Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

हरि काफ्लेको राजनीतिक यात्रा र वर्तमान राजनीतिक विश्लेषण

देशभक्त र राष्ट्रभक्त दोस्रो तहका नेता तथा कार्यकर्ताहरूले आ–आफ्नो पार्टीमा हस्तक्षेप गरी नेतृत्व लिन तयार हुनुपर्छ । तबमात्र बिग्रिएको राजनीतिक परम्परालाई सुधार गर्दै जनतामा फैलिएको निराशालाई परिवर्तन गरी देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन सकिने उनको दावी छ ।
उद्‌घोष सम्वाददाता
२८ जेठ २०८२, बुधवार

विराटनगरसँग लामो समयदेखि परिचित र हाल काठमाडौंमा बसोबास गर्दै आएका हरि काफ्ले नेपाली बामपन्थी राजनीतिक वृत्तमा एक परिचित नाम हुन् । शिक्षा र सामाजिक उद्यमशीलता हुँदै बामपन्थी राजनीतिमा सक्रिय उनको जीवन यात्राले नेपालको बदलिंदो राजनीतिक परिदृश्यलाई झल्काउँछ ।

काफ्ले नेपाली राजनीतिमा गम्भीर ‘नेतृत्व सङ्कट’ रहेको र बहुध्रुवीय भूराजनीतिमा नेपालले समदूरीको परराष्ट्र नीति अपनाउनुपर्ने अपरिहार्यतामा जोड दिन्छन् । जनतामा बढेको निराशा हटाउन दोस्रो तहका देशभक्त नेताहरूले आफ्नो पार्टीमै हस्तक्षेप गरी नेतृत्व लिन तयार हुनुपर्ने उनको दावी छ । यसबाट मात्र जनताको निराशालाई समृद्धिमा बदल्न सकिने उनी बताउँछन् ।

शैक्षिक तथा व्यावसायिक पृष्ठभूमि 

काफ्लेले महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट स्नातक तथा स्नातकोत्तर क्याम्पसबाटै समाजशास्त्रमा स्नातकोत्तर गरेका थिए । उनले २०५२ मा एमबीए  र २०५८ सालमा समाजशास्त्रमा एमए  उत्तीर्ण गरेका छन् ।

शिक्षा क्षेत्रमा उनको संलग्नता आदर्श बोर्डिङ स्कुल, विराटनगरको संस्थापक प्राचार्यका रूपमा सुरु भयो । उनी पूर्वाञ्चल विद्या सदनका सञ्चालक एवम् प्राचार्यसमेत भए । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन मोरङको जिल्ला समितिमा रहेर काम गरेका उनी प्याब्सनको महाधिवेशन प्रतिनिधि समेत बने ।

विद्यार्थी राजनीतिदेखि पार्टी विद्रोहसम्म

काफ्लेको राजनीतिक यात्रा २०४७ देखि २०४९ सम्म महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा अनेरास्ववियु (पा“चौ) को प्रारम्भिक कमिटी (प्राक) अध्यक्षका रूपमा सुरु भएको थियो । स्नातकोत्तर क्याम्पस विराटनगरमा पनि उनी अनेरास्ववियुका प्राक सचिव थिए । राजनीतिक सक्रियताकै क्रममा उनी विराटनगर–१७ को एमाले वडा सचिवसमेत बने ।

२०५८ मा काठमाडौं बसाई सरेपछि उनले निजी कलेजहरूमा अध्यापन सुरु गरे । काठमाडौंमा पनि प्रगतिशील विचार राख्ने प्राध्यापक र कर्मचारीको संस्था प्याब्सुमा आबद्ध भई उनी निजी कलेज शिक्षक तथा कर्मचारी संगठन (प्याब्सु) काभ्रे अध्यक्ष, काठमाडौं अध्यक्ष एवम् पोखरामा भएका भेलाले केन्द्रीय सचिवसमेत बने ।

२०७२ मा एमालेबाट विद्रोह गरी उनी नेपाल संघीय समाजवादी पार्टीको महासचिव बने । २०७६ भदौमा सो पार्टीबाट बहुमत केन्द्रीय सदस्यसहित विद्रोह गरी स्वतन्त्र बामपन्थी समूह गठन गरे । सो समूहको सुरुमा सचिव र पछि संयोजक रहेका वीरबहादुर लामाको निधनपछि उनले संयोजकको जिम्मेवारी सम्हालेका थिए । २०७८ मा बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानसँग सो पार्टीले एकता गरी उनी उपाध्यक्ष एवम् मधेश प्रदेश इञ्चार्जको जिम्मेवारीमा पुगे ।

एकीकृत समाजवादीसँगको एकता प्रयास र पछिल्लो विद्रोह 

२०८१ पुस २७ मा नेकपा राष्ट्रिय एकता अभियानको केन्द्रीय कमिटी बैठकले एकीकृत समाजवादीस“ग एकता गर्नेबारे छलफल गरे पनि कुनै ठोस निर्णय नभएको भन्दै पुस २८ गते हरि काफ्ले सहितका नेताहरूले  विद्रोह गरे । सो एकता अभियानका कोशी प्रदेश इञ्चार्ज इन्द्र सुब्बा, बागमती प्रदेश इञ्चार्ज ओमप्रकाश शर्मा, लुम्बिनी प्रदेश इञ्चार्ज महेन्द्र अर्याल र सुदूरपश्चिम प्रदेश इञ्चार्ज रविन्द्र बमसहित बहुमत केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका थिए ।

माघ ६ गते पार्टीबाट विद्रोह गर्दै महेन्द्र अर्यालको संयोजकत्वमा हरि काफ्ले र इन्द्र सुब्बा सदस्य रहेको ३ सदस्यीय वार्ता कमिटी गठन गरी विचार मिल्ने बामपन्थी दलहरूसँग एकताका लागि सकारात्मक रूपमा अगाडि बढेको उनले बताएका छन्, यद्यपि निष्कर्षमा पुगिनसकेको अवस्था छ ।

नेपाली राजनीति र भूराजनीतिबारे विश्लेषण 

काफ्लेले नेपाली राजनीतिमा गम्भीर टिप्पणी गर्दै बामपन्थी पार्टीलाई जनताले दुईतिहाइको मत दिए पनि नेतृत्वको ‘अहम्ता र अति महत्वाकांक्षी क्रियाकलाप’ ले गर्दा पार्टी टुक्रिएको विश्लेषण गरेका छन् ।

संसारमा नै सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर सरकार बन्ने परम्परा नरहेकोमा वर्तमान नेपालमा यस्तो गठबन्धन बन्नुले राजनीतिक वृत्तमा राम्रो सन्देश नगएको उनले बताए । इन्डो–अमेरिकीहरूको सक्रियतामा निरंकुशता र उनीहरूको स्वार्थ अनुकूल सरकारमा पहुँच पुर्याउन दुई ठूला दललाई मिलाएको उनको भनाइ छ ।

उनले अहिलेको संसारको भूराजनीति बहुध्रुवीय (मल्टीपोलार) तिर जान अग्रसर भैरहेको र ‘ब्रिक्स’ को विस्तार तथा ’डीडलरलाइजेशन’ लाई उदाहरणका रूपमा प्रस्तुत गरे । नेपालको राजनीतिमा वर्तमानका ठूला पार्टी र तिनका नेताहरू आफ्नै ’अहम्ता’ बाट मुक्त नहुञ्जेलसम्म नेपाली जनताको आशा र आक्रोशलाई सकारात्मक रूपमा बदल्ने सम्भावना नरहेको उनको भनाइ छ ।

काफ्लेका अनुसार देशभक्त र राष्ट्रभक्त दोस्रो तहका नेता तथा कार्यकर्ताहरूले आ–आफ्नो पार्टीमा हस्तक्षेप गरी नेतृत्व लिन तयार हुनुपर्छ । तबमात्र बिग्रिएको राजनीतिक परम्परालाई सुधार गर्दै जनतामा फैलिएको निराशालाई परिवर्तन गरी देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन सकिने उनको दावी छ ।

साथै, उनले नेपाल कुनै एक महाशक्तिको पछाडि नलागी सबैसँग समदूरीको परराष्ट्र नीतिको सम्बन्धका आधारमा अगाडि बढ्नु पर्ने धारणा राखे । उनी विराटनगर आएको मौकामा राखिएको जिज्ञासामा उनले यस्तो धारणा राखेका हुन् ।

View : 186

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved