सुनसरी । शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रण तथा उद्धारमा सशस्त्र प्रहरीको टोलीले उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिने बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीको २४ औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले इटहरी सेन्टर प्लाजा आगलागी घटनामा सशस्त्र प्रहरीले प्रशंसनीय काम गरेकोमा संगठनको शिर उच्च बनेको बताए ।
उनले भने, चैत १३ गते इटहरीस्थित सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रण तथा उद्धारमा सशस्त्र प्रहरीको टोलीले उत्कृष्ट भूमिका निर्वाह गरेको छ, यसको गृह मन्त्रालयमै प्रशंसा भएको छ । यस कार्यमा सहभागीहरुलाई पुरस्कृत तथा सम्मान समेत गरिने छ ।
बिपत ब्यवस्थापन तथा उद्धारको काममा सशस्त्र प्रहरीले उत्कृष्ट काम गरेको भन्दै अर्यालले यसको सम्पूर्ण श्रेय फिल्डमा खटिने सिपाही तथा त्यसको नेतृत्व गर्ने अधिकृतलाई जाने बताए ।
उनले सीमाक्षेत्रबाट हुने लागुऔषध ओसारपसार तथा दुब्र्यसनबिरुद्ध रणनीतिक योजना बनाएर अघि बढ्नसमेत निर्देशन दिएका छन् । अर्यालले लागुऔषधको समस्याले युवाहरु दुव्र्यसनको लतमा फँस्दा देशको सुरक्षा अवस्था समेत बिग्रने बताए ।
सीमा क्षेत्रबाट हुने लागुऔषधको ओसारपसारलाई नियन्त्रण गर्न सूचनाको ठूलो महत्व हुने भन्दै यसमा सञ्चारकर्मीसहित सबै क्षेत्रको समन्वयात्मक भूमिकाको खाँचो रहेको अर्यालले बताए ।
सीमामा हुने लागुऔषधको समस्यालाई न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उच्च महत्वका साथ काम गरिरहेको दाबी गर्दै अर्यालले लागुऔषधको प्रमुख समस्या रहेको कोशी प्रदेशमा विशेष योजना बनाएर काम गर्न बराह बाहिनी मतहतका सुरक्षा अधिकारीलाई अर्यालले निर्देशन दिए ।
सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणको काममा बराह बाहिनीअन्तर्गतको विभिन्न इकाईले गरेको काम उत्कृष्ट रहेको बताउँदै यसमा सबै क्षेत्रबाट सहयोग हुनुपर्ने अर्यालले बताए ।
कतिपय कानुनी समस्याको कारणले केही जटिलता आएकोले काम गर्न असहज भएको बताउँदै अर्यालले संसदीय समितिमा दफाबार छलफलको लागि गएको सशस्त्र प्रहरी सम्बन्धी विधेयक पारित भएपछि काम गर्न सहज हुने जानकारी दिए ।
कार्यक्रममा बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुबेदीले सीमित स्रोत र साधनका बाबजुद पनि सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणको काममा खटिरहेको बताए ।
२४ औं स्थापना दिवशको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले वीरगति प्राप्त राष्ट्रसेवकका परिवारसहित सशस्त्र प्रहरी बललाई सहयोग गर्ने संघ संस्था र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरेका थिए ।
View : 84
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved