Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
समाज

बाल यौन दुर्व्यवहार गरेको आरोपमा झाँक्री पक्राउ

उद्‌घोष सम्वाददाता
१४ जेठ २०८२, बुधवार

विराटनगर । मोरङ प्रहरीले झारफुक गर्ने बहानामा एक बालिकालाई यौन  दुर्व्यवहार गरेको आरोपमा विराटनगर–६ रामपुरका एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । 

पक्राउ पर्नेमा विराटनगर–६ बस्ने ३५ वर्षीय महमद साबिर रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।

प्रहरीका अनुसार, पीडित बालिका विगत ६ महिनादेखि डराउने, आत्तिने, बेहोस हुने जस्ता समस्याबाट ग्रसित थिइन् । सोही क्रममा महमद साबिर धामी (झाँक्री/मलबी)  भएको जानकारी पाई बिरामीको झारफुक गराउँदै आएको जाहेरवालाले बताएका छन् ।

झाँक्रीले झारफुक नगरे ज्यान नै जान सक्ने भन्दै थप उपचारका लागि ७० हजार रुपैयाँ माग गरेको र उक्त रकम दिइएको जाहेरीमा उल्लेख छ । बालिकले २०८१ पुस १७ गते रातिको समयमा उपचार गराउँदा निको हुने भनी आफ्नो घरमा बोलाई उपचारको बहानामा पीडित बालिकालाई यौन  दुर्व्यवहार गरेको आरोप छ ।

यौन दुर्व्यवहार गरेपछि कसैलाई नभन्नु भनि धम्कीपूर्ण डरत्रास देखाई प्रतिवादी फरार भएको व्यहोरासहित पीडित बालिकाले मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीका आधारमा झाँक्री महमद साबिरलाई विराटनगर–६ स्थित उनकै घरबाट पक्राउ गरी बाल यौन दुर्व्यवहार सम्बन्धी कसुरमा बुधबार मुद्दा दर्ता गरिएको छ ।

पक्राउ परेका महमद साबिरलाई अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

View : 231

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved