।
बिरुवा रोप्नु भन्दा पनि हुर्काउनु चुनौतिपूर्ण छ । कतिपयले बिरुवा उखेल्ने भाँच्ने गर्छन् ।
सुक्खा मौसममा बिरुवालाई दैनिक पानी आवश्यक पर्छ । यो अभियान अब एक लाख बिरुवा हुर्काउने महाअभियानमा परिणत हुँदैछ । अब बिरुवा रोप्ने अभियान विराटनगरबाट उत्तर दुहबीसम्म पुग्नेछ ।
पसिना पुच्छ्दै सडकमा हिंड्ने मजदुर अब सानो भए पनि छहारी पाउने बिरुवाको फेदमा अडिन थालेका छन् । सडक किनारमा बिरुवा रुख भएपछि के के समस्या आउन सक्छ ?
यसको उत्तर पनि पारुलसँग छ । रुखलाई कत्रो बनाउने ? त्यही अनुसार बढ्न दिनु पर्छ ।
माथि विद्युतको तार भए धेरै बढ्न दिनु हुँदैन । त्यसको जराले नाला र सडकलाई असर नपर्ने बताउँदै उनी सय वर्षअघिका घर र पर्खालमा ठूला रुख भए पनि घर र पर्खाल नलडेको उनी उदाहरण दिन्छन् ।
पारुलले एक्लै थालेको अभियानमा सय भन्दा बढी मानिस जोडिईसकेका छन् । तर, बिरुवालाई दैनिक रेखदेख, पानी, मल र बार लगाउन भनें दैनिक १० को संख्यामा मानिस निस्कने गरेका छन् ।
दुर्लभ बिरुवाहरु नगरका सडक किनारमा हुर्कन थालेपछी उनको अभियानलाई साथ दिनेहरु बढ्दै गए ।
कसैले जन्म दिन र बिवाह उत्सवमा गर्ने खर्च बचाएर बिरुवा खरिद गरिदिए त कसैले नगदनै दिन थाले ।
बिरुवालाई चाहिने मल र पानी पटाउने भाडा पनि सहयोग आउन थाल्यो ।
सुरुवातीकालमा उनले नर्सरीमा गएर गोजीको पैसाले बिरुवा किन्नु परेजस्तो हिजोआज निजी खर्च गर्नु पर्दैन । विराटनगरका सडकमा देखिने बिरुवा ६३ प्रजातिका छन् ।
जापानमा पाइने राकुरा, भारतमा पाइने सुख सयल, सिन्दुर, आर्युवेदिक महत्वको अर्जुन, नेपालमा पहाडी वनस्पती चिउरी, हर्रो, बर्राे, रिट्ठा, मौरीका लागि महत्वपूर्ण कल्की फूल उनको अभियानले लगाएको छ ।
कहिलेकाहीं पहेंलो धोती लगाएर बिरुवा संरक्षणमा सडकमा भेटिने राजनीतिकर्मी पारुलको हरित विराटनगर बनाउने अभियानलाई कतिपयले २०८४ को निर्वाचनसग पनि जोडेर हेरेका छन् ।
पारुलको निस्वार्थ अभियानलाई देखेर कतिपयले सामाजिक सञ्जालमा आगामी मेयरका रुपमा उनलाई ब्याख्या गर्न पनि थालेका छन् ।
‘धेरैले आगामी मेयर भन्नु हुन्छ, मैले जसरी पनि विराटनगरलाई राम्रो बनाउने हो’ उनले भने ।
राजनीतिक रुपमा सचेत उनी जसरी पनि जनताको सेवा गर्न आफु सबैथोक छाडेर निस्किएको बताउँछन् । हुन त उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) विराटनगर महानगर कमिटीको अध्यक्ष थिए ।
उनी बृक्षरोपण अभियानमा यति चुर्लम्म डुबेकी पार्टीबाट अहिले निस्क्रिय बसेका छन् । पार्टी बेगर विराटनगरमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन जित्नु त्यत्ती सहज छैन ।
उनको राजनीतिक यात्रा भन्दा पनि सामाजिक यात्रालाई नगरबासीले सम्मानको नजरले हेरेको देखिन्छ ।
हिजोआज हरेक दिन अपरान्ह ४ देखि ७ बजेसम्म दैनिक तीन घण्टा पारुल सडक किनारका बिरुवालाई पानी, मल र लड्न नदिन बाँसको भाटाको टेको लगाई रहेका हुन्छन् ।
नगर भित्रका ८ हजार बिरुवा हुर्कदै गर्दा उनी विराटनगर पूर्वको सिंघिया र पश्चिमको केशलिया खोला आसपासमा पनि बिरुवा रोप्ने अभियानमा हिंड्दैछन् ।
२०६२–६३ को जनआन्दोलन अघि र पछि विराटनगरका चर्चित विद्यार्थी नेतामा चिनिने उनी त्यसपछि एमाले हुँदै एकीकृत समाजबादीका नेताका रुपमा चिनिन्थे ।
अहिले ‘संकल्प हरेक विराटनगर’ का अभियन्ता भएपछि उनको यति लामो राजनीतिक पृष्ठभुमी हराउँदै गएको छ । उनी अभियन्ताका रुपमा बिभिन्न टोल समाजले गर्ने वृक्षरोपणमा अतिथि बनेर जाने गरेका छन् ।
View : 1798
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved