Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

‘महाधिवेशन टार्न खोज्ने काम आत्मघाती’

उद्‌घोष सम्वाददाता
१ वैशाख २०८२, सोमवार

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाति हुने भएकाले यसतर्फ चनाखो र सतर्क रहन अनुरोध गरेका छन् ।

नयाँ वर्ष २०८२ को उपलक्ष्यमा एक सन्देश जारी गर्दै उनले नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसीजन अगाडि आउनुपर्ने आवश्यकता औँल्याए । 

सन्देशमा नेता डा. कोइरालाले भने, “एक पटक आफू र आफ्नो दल भन्दा देश र जनता माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेछ ।”

अन्तरराष्ट्रिय मञ्चमा देखिएको ‘शीतयुद्ध–२’ ले पाँच दशक अगाडि बिपी कोइरालाले प्रतिपादन गर्नुभएको ‘राष्ट्रिय मेलमिलाप’ को स्मरण गराएको उल्लेख गर्दै उनले राष्ट्रिय र अन्तरराष्ट्रिय राजनीति तथा राष्ट्रिय मुद्दाहरुमा कांग्रेसले गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिनुपर्ने सुझाव दिए ।

उनले भने, “हामी यतिखेर इतिहासको त्यो दोबाटोमा उभिएका छौँ जहाँबाट सामान्य त्रुटी हुँदा र गलत दिशातर्फ जाँदा हाम्रो देश नेपाल ठूलो जोखिममा पर्छ ।”

राजनीतिमा देखिएको विकृति विसङ्गतिको उपचारको खोजी पार्टीभित्रबाट खोजिनुपर्ने मान्यता राख्दै आउनुभएका उनले नागरिकको विश्वास र भरोसा जित्न पार्टीको अगुवाईमा ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को अभियानको आवश्यकता औँल्याएका हुन् ।

भ्रष्टाचार, दण्डहिनता र अनियमितता संस्थागत भएर छुट्दै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोड्न पार्टीभित्र शुद्धिकरण अभियान आवश्यक रहेको बताउँदै नेता कोइरालाले नयाँ वर्ष २०८२ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याउन सफल होस् भनी शुभकामना व्यक्त गरे ।

View : 213

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved