Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सम्भावित लोडसेडिङले निजी क्षेत्र त्रस्त

‘दीर्घकालीन समाधान खोज्न उद्योग संगठनले माग गरेको छ’
उद्‌घोष सम्वाददाता
६ चैत २०८१, बुधवार

विराटनगर । भारतबाट आयात हुँदै आएको विद्युत कटौती हुने र नेपालमा फेरि लोडसेडिङ हुने चर्चाले पछिल्लो समय नयाँ तरंग सिर्जना गरेको छ । खासगरी सुख्खायाममा विद्युत आपूर्ति घटेर लोडसेडिङ हुने भन्ने बहस सुरू भएपछि निजी क्षेत्र संशकित बनेको छ । 

यही विषयमा उद्योग संगठन मोरङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विद्युत कटौति गर्नेभन्दा नियमित आपूर्तिको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । 

अहिले पनि विभिन्न बहानामा दैनिक ४ देखि ६ घन्टासम्म अघोषित लोडसेडिङको मार खेप्नु परिरहेको र त्यसले औद्योगिक क्षेत्रमा नकारात्मक असर पारेको भन्दै संगठनले समस्याको समाधान खोज्न विद्युत प्राधिकरण र सरकारलाई आग्रह गरेको हो । 

मंगलबार विज्ञप्ति जारी गर्दै संगठनले भनेको छ ‘भारतबाट आयात हुँदै आएको विद्युत बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म पूर्ण रूपमा कटौति गर्ने (सोलार विद्युत मात्र उपलब्ध गराउने) र औद्योगिक प्रतिष्ठानहरूमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ हुन सक्ने भनी विभिन्न संचार माध्यममा आएको खबरप्रति उद्योग संगठन मोरङको गम्भीर ध्यानाकर्षण भएको छ । 

त्यसै पनि गत पुस महिनादेखि नै अघोषितरूपमा दैनिक ४–६ घण्टा विद्युत आपूर्तिको समस्या झेलिरहेका औद्योगिक प्रतिष्ठानहरूलाई थप कष्टकर बनाउने भएकोले तत्काल यस समस्याको समाधान खोज्न उद्योग संगठन मोरङ नेपाल सरकार र सम्बद्ध पक्षसँग जोडदार माग गर्दछ ।’ 

पछिल्लो पाँच–सात वर्षदेखि नै हरेक सुख्खा याममा विद्युत आपूर्ति अवरूद्ध हुँदा संगठनले आवाज उठाइरहेको बताउँदै संगठनले प्राधिकरणले ट्रान्समिशन लाइन निर्माण भइसकेको र चाँडै यस प्रकारको विद्युत आपूर्तिमा अवरोध नहुने आश्वासन दिँदै आएको पनि स्मरण गरेको छ । 

‘हाल भारतबाट आयात कटौति भई विद्युत आपूर्ति अवरूद्ध हुने जस्तो कुराले उद्योगी व्यवसायीहरूलाई आश्चर्य चकितमात्रै बनाएको छैन विद्युत आपूर्तिको दीर्घकालीन व्यवस्थापन गरी समस्या समाधानका लागि कुनै ठोस पहल र प्रयास नभएकोमा चिन्तित समेत तुल्याएको छ’, संगठनले भनेको छ ‘यस अवस्थाले उद्योगहरूमा ६–१२ घण्टासम्म विद्युत आपूर्ति पूर्ण रूपमा बन्द गर्ने विषयले अन्यौल थपेको छ ।’

बजारमा कहिले तरलता अभाव, कहिले ब्याज बृद्धि, आर्थिक संकुचन एवं कहिले झ्याप्प कसिलो त कहिले खुकुलो गर्ने नीतिगत अस्थिरताको चपेटामा परेको नेपालको औद्योगिक क्षेत्र हाल आएर पर्याप्त भनिएको विद्युत जस्तो आधारभूत तथा संवेदनशील स्रोतको उपलब्धतामा समेत आयातमा आश्रित हुनु पर्ने अवस्थाले अन्योल बढेको संगठनको भनाइ छ । 

‘ऊर्जा उद्योगको आधारभूत कच्चापदार्थ हो । मागअनुसारको विद्युत नियमित आपूर्ति हुने सुनिश्चिततासँगै एउटा लगानीकर्ताले उद्योग कलकारखानामा लगानी गर्दछ । 

तर, विद्युत आपूर्तिमा देखिएको अनिश्चितताका कारण भएको लगानी जोखिममा पर्ने मात्र नभई नयाँ लगानी समेत प्रभावित हुने भन्दै संगठनले विद्युत समस्या समाधानको दीर्घकालीन उपाय खोज्न पनि माग गरेको छ ।

View : 159

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved