Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

स्ववियु नतिजाको असर

कांग्रेसमा आरोप प्रत्यारोप, शेखरप्रति चुलियो आक्रोश

उद्‌घोष सम्वाददाता
८ चैत २०८१, शुक्रवार

विराटनगर । बिहीबार बिहान विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु नतिजा आउँदै थियो । जसै नतिजा सार्वजनिक भएर अखिल क्रान्तिकारीले जीतको खुसीयाली मनाउन थाल्यो, नेविसंघभित्रको असन्तोष भने आक्रोश बनेर सामाजिक सन्जालमा पोखिन थाल्यो । 

विराटनगरको महेन्द्र मोरङ क्याम्पससहितका महत्वपूर्ण तीन क्याम्पसमा सभापति जितेर अखिल क्रान्तिकारी र माओवादी केन्द्रले खुसीयाली मनाइरहँदा नेविसंघ र कांग्रेस भने चुनावी असफलताको पीरले पिरोलिएको अवस्थामा छन् । सामाजिक सन्जाल फेसबुकमा बिहीबार दिनभरी कांग्रेस कार्यकर्ताहरूबीच चलेको जुहारी र आरोप प्रत्यारोपले विराटनगरको कांग्रेस वृत्तमा चुलिएको असन्तोष उजागर गरेको छ । 

महेन्द्र मोरङ, डिग्री  क्याम्पस र नर्सिङ क्याम्पसमा अखिल क्रान्तिकारीले सभापति जित्दा ती सबै क्याम्पसमा जीतको दाबी गरिरहेको नेविसंघ भने हेरेको हेर्यै बनेको छ । विराटनगरलाई आफ्नो पुरानो विरासतयुक्त थलो दाबी गर्ने कांग्रेसभित्र यहाँका महत्वपूर्ण क्याम्पसहरूमा नेविसंघ हारेपछि असन्तोष उत्कर्षमा पुगेको छ । 

यो असन्तोषको केन्द्रमा संस्थापनइतर पक्षका नेता  डा. शेखर कोइराला छन् । नेविसंघका हुन् वा कांग्रेसका, सबै तहका कार्यकर्ताहरूले अन्य दुई क्याम्पसको तुलनामा महेन्द्र मोरङको हारलाई ‘अनपेक्षित’ मानेका छन् । र, उनीहरूले यो हारको जिम्मेवारी डा. शेखर कोइरालाले लिनुपर्ने भन्दै उनीविरुद्ध निशाना साँधेका छन् ।

यसरी शेखरविरुद्ध फायर खोल्नेमध्येकै एक हुन् नेविसंघ कार्यकर्ता दिपक नेपाल । उनले सामाजिक सन्जाल फेसबुकमा कोइरालालाई नै सम्बोधन गरेर तिखो टिप्पणी गरेका छन् ।

‘आदरणीय शेखर कोइराला दाइ,  पूर्वको सबैभन्दा ठूलो, नेपाल भरिमै सबैभन्दा महत्वका साथ हेरिने, तपाइँको गृहनगर विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा आज तपाईको उम्मेदवारले केवल ६० भोट ल्याएको छ । जसका कारण  नेविसंघले हार व्यहोर्नुपरेको छ’, उनले भनेका छन् ‘तपाईले विद्यार्थी माझमा सामान्य जनमत पनि नभएको ब्यक्तिलाई उचालेर मोरङ नेविसंघमा  भाँडमैलो किन मच्चाउनु भो ?’ 
नेविसंघका मात्रै होइन कांग्रेसकै नेताहरूले पनि महेन्द्र मोरङको हारको जिम्मा शेखर कोइरालाले लिनुपर्ने बताएका छन् । 

‘शेखर कोइरालाका खास भनिएका मान्छेपिच्छेका फरक उम्मेदवार र समूह थिए, मिलाउन खोज्दा शेखर कोइरालाले देखेको नदेख्यै गरे’, कोशी प्रदेशसभाका सदस्य रहेका एक कांग्रेस नेताले भने ‘देखादेखि आफ्ना उम्मेदवार हराउने खेलमा शेखर समूहका नेताहरू लागे । यसको जिम्मा त्यही समूहले लिनुपर्छ ।’ 

कांग्रेसभित्रको यो असन्तोषको मुख्य कारण महेन्द्र मोरङको चुनावी नतिजा भएको छ ।  महेन्द्र मोरङको स्ववियु सभापतिमा क्रान्तिकारीका रोहित यादव निर्वाचित हुँदा यसअघि जयराम सुन्दासले रचेको इतिहास दोहोरियो । क्रान्तिकारीबाट महेन्द्र मोरङमा सभापति बन्ने यादव दोस्रो व्यक्ति भएका छन् ।

यादवले १,११८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्र्धी नेपाली कांग्रेसनिकट नेविसंघका प्रज्ज्वल विष्ट (हाक्कु) ले १,०७५ मत प्राप्त गरे । नेविसंघकै बागी उम्मेद्वार  योगराज दाहालले  ६० मत प्राप्त गरेका छन् ।  

नेकपा एमाले निकट अनेरास्ववियुका अनिश बोगटीले २३२ मत ल्याए । अध्यक्ष पदमा स्वतन्त्रसहित ७ उम्मेदवार प्रतिस्पर्धामा थिए । सचिवमा नेविसंघकी सुदीक्षा थापा मगर निर्वाचित भइन् ।  बहुसंख्यक पदमा नेविसंघका उम्मेदवारहरू निर्वाचित हुँदा सभापतिमा भने क्रान्तिकारीले बाजी मारेको छ । 

महेन्द्र मोरङमा क्रान्तिकारीका उम्मेदवारले नेविसंघका उम्मेदवारलाई जम्मा ४३ मतको अन्तरले पराजित गरेका छन् । जबकि, नेविसंघकै बागी उम्मेदवार योगराज दाहालले ६० मत प्राप्त गरेका छन् । कांग्रेस नेताहरू यही ६० मतका कारण नेविसंघले हारेको बताउँछन् । 

‘शेखर पक्षले उचालेका योगराजले पाएको भोट पनि नेविसंघकै विद्यार्थीको हो । त्यो मत आधिकारिक उम्मेदवारका पक्षमा खसेको भए र एकताबद्ध भएर चुनाव लडेको भए जीत सहजै हुने थियो’, प्रदेशसभाका ती सदस्यले थपे ‘तर, शेखर दाइ पक्षका नेताहरू नेविसंघ हराउने खेलमा खुलेआम लागे । परिणाम यस्तो आयो ।’  

त्यसो त महेन्द्र मोरङमा नेविसंघभित्रको विवाद पुरानै हो । यसको प्रकटीकरण भने फागुन १५ मा भएको थियो । नेविसंघ जिल्ला सभापति सरोज पोखरेलमाथि क्याम्पस परिसरमा नेविसंघकै कार्यकर्ताहरूले आक्रमण गरेका थिए । त्यसपछि सुरु भएको विवाद फरक जिल्ला समिति बनाउने तहसम्म उक्लियो ।

सोही क्रममा आक्रमणकारीहरूमाथि कारबाही हुनुपर्ने भन्दै शेखर निकट एक समूह दबाबमा उत्रियो भने सोही समूहकै एउटा खेमा भने आक्रमणकारीहरूको पक्षमा उभियो । पूर्वमुख्यमन्त्री केदार कार्कीको टिम स्ववियु सभापति जसवन्त पौडेलसहितका विद्यार्थीहरूमाथि कारबाही हुनुपर्ने पक्षमा थियो । यो समूहको नेतृत्व योगराज दाहालले गरेका थिए । 

उता कोइराला पक्षकै नेतासमेत रहेका विराटनगर महानगरका मेयर नागेश कोइरालाले जसवन्त पौडेल समूहलाई संरक्षण गरेको आरोप लाग्यो । त्यही क्रममा नेविसंघकै दुई समूहले चुनावका लागि संस्था दर्ता गराए ।

निर्वाचन समितिले योगराज दाहाल नेतृत्वको नेविसंघलाई मान्यता दिएन । त्यसपछि सो समूहले क्याम्पसमा आगजनी र तालाबन्दी गर्यो । चुनावको मुखैमा क्याम्पसभित्र आफ्नो समूहले अराजकता मच्चाउँदा पनि शेखर मौन रहे ।

चुनावमा मिलाउने प्रयास भए पनि योगराज दाहालको समूह मानेन । उल्टै आत्मदाह गर्ने, मर्ने र मार्ने धम्की उनले सार्वजनिक रुपमै दिए । चुनावमा उनको पक्षमा लज्जास्पद मत आयो । दाहालका समूहलाई पूर्वमुख्यमन्त्री केदार कार्की पक्षले सहयोग गरेको थियो ।

लज्जास्पद मत पाए पनि दाहालले पाएको मत नेविसंघका आधिकारिक उम्मेदवार हराउन भने पर्याप्त रह्यो । शेखर टिमकै विद्यार्थी नेता भएकाले दाहाललाई कोइराला पक्षले नै अघि सारेको बताउने कांग्रेस कार्यकर्ताहरू धेरै छन् । तर, शेखर पक्षले भने महेन्द्र मोरङको हारमा आफ्नो समूहलाई दोष दिनुको अर्थ नहुने बताएको छ । 

‘अरु क्याम्पसमा हारेको जिम्मा कसले लिने ?’, नेता गुरुराज घिमिरेले भने ‘टिकट पार्टी र नेविसंघले दिएको हो । हामीसँग कुनै सल्लाह भएन । अहिले नतिजा आएपछि दोष देखाउन मिल्दैन । बरु कमजोरी कहाँ भयो समीक्षा गर्नु जरुरी छ ।’

View : 613

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved