विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न घोषणा गरेको ‘कोशी प्रदेश पर्यटन बर्ष २०८२’ को बुधबार भव्य उद्घाटन गरिएको छ । गुराँसको राजधानीका रुपमा परिचित रहेको तेह्रथुमको तिनजुरे क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–२ स्थित आरआर गार्डेनमा संघीय सरकारका उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पर्यटन बर्षको उद्घाटन गरेका छन् ।
पर्यटन बर्षको उद्घाटनका लागि कोशी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो गरेको थियो । तर उनी अन्तिम समयमा नआउने जानकारी भएपछि उपप्रधानमन्त्री सिंह आएर उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशबाटै पर्यटन क्षेत्रको विकासमा सन्देश प्रवाह गरी आधार वर्ष तयार गर्न पर्यटन वर्ष घोषणा गरिएको बताए ।
उनले कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्वपूर्ण भएको बताए । मुख्यमन्त्री कार्कीले महत्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटन मार्फत राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुग्ने बताए ।
उनले स्थानीय तहको सहकार्यमा कोशी प्रदेशको पर्यटन विकास गरी नमुना प्रदेशको रुपमा अघि बढाइने प्रतिबद्धता जनाए ।
सुरक्षा निकाय, जनप्रतिनिधि र सरकारी क्षेत्रको व्यवहार सुधार गरेर अघि बढ्दै पर्यटनलाई प्रवद्र्धन गर्ने चाहना रहेको मुख्यमन्त्री कार्कीले उल्लेख गरे । त्यसका लागि सबै जातजाति, धर्म संस्कृतिको जगेर्ना र संरक्षणमा अघि बढ्ने बताए ।
पर्यटनकै माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापारघाटा काम गर्न सकिने मुख्यमन्त्री कार्कीले उल्लेख गरे । उनले कोशी प्रदेशलाई बन्द हड्तालबाट मुक्त बनाउँदै भएका समस्या वार्ताको माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
उद्घाटन कार्यक्रममा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले पर्यटन विकासका लागि नीतिगत सुधार, संरचनाको विकास, प्रचार प्रसार गरिने बताए । साथै सामाजिक एवं धार्मिक संरचनाको संरक्षण गर्दै पर्यटन क्षेत्रलाई अघि बढाउने बताए ।
लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङले पहाडी क्षेत्रमा मान्छेको बसाई घट्दै गएको प्रति चिन्ता व्यक्त गरे । मान्छे नै नबस्ने हो भने पर्यटन विकासमा गरिएको लगानीको भविष्य जोखिममा पर्ने उनले बताए । गाउँका पदमार्गहरु ठुलो बाटोमा परिणत हुँदै गएका कारण थप समस्या निम्तिने बताए ।
View : 166
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved