विशिष्टीकृत ज्ञान सीपमा आधरित भई आचरणको गुणस्तर कायम राख्दै उच्च कार्यसम्पादन गर्ने कौशल नै व्यावसायिकता हो । निजामती सेवाको व्यावसयिकता भनेको निजामती सेवाका सिद्धान्तको ज्ञान र त्यसलाई व्यवहारमा अपनाउने प्रतिबद्धता हो । व्यावसायिकता सामाजिक समस्या समाधानार्थ प्रशासनिक कार्य सञ्चालनको निष्ठा, सीप, क्षमता र प्रविधि अनुकूलनता हो ।
व्यावसायिक हुनु नै निजामती सेवाको नैतिकता हो । यसले ज्ञान, सीप र क्षमताको अति उत्तम प्रयोग गराउँछ । कार्यप्रति नैतिक रहन उत्तरदायित्व निश्चित गर्छ र सुम्पिएको कामको वैधता पुष्टि गर्छ । यसलाई हिजोआज व्यावसायिक सदाचारको बृहत् नामबाट चिन्ने गरिन्छ, जसले कार्यनिष्ठा र कार्यआचारण दुवैलाई एकसाथ द्योतन गर्छ । सारमा भन्दा निजामती सेवा मूल्यमा आधारित हुनु नै निजामती सेवाको व्यावसायिकता हो ।
व्यावसायिकताले आफ्नो पेशा तथा व्यवसायप्रतिको ज्ञान, गुण, अनुभव, विज्ञता तथा सक्षमतालाई जनाउँछ । कुनै खास पेशा वा व्यवसायमा आबद्ध व्यक्तिहरुको उक्त पेशाका लागि आवश्यक पर्ने सक्षमता, सीप तथा अपेक्षित व्यवहार र नैतिक आचरणको समग्रतालाई नै व्यवसायिकता भनिन्छ । यो पेशागत विशिष्ट पहिचान एवं गरिमा हो । यो प्रभावकारी कार्यसम्पादनको मुलभूत आधार हो ।
निजामती सेवा ऐन, २०१३ ले निजामती सेवाका पदहरूलाई विभिन्न सेवा समूहमा विभाजन गरेसँगै नेपालको सार्वजनिक प्रशासनमा व्यावसायिकताको सुरुवात भएको मानिन्छ । विक्रम संवत् २०२५ मा लागू भएको वृत्ति विकास योजनालाई सार्वजनिक प्रशासनमा व्यावसायिकताको आधारशिलाको रूपमा लिने गरिएको छ । हाल राजपत्राङ्कित, राजपत्र अनङ्कित अनङ्कित र श्रेणी विहीन गरी ३ खण्डमा बाँडिएको निजामती सेवाका राजपत्र अनङ्कित तथा राजपत्राङ्कित तृतीय श्रेणीसम्म खुला वृत्ति प्रणाली अपनाइएको छ भने राजपत्राङ्कित द्वितीय तथा प्रथम श्रेणीमा ९० प्रतिशत बन्द तथा १० प्रतिशत खुला वृत्ति प्रणाली अपनाइएको छ ।
यसका साथै विशिष्ट श्रेणीमा बन्द वृत्ति प्रणाली छ । कूल १२ वटा सेवा रहेको निजामती सेवामा ५० भन्दा बढी समूह र ४० भन्दा बढी उपसमूह छन् । त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनामा राजपत्र अनङ्कित र राजपत्राङ्कित तृतीय श्रेणीसम्म खुला र त्यसभन्दा माथिका श्रेणीहरूमा बन्द वृत्ति प्रणाली अपनाइएको छ । विश्वविद्यालय तथा सार्वजनिक संस्थानमा सेवा प्रवेश पश्चातका अधिकृत पदहरूमा बन्द वृत्ति प्रणालीलाई महत्व दिइएको छ । व्यवहारमा पुर्णरुपमा लागू नभए पनि सेवा समूह अनुसार कार्य विवरण छ ।
कर्मचारीको भर्ना, पदस्थापना, सरुवा, बढुवा जस्ता प्रशासनिक क्रियाकलापहरू यिनै विभाजनका आधारमा हुने गरेका छन् । कर्मचारीको पदस्थापना, सरुवा बढुवामा कर्मचारीको ज्ञान, सीप, क्षमता, अनुभवलाई भन्दा राजनीतिक आस्था, सामिप्यता र अन्य अदृश्य विषयलाई आधार बनाउँदा निजामती सेवामा व्यावसायिकताको विषय सधैं ओझेलमा परेको देखिन्छ ।
शासकीय व्यवस्था सङ्घीयता रूपान्तरण भएपश्चात् तीन तहका सरकारमार्फत सञ्चालित सार्वजनिक व्यवस्थापनमा व्यावसायिकता र उत्तरदायित्वलाई प्रवद्र्धन गर्न सकिएको छैन । निजामती सेवा सञ्चालन गर्ने सङ्घीय कानुन समयमा निर्माण नहुँदा यसले प्रदेश र स्थानीय तहलाई समेत कानुन बनाउन अवरोध गरेको छ । शासकीय व्यवस्था रूपान्तरण भएको करिब ८ वर्ष पुग्दा समेत सार्वजनिक सेवा सञ्चालन गर्ने सङ्गीय निजामती सेवा ऐन बन्न नसक्नु निजामती सेवाको दुर्भाग्य नै हो ।
शासकीय व्यवस्थाको लाभांशहरू नागरिकसामू पुर्याउने निजामती प्रशासन उच्च व्यावसायिक हुनुपर्ने अपेक्षा राखी विभिन्न प्रयासहरू हुँदै आएका छन् । यद्यपि, अपेक्षाकृत रूपमा व्यावसायिकताको विकास हुन सकेको देखिंदैन । भर्ना र नियुक्तिमा योग्यता प्रणाली रहेकाले सक्षम कर्मचारीबाट सञ्चालित छ । सेवा, समूहको वर्गीकरण तथा विशिष्टीकरण गरिएकाले लामो ज्ञान, सीप र अनुभवको विकास हुँदै गएको अवस्था विद्यमान छ । अनुभव, कार्यसम्पादन, तालिम, शैक्षिक योग्यताजस्ता सूचकहरूको आधारमा बढुवा हुने व्यवस्था रहेको छ ।
सूचकसहितको कार्यसम्पादन सम्झौताको व्यवस्थाले कामप्रति जिम्मेवार र जवाफदेही कर्मचारीतन्त्रको विकास हुँदै गएको अवस्था छ । स्वदेशी तथा विदेशी अध्ययन एवं भ्रमण तथा विशिष्टीकृत रूपमा समयसमयमा गरिने तालिमले कर्मचारीहरू नवीनतम प्रवृत्तिप्रति अध्यावधिक हुँदै गएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा सचिवलाई लेखा उत्तरदायी अधिकृत तोकिएको छ । राजनीति र प्रशासनको उत्तरदायित्व निर्धारण गरिएको छ । निजामती सेवा ऐन, नियमावलीमा आचरण तथा अनुशासनको व्यवस्था रहेको छ । सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐनले मन्त्री र सचिवको कार्यजिम्मेवारी किटान गरेको छ ।
निजामती सेवामा व्यावसायिकता विकासको विषय निरपेक्ष हुँदैन, अन्तरसम्बन्धित हुन्छ । निजामती प्रशासन राजनीतिक कार्यकारीबाट निर्दिष्ट हुन्छ, यसले सेवा दिने वर्ग सर्वसाधारण हो, सेवाग्राही सर्वसाधारणसँग घुलमिल गर्छ, आर्थिक तथा प्राविधिक पक्षबाट प्रभावित हुन्छ । सामाजिक मूल्य संस्कृतिबाट माथि उठ्न धौधौ मान्छ । यसले कार्यसम्पादन गर्दा वा सुधारका कार्य अघि बढाउँदा अन्य निकायको सम्मति जित्नुपर्छ, अन्य निकायले सहयोग गर्नुपर्छ । सुधारका लागि थुप्रै सकस सहेर अघि बढ्ने साहस गरिरहनुपर्छ । यसको मतलब परोक्ष र प्रत्यक्ष रूपमा अन्य प्रणालीसँगको सापेक्षमा आफूलाई परिमार्जित र व्यावसायिक बनाउनुपर्ने बाध्यात्मक अवस्था उसमा रहन्छ ।
नेपालको निजामती प्रशासनमा व्यवसायिकताको विकास गर्न सेवा समूहको पुनर्संरचना गरी सूचना प्रविधिसँग सम्बन्धित कर्मचारीहरूको छुट्टै सेवा, समूहको निर्माण गर्ने, सेवा, समूहपिच्छे फरकफरक शैक्षिक योग्यता निर्धारण गर्ने, विश्वविद्यालय, लोकसेवा आयोग, तालिम प्रदायक संस्था तथा परिचालन गर्ने निकायहरूबीच कार्यगत समन्वय कायम गर्ने,कार्य विश्लेषण गरी दरबन्दी सिर्जना गर्ने, कर्मचारीहरूलाई अनिवार्य कार्यविवरण दिनुपर्ने व्यवस्था गर्ने,तालिमको प्रभावकारिता अभिवृद्धि गर्न व्यावहारिक पक्षलाई जोड दिने, विद्यालय तह, लोक सेवा आयोगलगायतका पाठ्यक्रमहरूमा नैतिकता र सदाचारिताका विषयहरू समावेश गरी उच्च नैतिक चरित्रवान् कर्मचारीहरूको छनोटमा जोड दिने, काम गर्ने र नगर्ने कर्मचारीबीच मूल्याङ्कन प्रणालीमा पृथकता ल्याई कार्यसम्पादनलाई दण्ड पुरस्कारसँग आबद्धता कायम गर्ने, कानून र कार्यविधिको सरलीकरण गर्ने, कार्यगत तथा व्यवस्थापकीय स्वायत्ततामा जोड दिने, कार्यसम्पादनमा प्रणालीगत आबद्धता कायम गर्नेजस्ता कुरामा जोड दिनुपर्दछ ।
त्यसैगरी निजामती सेवाको कार्यसंस्कृति जनमुखी बनाउनु पर्दछ । परिवर्तित चुनौती बहन गर्नसक्ने क्षमता प्रणाली, शासकीय अवधारणमा आएको परिवर्तन, विश्वव्यापीकरण र प्रविधिको निरन्तर विकास गर्नु पर्दछ । निजामती सेवा र उसलाई दिशावोध गर्ने राजनीतिक कार्यकारिणीबीचको मान्य सम्वाद र सम्बन्ध प्रणालीको विकास गर्नु पर्दछ । तालिम तथा क्षमता विकासका विधिमार्फत व्यक्तिको सीप, क्षमता र केही हदमा स्वभाव परिवर्तन गरिनुपर्छ ।
कार्यसम्पादन योजना, पद वर्गीकरण, आचारसंहिताको क्रियाकलाप संचालनमा त्यसलाई लक्ष्यमुखी बनाउन दह्रिलो अनुगमन मूल्याङ्कनको निरन्तरता आवश्यक पर्दछ । यी कार्य निरन्तर र क्रियाकलापपिच्छे गरिनुपर्छ ताकि संस्थागत संस्कृति नै कार्यमुखी हुन सकोस्। यसर्थ निजामती प्रशासनमा व्यावसायिकता विकासका लागि यसले गर्ने क्रियाकलापको पुनर्वोध गरिनु आवश्यक छ जहा“ व्यक्तिका चाहना र आवश्यकता, सेवाग्राहीको सन्तुष्टि र सरकारको उत्तदरदायित्व सबैलाई एकसाथ सम्बोधन गर्न सकियोस् ।
यसका लागि प्रणालीभित्र दह्रिलो संस्थागत अठोट आवश्यक छ । निजामती कर्मचारी समाजको अब्बल प्रतिभा, पढालेखा, योग्यताबाट परीक्षित र अनुभवबाट खारिएको हुनाले उसको व्यवहार, आनीबानी, शीलकौशल पनि उदाहरणीय भइदिए हुन्थ्यो भन्ने समाज र संस्थाको अपेक्षा रहेको छ । निजामती सेवाको पदपूर्तिका लागि लोक सेवा आयोगले अवलम्बन गरेको छनोट प्रणाली निष्पक्ष छ ।
स्थापना कालदेखि कायम गर्दै आएको साखलाई भविष्यमा समेत अटल राख्न लोक सेवा आयोगले अपनाएको छनोट प्रणाली तथा पाठ्यक्रमलाई बजारको उत्कृष्ट तथा नैतिकवान् प्रतिभा आकर्षित गर्न सक्ने गरी परिमार्जन गर्न उपयुक्त हुन्छ । सरकारले समेत कर्मचारीलाई सेवामा प्रवेश पश्चात् आर्थिक उपार्जन र माथिल्लो तहको परीक्षाको तयारीभन्दा सेवा प्रवाहमा आकर्षित गराउनमा ध्यान दिनुपर्छ ।
सार्वजनिक क्षेत्रमा विद्युतीय प्रणालीमार्फत स्वाचालित सेवा प्रवाहको संरचना तथा प्रक्रिया शुरु गर्न अबेला भैसकेको छ । यसका लागि सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा उच्च प्राविधिक दक्षता आवश्यक पर्ने क्षेत्र पहिचान गर्ने, प्राविधिक पूर्वाधार विकास गर्ने, निजामती सेवालाई प्रविधिमैत्री बनाउने, सेवा प्रवाहका आधारमा कर्मचारीको मूल्याङ्कन गरी त्यसैमा वृत्ति विकासलाई आबद्ध गर्नेतर्फ ध्यान दिनुपर्छ ।
राजनीतिक नेतृत्वले आदर्श अभिभावकको भूमिका निर्वाह गरी सार्वजनिक व्यवस्थापनभित्र राजनीतिकरणको अन्त्य गर्न सकिएमा निजामती सेवाको साख पुनस्र्थापित गर्न महत्वपूर्ण टेवा मिल्नेछ । त्यसैगरी सरकार परिवर्तनसँगै हुने उच्च व्यवस्थापकहरूको हेरफेरमार्फत सार्वजनिक व्यवस्थापनमा भित्रिने डर र त्रासको अन्त्य हुनु जरुरी छ । सार्वजनिक व्यवस्थापनलाई व्यावसायिक गुणयुक्त बनाउन तथा यसमा मूल्यजन्य, क्षमताजन्य र उपयुक्त व्यवहारजन्य पक्षहरू सिञ्चित गर्नु आवश्यक छ ।
क्षमता र तत्परता भएका सार्वजनिक पदाधिकारी तयार गरी लोकतन्त्रसँग सम्झौता बिना नै सम्भाव्य सुविधाहरू नागरिक समक्ष वितरण गर्न सकेमा मात्र परिवर्तनको फल स्थानीयकरण हुन सक्छ । उपलब्ध प्रतिभाको खोजी एवम् विकास गर्दै सार्वजनिक सेवाका आधारभूत मूल्यहरूलाई जगेर्ना गर्न सकेमा मात्र व्यावसायिक र उत्तरदायी सार्वजनिक व्यवस्थापनले कार्यरुप पाउने देखिन्छ ।
अन्त्यमा, निजामती सेवाको दीर्घकालीन नीति तयार पारी त्यसका आधारमा जनशक्ति योजना बनाउने, सङ्गठनमा टिकाउनुपर्ने र अवकाश दिनुपर्ने कर्मचारीका लागि उपयुक्त रणनीति तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक छ । निजामती सेवा र त्यस अन्तरगतका पदहरूको कार्य विश्लेषण गरी कामले माग गरे अनुसारको ज्ञान, सीप, क्षमता भएका कर्मचारी प्राप्त गर्ने, बजारका उत्कृष्ट प्रतिभा भित्र्याउन निजामती सेवालाई आर्थिक दृष्टिले आकर्षक, सामाजिक दृष्टिले प्रतिष्ठित, नागरिक तथा राजनीतिक दृष्टिले सम्मानित बनाउन जरुरी छ। यस कार्यमा राजनीतिक इच्छाशक्ति र प्रशासनिक कटिबद्धता चाहिन्छ ।
संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारीको अन्तरसम्बन्ध, वृत्ति विकास र व्यावसायिकता प्रवद्र्धन हुने गरी संघीय निजामती सेवा ऐन निर्माण गरिनुपर्छ । निजामती सेवालाई तहगत प्रणालीमा रूपान्तरण गरी एकीकृत निजामती सेवा प्रणाली लागू गर्न आवश्यक छ । कर्मचारीको लोकतान्त्रीकरण गर्दै सार्वजनिक प्रशासनलाई नागरिक सेवामा रूपान्तरण गर्न निजामती सेवा ऐनले आधार सिर्जना गर्नुपर्छ । त्यसैगरी मस्यौदा भएको लामो समयसम्म राष्ट्रिय सदाचार नीति स्वीकृत हुन सकेको छैन ।
यसलाई सामयिक परिमार्जन गरी राजनीति, सार्वजनिक प्रशासन, निजी क्षेत्र, गैर सरकारी संस्था आदिको नैतिक मानकक रूपमा स्थापित गर्न सकिन्छ । व्यावसायिक कर्मचारी प्रभावकारी र गुणस्तरीय कार्यसम्पादनको पूर्वशर्त हो । नेपालको निजामती प्रशासनमा उच्च व्यावसायिकताको विकास गर्दै सेवाप्रवाहलाई नागरिक सन्तुष्टि हासिल हुने बनाउनु आजको आवश्यकता हो । (उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)
View : 424
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved