बिराटनगर । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप कार्यक्रम सफल बनाउन अभिभावकमा सचेतना आवश्यक रहेको स्वास्थ्य सरोकारवालाहरूले बताएका छन् ।
प्रदेश खोप समन्वय समितिले बुधबार विराटनगरमा आयोजना गरेको एचपीभी खोप कार्यक्रमको समीक्षा बैठकमा सहभागीहरूले खोप अभियान विद्यालयस्तरमा सञ्चालन गरिने भएकाले अभिभावकको अनुमति र सहयोगबिना कार्यक्रम प्रभावकारी हुन नसक्ने बताए ।
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले अभिभावकले खोपबारे पर्याप्त जानकारी नपाएका कारण कतिपय ठाउँमा बालिकालाई खोप दिन समस्या देखिएको बताए ।
‘नेपालको राष्ट्रिय खोप ऐन, २०७२ अनुसार खोप कार्यक्रम व्यवस्थित रुपमै सञ्चालन भइरहेको छ, तर यसबारे स्थानीयस्तरसम्म जानकारी पु¥याउन अझै धेरै काम गर्न बाँकी छ,’ उनले भने ।
उनका अनुसार एचपीभी खोप अभियान हरेक वर्षको फागुन महिनामा सञ्चालन हुनेछ । १० वर्ष उमेर पुगेका वा कक्षा ६ मा अध्ययनरत बालिकालाई विद्यालयमै खोप दिइनेछ । ‘यो खोप अब नियमित कार्यक्रमअन्तर्गत पर्नेछ,’ उनले भने ।
अभियानका क्रममा मोरङ र सुनसरी जिल्लामा अभिभावकको असहमतिका कारण केही समस्या देखिएको समेत भण्डारीले उल्लेख गरे ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर वस्नेतले अभियान सम्पन्न भए पनि प्रभावकारिता बढाउन स्थानीय स्तरमा अभिभावक र विद्यालयबीच सहकार्य आवश्यक रहेको बताए ।
‘खोप महिना भनेर वैशाखलाई छुट्टै रुपमा प्रचार गरिएको छ, यसै अवसरमा जनचेतना अभियान पनि सँगै चलाउनु उपयुक्त हुन्छ,’ उनले भने ।
स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश सरकारकी सचिव राधिका थपलियाले खोप कार्यक्रम अझ प्रभावकारी बनाउन समन्वय र सूक्ष्म योजना अपरिहार्य भएको बताइन् ।
गत फागुन २२ देखि कोशी प्रदेशमा सञ्चालन भएको एचपीभी खोप अभियानमा ८७ प्रतिशत बालिकाले खोप लिइसकेका छन् ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. पवन उपाध्यायले संक्रमणकालीन पोलियो योजना (२०७९–०८६) पनि कार्यान्वयनमा रहेको जानकारी दिए ।
View : 42
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved