बेलबारी । मोरङको बेलबारीलाई मुकाम बनाएर साहित्य सिर्जना गर्दै आएका साहित्यकार ईरान राईको पछिल्लो कृति कविता संग्रह ‘इतिहास’ सार्वजनिक गरिएको छ ।
सो कविता संग्रहको सार्वजनिक गर्दै वरिष्ठ साहित्यकार एवं पूर्वसांसद हर्कमान तामाङले पूर्व प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको ‘ढुङ्गा’ शीर्षकको कवितामा उल्लेख भएको ढुङ्गा उत्पत्ति स्थलबाट लड्दै पढ्दै, दरालिदै, पिल्सिदै अन्तिम अडानको अवस्थामा आइपुगेर राम्रो चिल्लो भए जस्तै ईरान राई पनि विभिन्न हन्डर, ठक्कर खाँदै यो अवस्थामा आइपुग्नु सुन्दर कुरा भएको बताए ।
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले शरीरको सबैभन्दा जटिल अङ्ग भनेको न्युरोन (गिदीभित्रको तन्तुहरू) हुन्, तिनै न्युरोनहरूलाई नकारात्मक रूपमा चलाउनेहरू पनि समाजमा प्रशस्त भएका तर कवि ईरान राईले उनका न्युरोनहरूलाई जहिल्यै सकारात्मक र सिर्जनशील कार्यमा व्यस्त बनाएको बताए ।
समालोचक मिश्र बैजयन्तीले ईरान राईका अन्य कृतिहरूमा जस्तै ‘इतिहास’मा पनि राजनैतिक, सामाजिक, शैक्षिक क्षेत्रहरूमा भएका विकृतिका विरुद्ध तिखो व्यंग्य सरल भाषामा भएको टिप्पणी गरिन् ।
कृतिकार ईरान राईले २०४२ सालदेखि कविता लेखन सुरु गरेको हुनाले ‘इतिहास’मा ४२ वटा कविताहरू संग्रहित गरेको जानकारी गराउँदै कृतिभित्रकै ‘आजकल म जोगवनी जान्न’ शीर्षकको कविता वाचन गरेका थिए । साथै राईले मूल धन नमासिने गरी सोही संस्थाले अगाडि पुरस्कृत गरेको २५ हजारमा थप गरी ५१ हजार नवप्रतिभा पुरस्कारका लागि प्रदान गर्ने घोषणा पनि गरेका थिए ।
कार्यक्रममा प्रगतिशील लेखक संघ कोशी प्रदेश अध्यक्ष तिला लेकाली, साहित्य कला सङ्गम, झापाका अध्यक्ष विष्णु न्यौपाने र डियर कल्याण साहित्य प्रतिष्ठान, सुनसरीका अध्यक्ष विनोद घिमिरे ‘विवश’ले शुभकामना मन्तव्य राखेका थिए ।
बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीले कृति–शीर्षक कविता ‘इतिहास’, स्रष्टा समाज मोरङका अध्यक्ष जेबी थुलुङले ‘उडान’ र विराटनगरकी साहित्यकार सविना श्रेष्ठले ‘असार पन्ध्र’ कृतिभित्रका कविताहरू वाचन गरेका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य मधु गुरुङ, कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी, कण लघुकथा मञ्चका अध्यक्ष दीप मग्रान्ति लगायतको सहभागिता रहेको आयोजक संस्था बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले जानकारी दिए ।
View : 102
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved