केहिदिन पहिले मित्र मुनाल पोखरेलसँग साझा प्रकाशनको बिक्री तथा प्रदर्शनी शाखा विराटनगरमा जाने अवसर परेको थियो । निकैबेर त्यहाँ बसेर किताबहरु हेरियो, कार्यालय प्रमुखसँग सोही सम्बन्धित छलफल पनि भयो । त्यहाँको अवस्था र भावी कुराहरू सुन्दा मन अधीर र दुखित भएको थियो हाम्रो ।
विराटनगरमा साझा प्रकाशन कहिलेदेखि रहिआएको हो त्यसको हेक्का नभए पनि मेरो किशोर बयदेखिनै मैले देख्दै आएको छु । त्यहाँ पुगेर मैले आफ्नो रुचि र आफूसित भएको पैसा अनुसारका किताबहरु किन्ने गरेको थिएँ । निकै बर्षदेखि मेरो आफ्नै कारणले सो अवसरबाट बञ्चित थिए, तर त्यो दिन त्यहाँ पुग्दा प्रकाशनसँग जोडिएका धेरै कुराहरु किताबका पानाहरु झै पल्टिएका थिए । धेरै कुराहरुसँगै एउटा कुरा बारम्बार हामीबीच चलेको थियो । के साझा प्रकाशनको शाखालाई विराटनगरमा जोगाउन सकिदैन ?
आफ्नो भवन नभएको साझा प्रकाशनले विराटनगरमा धेरै घरहरूमा सरेको मैले देखेको छु । कहिले हिमालय रोडमा,कहिले तत्कालीन भूमि प्रशासन चोकमा, मित्र मुनाल पोखरेलको घरमा अनि फेरि उनैको घरदेखि पश्चिममा रहेको घरमा बस्दै सर्दै अहिले गोपाल प्रिन्सिपल सरको घरको सटरमा रहेकोछ । जुन ट्राफिक चोकदेखि एक सय मिटर जति दक्षिणमा छ । अब सोही स्थानबाट सदाका लागि बन्द हुने कुरा रहेछ । अहिले साझा रहेको स्थानको वरिपरि नाम चलेका स्कुल कलेजहरु रहेका छन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस एक किलोमीटर दक्षिणमा छ भने अर्को पाँच मिनेट हिड्दा डिग्री कलेज पुगिन्छ ।
दुईवटा मेडिकल कलेज, दशौं नर्सिङ होम र इन्जिनियरिङ कलेज रहेको विराटनगरमा ज्ञानको भण्डार रहेको साझा यतिबेला सहारा नपाएर बेवारिसे भएको छ । अझ प्रदेशको राजधानी पनि हो विराटनगर । राजनीतिमा रहेका प्रमुख ब्यक्तिहरु, सांसद, मन्त्री, मुख्य मन्त्रीहरुले यही साझाको अघिबाट आउजाउ गर्नुपर्छ, सरकारका निम्न स्तरका कर्मचारीदेखि उच्च पदस्थ कर्मचारीलगायत अनेकौं बैंक र बित्तीय संस्थाका कर्मचारीहरु उल्लेखनीय रूपमा रहेका छन् ।
जिल्ला अदालत, उच्च अदालत र वकिलहरु, प्राध्यापक, शिक्षक र पचास हजार भन्दा माथि विद्यार्थीहरु अध्ययन गर्ने काठमाडौं पछिको शहर हो विराटनगर । स्थानीय बौद्धिक ब्यक्तित्वहरु, नागरिक समाजका अगुवाहरुको बुद्धिबिलास गर्ने स्थल पनि यही विराटनगर हो । तर बिडम्बना साझा टुहोरो भएको छ ।
यस्तो गतिमा पुग्नुमा साझा प्रकाशनमा नियुक्ति हुने प्रशासकमा साझालाई बलियो बनाउने ब्यावसायिकताको सोच भन्दापनि नियुक्ति दिनेप्रति तावेदारी गरेर ब्यक्तिगत फाइदाका लागि काम भयो । यसको प्रमुख जिम्मेवार राजनीतिका पात्रहरु नै छन् । नातागोता,चाकरी र चाटुकारको पोषण गराएर आफ्नो पनि फलिफाप गर्न लगाउनु प्रमुख कारण हो साझाको यो दुरावस्था । साझालाई यो अवस्थासम्म ल्याउनुमा त्यहाँका कर्मचारीको पनि धेरथोर कारण रहेकै छ । तर अब सोच्ने बेला हामी विराटनगरका महानगरवासीको पनि हो । किनभने हाम्रो आँखै सामुबाट साझा प्रकाशन थिलथिलो भएर बिदा भयो भने हामीले हाम्रो राजनैतिक, शैक्षिक र बौद्धिकतामाथि गर्व गरिरहने ठाउँ कसरी बाँकी रहन जाला ?
यसर्थ बेलैमा सोचेर साझालाई विराटनगरबाट जानदिनु हुँदैन । यहाँका राजनैतिक व्यक्तित्वहरु, सांसद, मन्त्री, वकिल, प्राध्यापक, शिक्षक र कर्मचारीहरु तथा सम्पूर्ण विराटनगरमा बसोबास गर्नेहरूको नैतिक दायित्व हुन आएको छ । सरकारी तथा निजी विद्यालय र कलेजका सञ्चालकहरुको पनि उत्तिकै दायित्व छ । अझ विराटनगर महानगरपालिकाको लागि साझा प्रकाशन यहाँबाट उठेर जानु लाजमर्दो हुँदैन र ?
लेखकले धेरै समयसम्म अध्ययन गरि लेखेको एउटा गतिलो किताब प्रकाशित गरेको हुन्छ त्यसमा ब्यक्ति हुन्छ, समाज हुन्छ, गहिरा गहिरा भावना र विचार हुन्छन् । जसको अध्ययनले एउटा ब्यक्तिको जीवनलाई परिवर्तन गराऊन सक्तछ । ब्यत्तिमा सकारात्मक सोचको बिकाश भएर देशप्रति सदा कर्मयोगी बनाउन सक्ने क्षमता पनि रहेको हुन्छ । आज किताबका निजी पसलहरु र प्रकाशन गृह मौलाउन सक्ने, फस्टाउन सक्ने तर साझा प्रकाशनको यस्तो दुरावस्था हुँदा किन कसैको मन दुखिरहेको छैन ? किन साझाको दुरावस्था बारेमा कुनै पत्रिकामा समाचार बन्न सकेन ?
विराटनगरमा सञ्चालित रेडियो टेलिभिजनले खोज खबर किन गरिरहेका छैनन् ? नाम चलेका गम्भीर पत्रकारहरुको चासोको बिषय किन बन्न सकेन ? एकपटक सोचौं डिजिटल युगभन्दा अघिका हामीले हातमा किताब लिएर पढ्दाको आनन्द मोबाइल ल्यापटपमा पढेर प्राप्त गर्न सकिन्छ ? यसर्थ पठन संस्कृतिको विकाश गरौं र आजका युवाहरूलाई बुझाऊँ हातमा किताब लिएर पढ्दाको आनन्द । अनि जुटौं सबै साझालाई विराटनगरमा नमुनाका रुपमा सञ्चालन र स्थापित गरि एक जिम्मेवार महानगरवासी कर्तव्य पूरा गर्न ।
View : 578
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved