विराटनगर । झापा दमकका एक बालकको मुटुमा समस्या भएकाले केही दिन नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका लागि राखिएको थियो । बालकका बाबुले नोबेलभित्रको औषधिका काउण्टरहरूमा औषधि नपाएपछि बाहिरका फार्मेसीमा खोजी गरेर फेला पारेका थिए ।
बिरामी लिएर मंगलबार घर गएका बालकका बाबुले अस्पताल बाहिरबाट लगेको औषधिको पैसा तिरेका छैनन् । ‘हुनत एक सय रुपैयाँको मात्रै औषधि हो, पैसा छैन भनेकाले अर्को दिन दिनू भनेर पठाइयो’ एक व्यवसायीले भने– ‘अस्पतालभित्रको फार्मेसीमा एक रुपैयाँ पनि तिर्न बाँकी भए बिरामीको डिस्चार्ज हुँदैन ।’
ती अभिभावकले नोबेल अस्पताल बाहिरको कार्की होटलमा केही दिन खाना आएको २ हजार ७ सय रुपैयाँ पनि तिर्न बाँकी छ । पछि आएर तिर्लान् भनेर होटल र फार्मेसीले उनलाई कडाइ गरेन ।
नोबेल मेडिकल कलेजका सञ्चालक प्रतिनिधि सभा सदस्य सुनिल शर्मा हुन् । उनले जितेको निर्वाचन क्षेत्र मोरङ ३ का बिरामीहरूलाई भने बाँकी बक्यौता भएपनि अस्पतालमै बन्धक भएर बस्नुपर्ने बाध्यता छैन । तर अन्य स्थानका बिरामीहरूले भने अस्पताललाई पाई–पाई चुक्ता गरेपछिमात्र डिस्चार्ज दिने अस्पतालको नीति रहेको बिरामीको गुनासो छ ।
अस्पतालबाहिरको फार्मेसीबाट औषधि किन्दा बाँकी बक्यौता भएपनि डिस्चार्जमा भने कुनै बिलम्व हुँदैन ।
‘अस्पताल बाहिरका फार्मेसीबाट औषधि भित्र लैजान दिइदैन, भित्र एक रुपैयाँ तिर्न बाँकी भए बिरामी घर जान पाउँदैनन्’, अस्पतालबाहिर फार्मेसी सञ्चालकहरू भन्छन्, ‘बिरामीलाई त्यसरी बन्धक बनाउने हाम्रो ल्याकत नै हुँदैन, मानवीय हिसाबले त्यसो गर्न पनि सक्दैनौं ।’
एक साताअघि अस्पताल बाहिरको सेफवे फार्मेसीका सञ्चालक हरिओम जैसवालकी साली बिरामी भएर नोबेलमा भर्ना भइन् । सालीका लागि चाहिने औषधि लिएर उनी अस्पताल जाँदै गर्दा सुरक्षा गार्ड अजित रायलगायतले रोके ।
‘बाहिरको औषधि लिएर जान पाइँदैन, साली हो भने उसको श्रीमान्ले लगोस्’ गार्डले भनेको स्मरण गर्दै जैसवालले भने, ‘बिवाह नै नगरेकी सालीका श्रीमान् र बाबुले औषधि लैजानुपर्ने गार्डको सर्त भएकाले म पनि अपे्रेशनको जिम्मा र लाग्ने औषधि गार्डहरूले लिनुपर्छ भनेर कराएको थिएँ ।’
उनले बिरामीको जिम्मा नै लिनुपर्ने बताएपछि मात्रै गार्डले औषधि लैजान दिएका थिए । अस्पतालका गार्डले बाहिरका फार्मेसी सञ्चालक र तिनका कर्मचारीले आफन्तका लागि पनि औषधि लैजान रोक लगाउन नसकेपछि नोबेलले प्रहरीको सहयोग लिएको देखिन्छ ।
मेडिकल कलेजको भवनभित्र आकस्मिक, बहिरंग, प्रसूति, नशा, हाडजोर्नी वार्डका बाहिर गरी आठ स्थानमा औषधिका काउण्टर छन् ।
ती काउण्टरमा पनि औषधि नपाए बिरामीका लागि अस्पतालले औषधिको जिम्मा लिदैन ।
कम्पाउण्ड बाहिरका फार्मेसीलाई औषधि भित्र लैजानबाट रोक लगाइएकाले बिरामी र तिनका कुरुवा मर्कामा परेका छन् ।
बिरामीको हेरचाहमा दौडन सक्ने कुरुवा नभएका बिरामीले आग्रह गर्दा बाहिरका पसल सञ्चालकले बिरामीकै बेडमा औषधि लगिदिने गरेका थिए । बाहिरका औषधि अस्पताल भित्र बन्देज गर्न नोबेल अस्पतालले आइतबार ११ जनालाई प्रहरी लगाएर पक्राउ गराएको थियो । उनीहरूको कसुर नदेखिएपछि सोमबार छुटेका छन् ।
अस्पतालले बिरामीलाई औषधि लगिदिने गरेको आरोपमा प्रदेश प्रहरी कार्यालयलाई गुहार मागेर पक्राउ गराएका सबै निर्दोष पाइएकाले मोरङ प्रहरीले सोमबार नै छाडेको थियो ।
प्रहरीको नियन्त्रणमा रहेर एक रात बसेका क्याप्सुल फार्मेसीका सञ्चालक नागेन्द्रप्रसाद यादवले नोबेलभित्र रहेको कुमारी बैंकको काउण्टरमा चेक साटेर फर्कने क्रममा प्रहरीले पक्राउ गरेर लगेको बताए । अपरिचित ब्यक्तिहरूले जबरजस्ती गरेको र पछि प्रहरी भएको परिचय दिएको उनको भनाइ छ ।
‘एक जना भारतीय बिरामीका आफन्तले यो औषधि नोबेलमा पाइएन, कहाँ पाइन्छ होला भनेर पुर्जी देखाए, मैले बाहिरका फार्मेसीमा सोध्नुस् भन्ने जवाफ दिने बित्तिकै दुई जनाले तानेर अस्पतालमा लगे’ यादवले भने
‘भित्र लगेपछि हामी प्रहरी हो भन्दै जिल्ला प्रहरी कार्यालयमा लगियो ।’ उनी जस्तै सेफवे फार्मेसीका कर्मचारी सुरज राजवंशी पनि नोबेल भित्रबाट बाहिर आउँदै गर्दा पक्राउ परेका थिए ।
‘जिल्ला प्रहरीमा लगेपछि एक जना असईसाबले अश्लिल गाली गर्दै नोबेलमा के–के हुन्छ भन्दै हप्काएका थिए’ राजवंशीले भने ।
मेडिकल कलेजका मालिक तथा संघीय सांसद सुनिल शर्माका निकट अनिल शर्मा चौधरी अस्पतालको फार्मेसी प्रमुखका रुपमा अस्पतालमा आएपछि उनले प्रहरीको सहायतामा बाहिरका ब्यवसायी तथा तिनका कर्मचारीलाई पक्राउ गराएको आरोप छ ।
नोबेलले अस्पताल बाहिरको औषधिमा कडाइ गरेपछि स्थानीय ब्यवसायीले सामूहिक प्रतिवादको तयारी गरेका छन् । मंगलबार ६५ वटा फार्मेसीका सञ्चालक भेला भएर नोबेलले गरेको ज्यादती बिरुद्ध संगठित हुनुपर्ने अवस्था आएको बताएका छन् ।
निस्कृय रहेको नोबेल फार्मेसी समाज पुनः सक्रिय गराएर पहिले जस्तै अस्पताललाई सहमतिमा ल्याउने उनीहरूको तयारी छ । केही वर्षअघि बाहिरका फार्मेसी सञ्चालकले आन्दोलन गरेकाले नोबेलका मालिक शर्मा आफैले बैठक बोलाएर सहमति गरेका थिए ।
ब्यक्तिगत सम्बन्ध र चिनजानका आधारमा अस्पताल कम्पाउण्ड बाहिरका फार्मेसीबाट बिरामी तथा तिनका आफन्तले मगाउने गरेको औषधिमा रोक लगाउन शर्माको योजनामा प्रहरीले सघाएको ब्यवसायीको आरोप छ ।
बिना प्रमाण अस्पताललाई खुसी पार्न प्रहरीले पक्राउ गरेका सबैलाई छाडेको ब्यवसायीले बताएका छन् ।
‘अस्पताल भित्र औषधि नपाइए उनीहरूलाई मतलव छैन, बाहिर नपाइए फार्मेसीले जहाँबाट पनि खोजेर ल्याइदिन्छ’ औषधि ब्यवसायी अजय पासवानले भने ।
औषधि ब्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालका अनुसार नोबेलबाट निर्दोषहरूलाई पक्राउ गरिएकाले संघले प्रहरीलाई दवाब दिएको थियो ।
औषधि ब्यवसायीले गलत गरेको पाइए कारवाही गर्न र निर्दोषलाई अनावश्यक हिरासतमा नराख्न संघले आग्रह गरेपछि उनीहरूलाई प्रहरीले छाडेको थियो ।
प्रदेश प्रहरीको ब्युरोले निर्दोषलाई समाएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाए पनि उनीहरूको अपराध नदेखिएकाले प्रहरीले छाडेको औषधि ब्यवसायी संघले जनाएको छ ।
View : 635
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved