मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित हिमालयन जिआरपी पाइप इन्डष्ट्रिजमा औधोगिक प्रशिक्षार्थी तालिमका क्रममा सीपसहितको प्रशिक्षणमा सहभागी मेकानिकल र इलेक्ट्रिकलतर्फका प्रशिक्षार्थीहरु उक्त उद्योगमा रहेका कम्पनी प्रशिक्षकहरूसँग । तस्वीर : बाबुराम भण्डारी/उद्घोष
विराटनगर । मोरङको कटहरी नयाँ बजारका अरुण सहनी अहिले पनि २४ महिने सूचना प्रविधि (आईटी) पढ्दैछन् । तर उनी विराटनगरकै नाम चलेको आईटी कम्पनी मेगाटेकमा चार महिनादेखि काम पनि गर्दैछन् ।
अरुणले पहिले स्थानीय फ्याक्ट्रीमा कपडा सिलाउने काम गरेको अनुभव सुनाए । कपडा फ्याक्ट्रीमा काम गर्ने क्रममा अप्ठेरो हुन थालेपछि उनले नजिकैको जहदा गाउँपालिकास्थित शैलजा आचार्य स्मृति पोलिटेक्निकमा २४ महिने आईटी पढ्ने निधो गरे । हप्ताको ६ दिन मेगाटेकमा काम गर्दै शनिबार भने भने उनी पढाइका लागि समय छुट्याउँछन् ।
पढाई नसक्दै रोजगारी पाएका अरुण र उनीजस्तै पढ्दै काम गर्ने गरेका विद्यार्थीहरूको अहिलेसम्मको काम पनि सन्तोषजनक रहेको मेगाटेकका सर्भिस प्रमुख विनोदकुमार चौधरीले बताए ।
‘म अहिलेसम्मको कामले सन्तुष्ट छु, राम्रो गरी काम गरिरहेका छन्’ उनले भने, ‘पढेको कुरालाई कामकै माध्यमबाट प्रयोगमा ल्याउन विद्यार्थीहरूले पनि उत्सुकता देखाइरहेका छन्, हामी जस्तो कम्पनीहरूले दिने सर्भिसलाई ठुलो सहयोग पुगेको छ, काम गरेपछि त उनीहरूले पैसा पनि पाइरहेका छन् ।’
सुनसरीको गढी–१ मधेलीका पुरुषोत्तम चौधरी पनि इटहरीकै नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानमा औद्योगिक प्रशिक्षार्थीका रुपमा २४ महिने होटल व्यवस्थापन अध्ययनरत छन् । तर चौधरीले अहिले इटहरीको सुविधा सम्पन्न होटल बरण्डामा काम गर्ने अवसर मात्रै पाएका छैनन्, उनले कामको पारिश्रमिक पनि पाइरहेका छन् ।
‘अहिले हाउस किपिङमा कार्यरत छु, अब किचेनमा पनि जाने सोच बनाइरहेको छु’ होटल बरण्डामा भेटिएका चौधरीले भने, ‘मैले जस्तै २४ महिने होटल म्यानेजमेन्ट पढेको साथी त अझ इटहरीकै सोल्टी होटलमा काम गर्दैछ, म चैं गत बैशाखदेखि काम गर्दैछु, पैसा पनि पाइरहेको छु ।’
२४ महिने शिक्षणबाटै बाल विकास सहजकर्ता बन्ने धोकोसहित अध्ययन गरिरहेकी मिरा राया क्षेत्री विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयको प्रारम्भिक बाल कक्षामा पढाउँछिन् । आफूले शैलाजा आचार्य स्मृति पोलिटेक्निकमा भर्ना भएर साढे ३ महिना पढिसकेपछि पोखरिया माविको वाल कक्षामा पढाउने पनि अवसर पाएको र पढाएवापत विद्यालयले मासिक पाँच हजार रुपैयाँ दिने गरेको उनले बताइन् ।
पढ्न गएको मान्छेले २८ जना विद्यार्थीलाई पढाउन पाएको छु’ उनले भनिन्, ‘विद्यालयले मासिक पाँच हजार रुपैयाँ पनि दिने गरेको छ ।’
सहनी, चौधरी र राया बाहेक पनि धेरै विद्यार्थीहरू प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले तयार पारेको २४ महिने प्रशिक्षार्थीका रुपमा सीपसहितको प्रशिक्षणको अवसर पाइरहेका छन् ।
सीटीईभीटीले तयार पारेको यस्तो पाठ्यक्रम पढाउनका लागि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले शैक्षिक संस्थाहरूस“ग सम्झौता गरिदिने र विद्यार्थी भर्नाको बाटो खोलिदिने गरेको छ ।
मन्त्रालयका प्राविधिक शिक्षा शाखाका बरिष्ठ शिक्षा अधिकृत ढुण्डीराज पौडेलले रोजगारीका अवसरहरूमा ठाउँ नपाएका बेरोजगार युवा र महिलालाई रोजगारीमा पहुँच बढाउने उद्देश्यले औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम सञ्चालन हुँदै आएको बताए । यो कार्यक्रम सामाजिक विकास विकास मन्त्रालयकै नेतृत्वमा हेल्भेटास नेपाल–इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको जानकारी दिए ।
‘गरिखाने बाटो बनाउन नसकेका, साधारण शिक्षा मात्रै प्राप्त गरेका, लोकसेवा पास गर्न नसकी रोजगारीको खोजीमा भएका वा कतैपनि जागिर नपाएपछि त्यतिकै बसेका युवा वर्गलाई रोजगारीमा पहुँच बढाउने सरकारकै नीति रहेको छ’ शिक्षा अधिकृत पौडेलले भने, ‘यसको मुल उद्देश्य भनेकै सीप सिकेपछि आफैं गरिखान सक्ने होस् भन्ने हो, बेरोजगार नहोस, सीप सिकेर स्वरोजगार होस् भन्ने हो ।’
उनले २४ महिने कोर्स अन्तरगत सुरुको साढे तीन महिना शिक्षालयमा पढेपछि प्रशिक्षार्थीहरूले रोजगारदाता प्रतिष्ठानमा पढेको कुरालाई प्रयोगात्मक रुपमा सीप सिक्ने अवसर पाउने बताए । त्यसरी काम गर्दा काम लगाउने रोजगारदाता प्रतिष्ठानले नेपाल सरकारले तोकेको न्यूनतम् पारिश्रमिकको २५ प्रतिशत रकम पारिश्रमिक स्वरुप दिने गरेको जानकारी दिए । साथै सीपसहितको प्रशिक्षण सकेका प्रशिक्षार्थीहरूले सम्बन्धित उद्योगमै मासिक २५ हजार रुपैयाँसम्मको जागिर प्राप्त गर्न थालेको जनाइएको छ ।
यस्तो जनशक्ति उत्पादनका लागि मन्त्रालयले आर्थिक बर्ष २०७९–८० देखि नै निश्चित शिक्षालयसँग सम्झौता गरेर औद्योगिक प्रशिक्षार्थी तालिम सञ्चालन गर्दै आएको छ । बरिष्ठ शिक्षा अधिकृत पौडेलले चालु आर्थिक वर्षका लागि ११ वटा शिक्षालयसँग एक दुई दिनभित्रै मन्त्रालयले सम्झौता सम्पन्न गर्ने बताए ।
शिक्षालयमा भर्ना भएका प्रशिक्षार्थीहरूले साढे ३ महिनाको अध्ययनपछि बाँकी रहेको साढे १९ महिनासम्म औद्योगिक प्रतिष्ठानमा सीप अभ्यासको अवसर पाउने गरेका छन् ।
मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित हिमालयन जीआरपी पाइप इन्डष्ट्रिजकी मानव संशाधन विभाग प्रमुख सरिता खतिवडाले प्रशिक्षणका लागि आउने प्रशिक्षार्थीले मेहनत गरेर काम गर्ने गरेको बताइन् । आफ्नो उद्योग सञ्चालनको तयारीमा रहेका कारण अहिले पनि मेकानिकल र इलेक्ट्रिकलतर्फ दुईजना प्रशिक्षार्थीले काम गरिरहेको जानकारी दिइन् ।
आफ्नो उद्योगमा अहिले मनमोहन पोलिटेक्निकमा मेकानिकल र इलेक्ट्रिकलको २४ महिने औद्योगिक प्रशिक्षण तालिममा भर्ना भएका दुईजना विद्यार्थीले काम गर्ने गरेको र उनीहरूलाई न्यूनतम् सुविधा समेत उपलब्ध गराइएको उनले बताइन् ।
‘यो एकदमै राम्रो कार्यक्रम रहेछ, उद्योगलाई पनि फाइदा भएको छ, प्रशिक्षार्थीहरूले सीप सिक्दै दक्षता बढाउने र रोजगारी प्राप्त गर्ने अवसर पनि पाएका छन्’ उनले भनिन्, ‘हामीलाई मेकानिकलतर्फको यस्तो जनशक्ति अझै चाहिने अवस्था छ, हामी आगामी दिनका लागि थप नयाँ प्रशिक्षार्थीहरूको पर्खाईमै छौं ।’
प्रशिक्षार्थीहरूलाई सीप अभ्यासको अवसरका लागि भने निजी क्षेत्रका नेतृत्वदायी संस्था र अन्य वस्तुगत संघसंस्थाहरूले सम्बन्धित औद्योगिक प्रतिष्ठानमा समन्वय गरिदिने गरेको उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले बताए । यस्तो कार्यक्रमले उद्योग क्षेत्रको जनशक्ति व्यवस्थापनमा समेत सहयोग पुगेको उनले बताए ।
‘२४ महिनाको समयमा साढे १९ महिना उद्योगले काम सिक्न चाहने जनशक्ति प्राप्त गर्दछ, सुरुको केही महिना काम सिक्न लागेपनि त्यसपछिको समयमा भने त्यस्तो जनशक्तिलाई न्यूनतम् पारिश्रमिकको २५ प्रतिशत दिएर काममा लगाउन पाउँछ, यसले उद्योगलाई फाइदा त हुने नै भयो’ महानिर्देशक भट्टराईले भने, ‘सीपसहितको प्रशिक्षणपछि काम गर्ने प्रशिक्षार्थीले त्यही काम पनि पाउने भयो, कामको पनि निरन्तरता हुँदा उद्योगलाई पनि उत्पादनमा पनि राम्रो हुने भयो ।’
यस्तो कार्यक्रमले मुख्यतया औद्योगिक क्षेत्रमा अभाव रहेको दक्ष जनशक्तिको खाडल पुरिने विश्वास गरिएको छ भने प्रशिक्षार्थीहरूले सीपसहितको प्रशिक्षण प्राप्त गरेको औद्योगिक प्रतिष्ठानमै रोजगार प्राप्त गर्ने र प्रशिक्षण पूरा भएपछि आफैं पनि स्वरोजगार बन्ने बाटो खुल्ने जनाइएको छ ।
सीटीईभीटीले यसका लागि सिभिल, सूचना प्रविधि, प्रारम्भिक बाल विकास, चिया प्रविधि, होटल व्यवस्थापन, अटोमोबाइल्स, इलेक्ट्रिकल र मेकानिकल गरी ८ वटा पाठ्यक्रम निर्माण गरेको छ । यो कार्यक्रम सञ्चालनका लागि सामाजिक विकासमन्त्रीको अध्यक्षतामा प्रदेश तहमा कार्यक्रम निर्देशक समिति रहेको जनाइएको छ ।
View : 276
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved