विराटनगर । कोशी प्रदेशमा सांसद विकास कोषमा बजेट छुट्याउन लबिङ गरिरहेको नेपाली कांग्रेस संसदीय दलभित्र उपनेता हिमाल कार्कीले जनतासँग जोडिन सांसदलाई बजेट छुट्याउनैपर्ने धारणा राखेका छन् ।
मंगलबार कोशी प्रदेश सभाको शून्य समयमा बोल्दै उपनेता कार्कीले सांसदले पैसा मागे भनेर सरकारभित्रै पनि गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै असन्तुष्टि पनि पोखे ।
उनले जनताबाट निर्वाचित प्रदेश सभाका सांसदलाई विकास निर्माणका योजनामार्फत जनतासँग नजोडेकै कारण संघीयतामाथि प्रश्न उठेको दाबी गरे । कार्कीले सांसदले आफ्नो व्यक्तिगत लाभका लागि पैसा नमागेको उनले प्रष्टीकरण दिए ।
‘यहा गलत भाष्य बनाइएको छ माननीयहरूले पैसा मागे भनेर, माननीयहरुलाई पैसा दिनु हुँदैन भनेर यत्रतत्र सरकारमा बस्दा सरकारमा बस्ने साथीहरुले र बाहिरी सामाजिक सञ्जालमा पनि आउने गर्छ’ उनले भने, ‘यो गलत भाष्य हो, हामी माननीयले पैसा मागिरहेका छैनौं, हामीले व्यक्तिगत कामले लाभका निम्ति पैसा मागिरहेका छैनौं, विकास निर्माणका नामबाट जनतासँग जोडिन माननीयले सिफारिस गरेका योजनाहरूमा बजेट देउ भनिरहेका छौं ।’
उनले प्रदेश सभाका माननीयहरूलाई कमजोर बनाएर अघि बढ्ने हो भने प्रदेश सरकार पनि बलियो नहुने दाबी गरे । उनले प्रदेश माननीयको अवमुल्ययन हुँदै जाने र संघीयतामाथि प्रश्न उठ्दै जाने दाबी गरे ।
‘त्यसो भएकोले यो आर्थिक वर्षमा माननीयहरूले सिफारिस गरेका योजनामा बजेट छुट्याउन अनुरोध गर्न चाहन्छु’ उपनेता कार्कीले भने ।
कांग्रेसभित्र यसअघि संसदीय दलकै बैठकमा पनि कार्कीले सांसदलाई क्षेत्र विकास कोषको व्यवस्था गर्न आवाज उठाएका थिए । त्यसमा कांग्रेस केन्द्रीय सदस्य समेत रहेका प्रदेश सांसद भीम पराजुली समेत समर्थन जनाएर प्रत्यक्ष निर्वाचितलाई ५ करोड र समानुपातिकलाई ३ करोड रुपैयाँ छुट्याउनुपर्ने माग गरेका थिए ।
कार्कीले शून्य समयमा बोल्दै पत्रपत्रिका र सामाजिक सञ्जालमा आएकै भरमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने जिकिर गरेका छन् ।
उनले सत्तामा हुँदा कसैले पनि नैतिकताको कुरा नगर्ने, बरु सत्ताबाट हटेपछि चर्को गरी नैतिकताको कुरा गर्ने गरेको भन्दै विपक्षी दलहरूप्रति गुनासो गरेका छन् ।
‘नैतिकता भन्ने अनौठो चरी जस्तो भएको छ, आफू सत्तामा हुँदा कुर्सीमा बस्दा त्यो चरी उडेर सात समुन्द्र पारि पुग्छ, सत्ताबाट झर्ने बितिक्कै त्यो चरी फर्केर आउ“छ’ कार्कीले भने, ‘सामाजिक सञ्जाल र समाचारमा आएका भरमै मन्त्रीले राजीनामा दिनुपर्ने हो भने हामी सवै गणतन्त्रवादीले कुनै न कुनै बेला राजीनामा दिनुपर्ने बाध्यता आउँछ, त्यसो भएकोले राजीनामाको प्रसंग यहाँ उठाइरहनुपर्छ भन्ने लाग्दैन ।’
उनले भिजिट भिसाका नाममा गृहमन्त्रीलाई आक्रमण गर्ने प्रयास भएको आरोप लगाए । उनले भिजिट भिसाका नाममा भएका गलत क्रियाकलापको मन्त्रालयले छानबिन गरेको बताए ।
कार्कीले धान खेतीको सिजन सुरु भइसकेको भन्दै किसानलाई मल बिउको व्यवस्था गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराए ।
‘धान काट्ने बेलामा पनि मल नपाइरहेको अवस्था छ, प्रदेश सरकारले जोड गरौं, किसानले बाली लगाउने बेलामा मल र बिउ प्राप्त गर्ने व्यवस्था गर्नका निम्ति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ।
View : 430
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved