Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी अस्पतालको बेथिति

स्वास्थ्य मन्त्रीको निरीक्षणको एकातिर, दलालको अर्कोतिर

उद्‌घोष सम्वाददाता
१९ चैत २०८१, मङ्गलवार

विराटनगर । उपचारका लागि सरकारी अस्पताल जाने बिरामीलाई फकाउँदै झुक्याएर क्लिनिकमा लैजाने दलाल कोशी अस्पताल विराटनगरमा सक्रिय छन् । अस्पताल प्रशासनले बेवास्ता गर्दा बिरामीले गलत उपचारको सामना गर्दै आएका छन् ।

इद पर्वको सरकारी बिदाका दिन सोमबार मन्त्रीको निरीक्षण भएकै बेला पनि बिरामी खोज्ने र निजी अस्पतालमा लैजाने धन्दावालहरू घुमिरहेका थिए । 

न्यून शुल्कमा स्तरीय उपचार दिंदै आएको कोशी अस्पतालमा सेवाका लागि लाइनमा बसेका ब्यक्तिलाई फकाएर निजी क्लिनिकमा लैजाने समूह छ । एक बिरामी बापत अस्पताल बाहिरका क्लिनिकले दलाललाई १ हजार ५ सय रुपैयाँसम्म कमिसन दिने गरेको पाइएको छ । 

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सोमबार कोशी अस्पतालका दुई वटा सेवाको उद्घाटन गरिरहँदा बिरामी खोज्ने ब्यक्तिलाई अस्पतालका जानकारहरूले नै बेवास्ता गरे । कार्यक्रममा प्रहरीको बाक्लो उपस्थिति थियो । 

अस्पतालमा रहेको छिमेकी प्रहरीलाई यदाकदा खाजापानी खुवाउने तिनै दलाल भएकाले सरकारी अस्पतालका बिरामी बाहिर लैजानेले उन्मुक्ति पाउने गरेको स्थानीय औषधि ब्यवसायीको भनाइ छ । 

अस्पताल वा सडकबाट बिरामी फकाएर ल्याउने ब्यक्तिलाई कतिपय क्लिनिक सञ्चालकले अग्रिम १० देखि २० जनासम्म बिरामीका लागि रकम दिएका हुन्छन् । ‘पहिले नै पैसा लिई सकेका मानिसले जसरी पनि बिरामी लानुपर्ने हुन्छ’ अस्पताल अगाडिका एक ब्यवसायीले भने, ‘बिरामीलाई फकाएर निजी क्लिनिकमा लाने भारतीय पनि छन् ।’

भारतीय नागरिक सुरेन राय सकेसम्म भारतबाट उपचारका लागि आएका बिरामीलाई विशेषज्ञ डाक्टर अस्पतालमा नभएको बताएर निजी क्लिनिकमा लैजान्छन् । 

उनले जस्तै लाइनमा रहेका बिरामीलाई गलत सूचना दिएर निजी क्लिनिकमा लैजानेहरू सुमन सरदार, महादेव राय, सञ्जय पासवान, जलिल मिया, शिवा कामत, अमिन मुखियालगायत दैनिक रुपमा बिरामी खोज्नमा तल्लिन हुन्छन् ।

अस्पतालमा बिरामीलाई झुक्याउनेहरूलाई यसअघि प्रहरीले पनि पक्राउ गर्दै आएको थियो । बिरामीलाई फकाएर बाहिरका क्लिनिकमा लैजान खोज्ने मोरङ धनपालथान कदमाहाका मोहमद कलाम र बुधनगरका गणपत यादव यसअघि पक्राउ परेर कारवाही भोगेपछि बिरामी झुक्याउने कार्यमा कम सक्रिय छन् । 

विगत एक वर्ष यता बिरामी खोज्ने दलाल पक्राउ र कारवाहीमा नपरेकाले संख्या बढ्न थालेको अस्पताल आसपासका ब्यवसायी बताउँछन् । 

कोशी अस्पतालका सूचना अधिकारी गजेन्द्र यादव अस्पतालमा ओपीडी सेवामा टोकन सिस्टम सुरु भएकाले बाहिरका दलालले ठग्ने समस्या घटेको दावी गर्छन् ।

दलालले बिरामी लैजाने क्लिनिक विशेषज्ञ चिकित्सक बिनै चलेका छन् । 

एमबीबीएस मात्रै अध्ययन गरेका चिकित्सक र दलालले ल्याएपछि बालरोग विशेषज्ञले पनि टाउकोमा चोट लागेका कटहरीका ३६ वर्षीय युवकलाई छातीको एक्सरे गर्न लगाएको घाइतेका साथी देवानन्द मण्डलले बताए । 

यसअघि दलालले बिरामी लगेकैले ओम साई क्लिनिकले खुट्टाको समस्या भएकाले  एक किशोरीलाई न्युरो अस्पतालमा लगेर टाउकाको सीटी स्क्यान गराएर कमिसन लिएको थियो । 

क्लिनिकहरूले एक बिरामी बराबर दलाललाई १ हजार ५ सय रुपैयाँ दिने गरेकाले सो रकम निकाल्न क्लिनिकले १० हजार रुपैयाँसम्मको परीक्षण गराउँछन् । परीक्षण वापत क्लिनिकले ३० प्रतिशत कमिशन लिने गरेका छन् ।

अस्पताल चोक दक्षिणमा रहेको स्वस्तिक पोलिक्लिनिकमा यसअघि गैर स्वास्थ्यकर्मीले बिरामीलाई बिभिन्न परीक्षण गर्न लगाएपछि बिवाद भएको थियो । 

बिरामीलाई अनावश्यक परीक्षण गर्न लगाउने क्लिनिकमा बिरामीका आफन्तले दवाब दिएर प्रश्न गर्न थाले भने रकम फिर्ता पनि दिने गरेका छन् । 

मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशी अस्पतालमा रहेको प्रहरीलाई दलाल बारे जानकारी भएर पनि बेवास्ता गरेको पाइए कारवाही हुने बताउँछन् ।

View : 168

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved