Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

विद्या भण्डारीको स्वागतमा एमालेजनको लर्को

उद्‌घोष सम्वाददाता
२३ जेठ २०८२, शुक्रवार

विराटनगर । शुक्रबारदेखि विराटनगरमा हुने देशभरका उपप्रमुखहरूको भेलाकी प्रमुख अतिथिका रुपमा आमन्त्रित पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार अपरान्ह विराटनगर ओर्लिइन् । 

२०८१ माघ १४ मा एकहप्ता लामो विराटनगर बसाइका क्रममा व्यापक राजनीतिक भेटघाट सकेर फर्किएकी भण्डारी राजनीतिमा महिला सहभागिताको ‘आइडल’ बनेर उपप्रमुखहरूको सम्मेलनलाई सम्बोधन गर्न पुनः विराटनगर ओर्लिएकी हुन् ।

भण्डारी विराटनगर विमानस्थलमा ओर्लिंदा उनको स्वागतमा यसपटक झनै एमालेका नेता कार्यकर्ताको उपस्थिति बाक्लिएको देखियो । 

उनलाई स्वागत गर्न कोशी प्रदेशको मोर्चा सम्हालिरहेका एमाले उपाध्यक्ष गुरु बरालदेखि कोशी प्रदेश इञ्चार्ज एवं स्थायी कमिटी सदस्य शेरधन राई लगायतका नेता कार्यकर्ता विमानस्थलमा देखिएका थिए । उपाध्यक्ष बराल भण्डारीसँगै काठमाडौंबाट विराटनगर आएका थिए ।

सक्रिय राजनीतिमा फर्किने चर्चा कायमै रहेको बेला एमाले कार्यकर्ताको बाक्लो उपस्थिति र स्वागतपछि विशिष्ट कक्षमा पत्रकारहरूसँगको सम्वादमा पूर्व राष्ट्रपति भण्डारीले यस पटकको भ्रमणमा थप चर्चा हुने बताएकी छन् । उनले आफैंले राजनीति गरेको ठाउँ भएकोले यहाँ आफ्नो चर्चा त्यसै पनि बढी हुने बताइन् ।

‘यो पटकको विराटनगर बसाइको थप चर्चा हुनेछ’ उनले भनिन्, ‘देशभरिका उपप्रमुख तथा उपाध्यक्षहरूको सम्मेलनमा सहभागी हुन आएकोले पहिलाको भन्दा यो पटक बढी चर्चा हुन्छ नै, हुनुपर्छ ।’

मुलुकको सवैभन्दा शक्तिशाली स्थानमा पुगिसकेका व्यक्ति पार्टीको सक्रिय राजनीतिमा फर्किने कि नफर्किने भन्ने बहस जारी रहेको बेलामा पूर्व राष्ट्रपति भण्डारी एमालेको भावी अध्यक्षका चर्चामा रहेकी छन् । 

उनका निकट रहेका एमाले कार्यकर्ताहरू समेत ‘आवश्यकता परे राजनीतिमा फर्किनु पर्ने’ भन्दै भण्डारीलाई सक्रियता बढाउन उक्साउने गरेका छन् ।

केहिदिन अघिको चीन भ्रमणमा‘विशिष्ट राजनीतिक नेत्री’ को सम्मान प्राप्त गरेकी पूर्व राष्ट्रपति भण्डारीले उक्त भ्रमणमा गरिएका चर्चालाई भने हल्लाका रुपमा टिप्पणी गरिन् ।

उनलाई स्वागत गर्न एमाले पोलिटव्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल, केन्द्रीय सदस्यहरू जीवन घिमिरे र रामलाल साह, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, एमाले मोरङका अध्यक्ष अजम्बर राई लगायतका दर्जनौं नेता कार्यकर्ताको ठूलो लाम देखिएको थियो ।

स्रोतका अनुसार पूर्व राष्ट्रपति भण्डारीले शुक्रबार विराटनगरको कार्यक्रममा सहभागी भएर झापामा दुई दिन बस्ने कार्यक्रम रहेको जनाइएको छ । 

उनले त्यहाँ एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको ‘प्रविधिसँग बालबालिका’ कार्यक्रम र महिलाहरूको अर्को कार्यक्रममा सहभागिता जनाएर काठमाडौं फर्किने तालिका रहेको जनाइएको छ ।

View : 228

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved