विराटनगर । हरेक वर्षको मनसुनमा कोशी प्रदेशको पहाडलाई पहिरोले र तराई क्षेत्रलाई बाढीको प्रकोपले सताउँदै आएको छ ।
हरेक वर्ष सरदर एक दर्जनको ज्यान लिने विपद्ले हजारौं परिवारलाई प्रभावित तुल्याउँदै आएको बेला यसवर्ष मनसुनको पहिलो दिन नै खतराको घन्टी बजेको छ ।
शुक्रबार रातिको अविरल झरीले प्रदेशका सडक संरचनामा ठूलो क्षति पुर्याएको थियो । कोशी प्रदेश सरकारले हरेक वर्ष जसो विपद्बाट प्रभावित हुन सक्ने संख्याबारे प्रक्षेपण गर्दै आएको छ ।
जसअनुसार प्रदेशका कम्तीमा सात जिल्ला बाढी र पहिरोको उच्च जोखिममा पर्दै आएका छन् । प्रदेश सरकारका अनुसार बाढीपहिरोबाट लगभग एक लाख जनसंख्या प्रभावित हुने जोखिम छ ।
यसपटकको मनसुनले अघिल्ला वर्षहरूभन्दा अझै क्षति पुर्याउने पूर्वानुमान भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सरदरभन्दा १५ दिनअघि नै कोशी प्रदेश हँुदै नेपाल भित्रेको मनसुनमा यसपटक अरुबेला भन्दा धेरै वर्षा हुने सम्भावना उच्च छ ।
मौसम पूर्वानुमान महाशाखाले यस्तो प्रक्षेपण गरिरहेका बेला मनसुनको पहिलो दिनमै कोशी प्रदेशमा बाढीपहिरोले ठूलो क्षति पुर्यायो ।
शुक्रबार रातभरी दर्केको वर्षाले बाढी निम्त्याउँदा कोशी प्रदेशका सात वटा सडकमा ठूलो क्षति पुर्याएको छ । मनसुनको पहिलो दिनको भीषण वर्षाले कोशी प्रदेशलाई सुरुमै अत्याएको छ ।
‘शुक्रबारको घटना खतराको घण्टी हो,’ दुई दशकभन्दा लामो समयदेखि विपद्कै क्षेत्रमा काम गर्दै आएका झापाका रेडक्रसकर्मी लोकराज ढकाल भन्छन् ‘यसपटक अरुबेलाभन्दा धेरै वर्षा हुने अनुमान पनि आइरहेका छन् । त्यसैले उच्च सतर्कता अहिलेको मुख्य आवश्यकता हो ।’
ढकालले भने जस्तै मनसुनको पहिलो दिन नै झापाको झापा गाउ“पलिका र विराटनगरको केसलिया किनारका बस्तीमा बाढी पसेर धेरै घरहरू डुबायो ।
‘प्रकृतिले दिएको यो पूर्वसूचनालाई सरकार र समुदाय सबैले पूर्वतयारीका लागि दिएको संकेत भनेर बुझ्नपर्छ’, ढकालले भने ‘यसपटक जुनसुकै बेला ज्यादै अप्रिय अवस्था आउन सक्छ ।’
सरकारी निकाय यसबारे सजग रहेको प्रदेश सरकारको भनाइ छ । ‘मनसुनको पहिलो दिन नै कोशी प्रदेशमा बाढीपहिरोले सबैभन्दा ठूलो क्षति पुर्यायो’, कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्तासमेत रहेका उपसचिव कमलबहादुर थापाले भने ‘मनसुनको पहिलो दिनले नै खतराको संकेत गरेको छ ।’
मनसुनको सुरुमै कोशी प्रदेशमा विपद्को जोखिम कति उच्च छ भन्ने देखाएको यो घटनाले पर्याप्त सजगता र पूर्वतयारीको माग गर्दछ ।
लामो समयदेखि विपद् पूर्वतयारीमा जुटिरहेको बताउने प्रदेश सरकारले के कस्तो तयारी गरिरहेको छ भनेर हामीले मन्त्रालयको विपद् महाशाखा प्रमुखसमेत रहेका उपसचिव थापालाई सोधेका छौं । उनले पूर्व तयारीमा सरकार गम्भीरतापूर्वक लागिरहेको जानकारी दिए ।
‘मनसुन पूर्वतयारी प्रतिकार्य योजना तयार भइसकेको छ’, थापाले भने ‘त्यसबाहेक एक हजार परिवारलाई तत्कालै स्थानान्तरण गर्नुपर्यो भने त्यति परिवारलाई चाहिने लत्ताकपडा, भाँडावर्तन लगायतका सबै सामान स्टकमा छ ।’
उनका अनुसार खाद्य सामग्रीबाहेक प्रदेश सरकारसँग हजार परिवारलाई पुग्ने सबै सामग्री तयारी अवस्थामा राखिएको छ । त्यसबाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई पनि उद्धार तथा राहतमा खटिनलाई रामग्री उपलब्ध गराइएको छ ।
‘नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतनामा गत वर्षदेखि नै मनसुनभरी हेलिकप्टर तयारी अवस्थामा राखिएको छ’, थापाले भने ‘यसपटक पनि तयारी अवस्थामा राखिएको छ ।’ उनले दिएको जानकारीअनुसार स्थानीय तहहरूमा पनि विपद् व्यवस्थापनको तयारी तीव्र रुपमा भएको छ ।
View : 168
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved