झापा । दुई वटा वडालाई जोड्ने बिकल्प खोज्ने क्रममा झापामा बनेको झोलुङ्गे पुल अहिले स्थानीय पर्यटकका लागि आकर्षण बनेको छ ।
बुद्धशान्ति गाउँपालिका ६ र ७ नम्बर वडालाई जोड्न टिमाई खोलामा झोलुङ्गे पुल हालै बनाइएकाले यहाँ बिदाका दिन ५ सय र अन्य दिन २ सयको संख्यामा आन्तरिक पर्यटक झोलुङ्गे पुल हेर्न र फोटो खिच्नका लागि आउने गरेका छन् । ४ सय ७७ मिटर लामो सो पुल कोशी प्रदेशकै लामो झोलुङ्गे पुल बनेकाले पनि यहाँ आगन्तुक आकर्षित भएका हुन् ।
‘वर्षामा खोला तर्न सम्भव थिएन, ४ किलोमिटर तल झरेर पुल पार गर्नुपर्थ्यो, स्थानीयले भोगेको समस्या समाधान गर्न हामीले सरकार गुहारेपछि यो सम्भव भयो’ ७ नम्बरका वडाध्यक्ष चन्द्र भण्डारीले भने– ‘पुल बनेपछि आवतजावत मात्रै हैन, पर्यटकका कारण स्थानीय धेरैको आम्दानीको स्रोत बढेको छ ।’ पुलको पश्चिम तर्फको मुखमा स्थानीय १४ परिवारको अहिले पसल चलेको छ ।
उनका अनुसार संघीय सरकारको लगानीमा ५ करोड ९२ लाख रूपैयाँमा पुल ६ महिनामै तयार भएको हो । निर्माण कम्पनीले २ वर्ष भित्रमा सम्पन्न गर्नुपर्ने सम्झौता गरे पनि डेढ वर्ष अगावै सम्पन्न गरेर स्थानीय सरकारको जिम्मा लगाएको भण्डारीले बताए ।
खोला पूर्वको ५ र ६ नम्बर वडा र इलामको रोङ गाउँपालिकाको तल्लो भागका किसानले आफ्नो उत्पादन बजारमा ल्याउन पुलले सहयोग गरेको स्थानीयको भनाइ छ ।
भूगोलको हिसावले बिकट नै मानिने यस क्षेत्रका किसानले आङ्खना उत्पादन बोकेरै बजार लैजान पुलका कारण सजिलो भएको बताउने ६ नम्बर वडाका गणेश आचार्य हिउँदमा ४५ मिनेट हिँडेर खोला पार गर्नुपर्ने यो क्षेत्रको समस्या अहिले घटेर ६ मिनेटमा झरेको बताउँछन् । छिट्टो हिँड्दा ५ मिनेटमा पुल पार गर्न सकिने भएकाले मेची राजमार्ग निस्कन पूल पूर्वका मानिसलाई सजिलो भएको छ ।
पुलमा फोटो खिचाउन देशका बिभिन्न ठाउँ र भारतको दार्जिलिङ, सिक्किमसम्मका मानिसहरू पनि आएको बताउँदै वडा नम्बर ७ सुनमाईका इन्द्रप्रसाद निरौला पर्यटककै कारण स्थानीयबासीले खाजा, चटपटी, पानीपुरी लगायतका पसलहरू खोलेर नयाँ ब्यवसाय पनि थालेको बताउँछन् ।
‘सुख्खा डाँडामा उब्जनी कम थियो, अहिले धेरै परिवारले पुलका कारण ब्यवसाय गर्न पाएका छन्’ निरौलाले भने ।
स्थानीयमा पुलको आवश्यक्ता खड्किएको वर्षौ भएको थियो । यहाँको समस्या वडाबाट पालिकामा राखियो । पुलका लागि जमिन दिन दुबै वडाका बासिन्दा तयार भए । बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईँले पहल थालेपछि बजेट दिन सरकार तयार भएको थियो ।
बजेट माग गर्न पहल गरेका नेपाली कांग्रेसका महामन्त्री तथा सो क्षेत्रका सांसद विश्वप्रकाश शर्माले झोलुङ्गे पुलको शिलान्यास र उद्घाटन गरेका थिए ।
View : 303
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved