Biratnagar, Morang, Nepal
१५ वैशाख २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

थारु भाषा संस्कृति संरक्षणमा जोड

उद्‌घोष सम्वाददाता
१४ वैशाख २०८२, आइतवार

विराटनगर । थारु समुदायको पहिचान जोगाउन भाषा, संस्कृति र पर्वहरुको संरक्षण आवश्यक रहेको ग्रामथानमा आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

सिरुवा पर्वको अवसरमा थारु महिला सभा जिल्ला कार्यसमिति मोरङले ग्रामथानको झोराहाटमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् । 

सो अवसरमा बोल्दै थारु कल्याणकारिणी सभा मोरङका सभापति प्रदीप भगत थारुले पारम्परिक संस्कृति तथा पर्वहरुप्रति नयाँ पुस्ताको चासो कम हुँदै गएकाले समुदायको भाषा र संस्कृति लोप हुने खतरा बढेको बताए ।

हौली परिवारका अध्यक्ष श्रवण सुतिहार थारुले पारम्परिक चाडपर्व मनाउन छोडे पहिचान गुम्ने भएकाले बालबालिकालाई सानै उमेरदेखि मौलिक चाडपर्वहरुस“ग जोड्नुपर्ने बताए ।

यस्तै बुढीगंगा गाउँपालिकाका उपाध्यक्ष अमृता गच्छदारले समाजमा रहेका कुरीतिहरु अन्त्य गर्न र संस्कृति संरक्षणमा महिलाहरुलाई थप सक्रिय बनाउनु पर्ने आवश्यकता औंल्याइन् ।

थारु कल्याणकारिणी सभा विराटनगर महानगरका अध्यक्ष विद्यानन्द माझीले संस्कार र संस्कृति लोप हुन नदिन पुस्तान्तरण गर्नु अनिवार्य रहेको बताए । 

आयोजक थारु महिला सभाकी मोरङ अध्यक्ष जयमाला सरदारले थारु भाषा, संस्कृति संरक्षण तथा महिला उत्थानका निम्ति संस्थाले बर्षभरि विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको बताइन् । 

ज्येष्ठ नागरिक शोभालाल भगतको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा थारु संस्कृति झल्किने गीत र नृत्य प्रस्तुत गरिएको थियो ।

View : 46

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved