Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
विचार

विदेशबाट फर्किएका महिलाहरू, राज्यले चिन्यो न समाजले

आफ्नै संघर्षबाट संगठित हुँदै महिलाहरू
जुनु भट्टराई
२१ साउन २०८१, सोमवार

मीना परियार (परिवर्तित नाम) उमेरले ४० बर्षकी थिइन् । उनीसँग परिवारका ५ जना छोरी र श्रीमानसँगै थिए । पारिवारिक अवस्था कमजोर, गरिखाने ठाउँ पनि थिएन । दिनरात श्रीमानको कचकच, रातदिन रक्सीको कुलतमा फसेका श्रीमान्  । स–साना छोरीहरूको लालनपालन सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थिए ।

बराहक्षेत्र नगरपालिका–२ सतुवागाछीकी मीनाको खेतीपाती गर्ने जमिन पनि  थिएन । घरको कमजोर आर्थिक अवस्थाका कारण विहानबेलुका छाक टार्न पनि धौधौ पर्न थाल्यो । आयस्रोतको गतिलो माध्यम खोजिरहेकी मीना साथीहरूको सल्लाहमा बैदेशिक रोजगारी जाने योजनामा पुगिन् ।  शुरूमा कुन देश जाने होला भनेर अन्योलमा परेकी सीतालाई साथीहरूले कुवेत जान सल्लाह दिए ।  तीन बर्षीय दुधे बालकलाई छाडेर  उनी  भारतीय बाटो हुँदै कुबेत जाने निधोमा पुगिन्  ।  

उनी भारतमा ५ दिन बसिन् । त्यो बीचमा उनले कानको टप बेचेर भिसा र टिकटको लागि एजेन्टलाई पैसा बुझाइन् । तर उनलाई थाहा थिएन, उनी फ्री भिसा र टिकटमा कुबेत जाादै थिइन् । कुबेत त पुगिन्, भने अनुसारको काम  र तलब पाइनन् । नेपाली ५० हजार तलबको कुरा भए पनि १४ हजार मात्र पाएको उनले सुनाइन् । उनले त्यहाँ खाना बनाउने र घर पुछ्ने काम गर्नु पर्थ्यो ।  ‘जम्मा भएको ६० हजार नेपाल पठाइदिन्छु भनेर एक नेपालीलाई दिएको थिएँ, सीता भन्छिन्,  ४० हजार पठाएर २० हजार उसैले खाइदिएछ, म त्यहाँ पनि ठगिएँ ।’

आफ्ना घरमा रहेका बालबच्चाको सम्झनाले  मीनाको मन कुबेतमा अडिएन । सीता अढाई वर्षको कुबेत बसाइपछि नेपाल फर्किन् । उनी अहिले ६१ वर्षकी भइन् ।  बैदेशिक रोजगारीबाट जोगाएको लगभग साढे ५ लाख रूपैयाँले घर बनाएकी मीनाको मनमा अझै खुसी भनें छैन ।  

आफू फर्किएर श्रीमान पठाउने छायाँ

छायाँ शेर्पा (परिवर्तित नाम) को कमजोर आर्थिक अवस्थाको कारण पढ्न नपाएपछि १७ बर्षको कलिलो उमेरमा विहे भयो । २ बर्ष नबित्दै छोरा जन्मियो । छायाँको बैवाहिक जीवन पनि सुखमय बनेन । बैवाहिक जीवन सुमधुर बनाउन उनले गरेका हर प्रयासहरू असफल भए । घरका सबै मिलेर कलह गर्न थालेपछि उनी छोरालाई माइतीमा छाडेर विदेश जाने निर्णयमा पुगिन् ।

काखेछोरो च्यापेर माइती हिंडेकी छायाँ परिवारको सल्लाह बिनै भारत हुँदै बैदेशिक रोजगारीका लागि कुबेत पुगिन् । विदेश पुगेकी छायाँलाई श्रीमान्‌ले फोनमा बारम्बार माफी माग्न थाले । एकपटक मौका दिने भनेर श्रीमानसँग निरन्तर कुराकानी गर्न थालिन् । कुबेत पुगेको साढे २ बर्षपछि श्रीमानले आफू विदेश जाने वाचासहित छायाँलाई नेपाल फर्किन आग्रह गरे । अढाइ बर्षको कुवेत बसाई टुड्ग्याएर छायाँ नेपाल फर्किन् ।

छायाँका अनुसार नेपाल फर्किए पनि राम्रो भएन । समाजले राम्रो नजरले हेरेन । खाडी मुलुक गएर लामो समयसम्म बसेर आएकी श्रीमतीलाई नभित्र्याउने र भनेजस्तो केटी घरमै ल्याइदिने भन्दै समाजले विवाह गर्न उनका श्रीमानलाई दवाव दिइरह्यो । ‘आफ्नो सन्तानको भविष्यका लागि केही गर्नै पर्छ भनेर विदेशी भूमिमा श्रम र पसिना बगाइयो, उनको प्रश्न छ, त्यसको मूल्याड्कन समाजले किन गरेन ?’ समाज आफूप्रति सकारात्मक नभए पनि विदेशमा कमाएको पैसाबाट श्रीमानलाई मलेसिया पठाउन सफल भएकोमा छायाँ खुसी छन् । 

छायाँ अहिले सिटी सफारी चलाउँछिन् । वैदेशिक रोजगारीबाट फर्किएपछि अन्योलका बीच बिगत ७ बर्षदेखि उनी सिटी सफारी लिएर चलाउन शुरू गरेकी हुन् ।  त्यही सिटी सफारी उनको जीवन चलाउने माध्यम बनेको छ ।

पार्वतीका सपना

बराहक्षेत्रकी पार्वती लुइटेल (परिवर्तित नाम) ले बैदेशिक रोजगारीमा आफ्नो उर्जाशील १२ वर्ष बिताइन् । कुबेत, साउदी लगायतका देशमा घरेलु कामदारको रूपमा  उनले अनेकौ जोखिम उठाउँदै केही गर्ने सोचमा ती देशमा पुगिन् ।

कुबेत, साउदी लगायतका देशहरूमा काम गर्न जाने र फर्कने क्रमले परिवारको आर्थिक अवस्था त जसोतसो धानिदै थियो, त्यही बीचमा उनले श्रीमानसमेत गुमाइन् । 

श्रीमान बितेपछि छोराछोरीको जिम्मेवारी सम्हाल्न नेपाल नर्फर्की उनलाई सुखै भएन । एकातिर श्रीमान गुमाउँदाको पीडा अर्कोतिर परिवारको जिम्मेवारी त्यो बेला उनलाई समाजले गरेको ब्यवहारले विक्षिप्त बनायो । ‘जव ओरेक नेपालले म जस्तै बैदेशिक रोजगारीबाट फर्केर आएका महिलाहरूलाई मनोपरामर्श सेवा दियो, त्यसपछि मात्र म सामान्य अवस्थामा फर्किएँ,’ लुइटेलले भनिन् । 

वैदेशिक रोजगारीबाट फर्किएका संगठित

महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले वराहक्षेत्रमा वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरूको अवस्थाको बारेमा काम गर्दै आएको छ । बैदेशिक रोजगारीबाट फर्किएका महिलाको अवस्था, आवश्यक मनोपरामर्श तथा संगठित गर्ने कार्यले महिलाहरू आफ्ना समस्याहरू बाहिर ल्याउन थालेका छन् ।

वैदेशिक रोजगारीमा गएका महिलाहरू आफूले त्यसलाई अवसरको रूपमा लिनुपर्ने भन्दै छलफल गर्नं थालेका छन् । ओरेककै सहयोगमा माया, सीता तथा सरस्वती जस्ता  वैदेशिक रोजगारीबाट फर्किएका झण्डै २०  महिलाहरू सगंठित भएर उर्जाशील महिला समूह गठन गरेका छन् । सरस्वती लुइटेल त्यसको अध्यक्ष हुन् । समूहले वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरूको सीप र क्षमता बढाउने खालका काम पनि सुरू गरिसकेको छ ।

दुई वर्ष पहिलासम्म वैदेशिक रोजगारबाट फर्केका महिलाहरू कुनै पनि सञ्जाल वा समूहमा आवद्ध थिएनन् । ओरेक नेपालले बैदेशिक रोजगारीबाट फर्किएका महिलाको अध्ययनको क्रममा उनीहरूका समस्याको पहिचान गरी सामाजिक, मनोवैज्ञानिक परामर्शहरू दिन थाल्यो ।

परामर्श पाएपछि अझै पनि केही गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ महिलाहरू एक दुई हुँदै सगठित हुँदै जान थाले । फलस्वरूप वैदेशिक रोजगारबाट फर्केका महिलाहरूको सञ्जालका रूपमा उर्जाशील महिला समूह गठन भयो । सो समूहमा आवद्ध महिलाहरूले बेला बेला विभिन्न कार्यक्रम समेत गर्दै आएको अध्यक्ष लुइँटेल बताउँछिन् ।

‘हामी आफै केही गर्न चाहन्थ्यौं, यसका लागि एक जनाको पहलबाट मात्र सम्भव थिएन, अध्यक्ष लुइटेल भन्छिन्, ओरेकले हामीलाई हाम्रो क्षमताको पहिचान गरी केही गर्न प्रोत्साहन गरिरह्यो, फलस्वरूप हामी संगठित भई काम गर्न सुरू गरिसकेका छौं, हामीजस्ता धेरै महिलाहरूलाई समस्याग्रस्त दैनिकीबाट माथि उठाउन हाम्रो प्रयास रहनेछ ।’ 

स्थानीय सहभागिता

उनीहरूले बराहक्षेत्र नगरपालिकालाई सामुहिक माग पत्र प्रस्तुत गरे । संस्थाले काम सुरू गरेको १ वर्ष नबित्दै वडा कार्यालयबाट उद्यमशीलताका लागि ५० हजार बजेट प्राप्त गरेपछि खेलौना (गुडिया) बनाउने तालिम सञ्चालन गरेका थिए ।

अहिले समूहमार्फत वैदेशिक रोजगारबाट फर्किएका महिला श्रमिकहरूको आवश्यकताहरू सम्वोधन गर्नेका लागि स्थानीय सरकारसँग पैरवी गर्न थालेको छ ।  वडाबाट ठ्याक्कै कति महिलाहरू बैदेशिक रोजगारीबाट फर्किएका छन् भन्ने यकिन तथ्याड्क नभए पनि ५० जनाभन्दा बढी महिलाहरू रहेको अनुमान गरिएको वडा सदस्य चुनु श्रेष्ठ बताउँछिन् ।

बराहक्षेत्र नगरपालिकाकी उपमेयर नन्दकुमारी राईले वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरूका लागि उनीहरूको क्षमता अझिवृद्धिका कार्यक्रमहरू सञ्चालनमा रहेको बताइन् ।  ‘केही कार्यत्रमहरू वडाबाट पनि भएका छन्, उनले भनिन्, नगरपालिकाले पनि केही गर्नुपर्छ भनेर योजनाहरू बनाइरहेको छ, आगामी दिनमा ती बिषयहरू सम्बोधन हुनेगरी काम गर्छौं ।’

महिला पुनः एकीकरणका लागि पैरवी गर्दै आएको ओरेकले लामो समयदेखि बैदेशिक रोजगारमा गएर फर्किएका महिलाहरूसँग काम गरिरहेको छ । बिशेषगरी ‘महिलाको गतिशिलता र कामको अधिकार’ अभियानका साथ बैदेशिक रोजगारीबाट फर्किएका महिलाहरूको सञ्जाल बनाएर काम गर्न सुरू गरेको हो ।

ओरेकले महिलाहरू बैदेशिक रोजगारीमा जाँदा बिचरा र हेलाको दृष्टिकोणले हेरिने प्रव्रृत्तीबिरूद्ध काम गर्छ । हाम्रो जस्तो समाजमा महिलाले गर्ने कामको मान्यता स्थापित हुन सकेको छैन । बैदेसिक रोजगारमा गएर उनीहरूले परिवार र राज्यलाई नै गरेको आर्थिक योदानको कदरको सट्टा विभिन्न लाञ्छना लगाइन्छ ।

अझ महिलालाई संरक्षणवादी दृष्टिकोणले हेर्ने नीति कानुनले कतिपय देशमा घरेलु कामदारको रूपमा जानलाई रोक लगाएको छ । फर्केर आएका महिलाहरूलाई यसले सहज गतिशीलतामाथि रोक लगाएको लाग्छ । उनीहरू भन्छन्, जानै नदिए पनि जाने क्रम रोकिएको छैन । बरू आफ्नो देशको श्रमिकहरूले कसरी सुरक्षित काम गर्न पाउने भन्ने बारे राज्यले काम गर्नुपर्छ ।    

ओरेक नेपालकी कोशी प्रदेश संयोजक सरस्वती दनुवारले ओरेकमार्फत बैदेशिक रोजगारीबाट फर्किएका महिलाहरूको सामाजिक र आर्थिक पुनःएकिकरणका लागि स्थानीय तहसँग पैरवी गर्दै संगठित गर्ने काम भैरहेको बताइन् ।

कुनै महिलालाई पनि बैदेशिक रोजगारी जान बाध्यकारी अवस्था  नहोस् भनेर त्यसको बिषयमा पैरवी गरिएको दनुवारको दाबी छ । दनुवारका अनुसार अभियान अन्तरगत मोरडका ५ वटा र सुनसरीको बराहक्षेत्र–२ मा वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरूको समूह बनाएर काम भएको छ । 

वैदेशिक रोजगारीमा बढ्दो महिला

केही दशक पहिलासम्म चूल्होचौकामा मात्र सीमित हुने महिलाको श्रम र सीप अहिले विश्व बजारमा सजिलै बिक्न थालेका छ । उनीहरू घरभित्र मात्र सीमित छैनन् । विश्वका थुप्रै देशमा पुगेर आर्थिक अवस्था बलियो पार्न प्रयासरत छन् ।

वैदेशिक रोजगारीमा जाने महिलाको दक्षता, अनुभव र सीप कम भएका कारण उनीहलाई वैदेशिक रोजगारी भने थप चुनौतीपूर्ण र सकसपूर्ण बनेको छ । बिभिन्न तथ्याड्कले देखाए अनुसार दैनिक करिब १५०० व्यक्ति वैदेशिक रोजगारीमा जाने गरेका छन् । 

वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७९–८० को प्रगति प्रतिवेदन अनुसार गतवर्ष सबैभन्दा धेरै महिला कामका लागि कतार, यूएई कुबेत लगायतका देशहरूमा रोजगारीको लागि गएको देखिन्छ । गत आर्थिक वर्ष माक्र वैदेशिक रोजगारीका लागि व्यत्तिगत श्रम स्वीकृतिको प्रमुख गन्तव्यमा कतार, साउदी अरब, युएई, मलेसिया र इजरायल देखिएका छन् । ती देशमा व्यक्तिगत रूपमा श्रम स्वीकृत लिनेमा ८० प्रतिशतभन्दा बढी महिला नै छन् । 

बैदेशिक रोजगार बिभागको गत आर्थिक बर्ष २०७९–८० को प्रदेशस्तरीय तथ्याड्क हेर्ने हो भने श्रम स्वीकृति लिनेमा मधेस प्रदेश पहिलो छ भने दोस्रोमा कोशी प्रदेश छ । मधेस प्रदेशबाट गत बर्ष १ लाख ८१ हजार ६ सय १३ ब्यक्तिले श्रम स्वीकृति लिएका थिए भने कोशी प्रदेशबाट १ लाख ६३ हजार १ सय ८ ब्यक्तिले बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । मधेश प्रदेशबाट श्रम स्वीकृति महिलाहरूमा ३ हजार ६ सय २३ छ भने कोशी प्रदेशबाट २२ हजार ४२ महिलाले श्रम स्वीकृति लिएका छन् । 

कानून छ कार्यान्वयन छैन

नेपालको संविधान, २०७२ को धारा ५१ (राज्यका नीतिहरू) को (झ) (६) मा वैदेशिक रोजगारीबाट आर्जन भएको पुजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने संवैधानिक व्यवस्था छ । वैदेशिक रोजगार नीति, २०६८ मा वैदेशिक रोजगारीबाट फर्की आएका कामदारहरूको सीप तथा बचतलाई उद्यमशीलता प्रवर्द्धधनमा परिचालन गरी देश विकास तथा गरिबी निवारण गरिने भनिएको छ ।

फर्किआउने कामदारहरूको लागि प्रभावकारी आर्थिक तथा सामाजिक पुनः एकीकरण प्याकेज सञ्चालन गरिने  र अनुभवलाई अभिमुखीकरण, सीप परीक्षणमा उपयोग गरिने नीतिगत व्यवस्था रहेको छ । यस्तै ब्यवस्था स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ ‘थ’ मा उल्लेख छ ।

१५ औ योजनाले आप्रवासनबाट मौद्रिक विप्रेषण मात्र नभई फर्कने आप्रवासीहरूको सामाजिक आर्थिक विकासका लागि सामाजिक पुँजीको रूपमा सीप, प्रविधि र अनुभवलाई उपयोग गर्नु पर्नेमा जोड दिएको छ ।

‘ग्लोबल कम्प्याक्ट फर सेफ, अडर्ली एन्ड रेगुलर माइग्रेसन, २०१८’ को उद्देश्य नं. २१ मा आप्रवासी कामदारहरूलाई सम्मानजनक फिर्ती, सुरक्षित स्वदेश फिर्ता र दिगो पुनः एकीकरणमा सहजीकरण गर्न प्रतिबद्ध रहने उल्लेख छ ।

नेपालीहरू कामको खोजीमा देशबाहिर जान थालेको तीन दशक भन्दा लामो समय भइसकेको छ, तर नेपाल सरकारसाग आप्रवासन महिलाहरूको अवस्था त टाढाको कुरा, अझैपनि कति ब्यक्ति बैदेशिक रोजगारीबाट फर्किए भन्ने यकिन तथ्याङ्कसमेत छैन ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पोखरेल प्रदेशको आफ्नै श्रम तथा रोजगार नीति सम्वन्धि मस्यौदा बनिसकेको बताउँछन्  । उनका अनुसार प्रदेश सरकारको नीति बनाउनलाई आर्थिक मामिला मन्क्रालय र आन्तरिक मामिला मन्त्रालयको राय लिने त्रममा  छ । चाँडै नै श्रम तथा रोजगार नीतिले पूर्णता पाउने उनको दाबी छ । 

पुनर्स्थापनाको आवश्यकता

वैदेशिक रोजगारबाट फर्केका कामदारहरूले विदेशमा सिकेको सीप, आर्जन गरेको पुँजी र अनुभवलाई स्वदेशमा सामाजिक, आर्थिक क्षेत्रमा लगाएर उनीहरूलाई पुनर्स्थापना गर्न नसक्दा लाखौ श्रमिकहरू अन्योलमा छन् ।

धेरै महिला श्रमिक बारम्बार जोखिम मोलेर बैदेशिक रोजगारीमा होमिन बाध्य छन् । वैदेशिक रोजगारमा गएका कामदार स्वदेश फर्किने अनि फर्किएपछि उनीहरूलाई सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक क्रियाकलापमा कसरी सक्रिय बनाउने भन्ने बिषय अहिले गम्भीर समस्याको रूपमा देखिएको  वैदेशिक रोजगारीबाट फर्किएका ब्यक्तिको पुनः एकीकरण परियोजना (रेमी) की सामाजिक पुनर्स्थापना विज्ञसपना थापा बताउँछिन् ।

सुरक्षित आप्रवासन कार्यक्रम सामीकी कोशी प्रदेश ब्यवस्थापक कोकिला ढकाल वैदेशिक रोजगारीबाट फर्किएका ९५ प्रतिशत भन्दा वढी महिलाहरू कुनै न कुनै किसिमको मानसिक समस्याबाट गुज्रिरहेको बताउँछिन् ।

सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत सञ्चालनमा आएका आप्रवासी स्रोत केन्द्रबाट महिलाहरूको लागि मात्र भनेर छुट्टै कार्यक्रम नभए पनि महिलालाई केन्द्रिकृत गरेर मनोपरामर्श लगायतका सेवा भने हरेक जिल्लामा आप्रवासी स्रोत केन्द्रहरूबाट उपलब्ध गराइरहेको उनी बताउँछिन् । 

के गर्न सकिन्छ ?

हजारौ सड्ख्या महिलाहरू भिजिट भिसा र  भारतको बाटो हुँदै   विभिन्न देशमा पुर्‍याइएका छन् । यसरी गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा जाने महिलाको सड्ख्याको  एकिन तथ्याङ्क कसैसँग पनि छैन ।  गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा जाने महिलाको तथ्यांक,  वैदेशिक रोजगारबाट फर्किआएका कामदारको तथ्यांक संकलन तत्काल राज्यले गर्न सक्छ ।

स्थानीय तहबाट बैदेशिक रोजगारीमा गएका र फर्किएका महिलाहरूको एकिन तथ्यांक संकलन गर्न सकेको खण्डमा आगामी दिनमा महिला कामदारले हासिल गरेको सीप, दक्षता, अनुभव अनुसार स्थानीयस्तरमै स्वरोजगारीका अवसर सिर्जना गर्न सकिन्छ । यसका लागि नेपाल सरकार एक्लैको प्रयासले भन्दा पनि विकास साझेदारहरूसाग मिलेर काम गर्दा प्रभावकारी हुने यस क्षेत्रमा काम गर्दै आएकाहरू बताउँछन्  । 

अन्त्यमा राज्यले महिलाको श्रमको मूल्याङ्कन हुने वातावरण निर्माण गर्न जरूरी छ । महिलाले सामाजिक आर्थिक उत्पादनमा पुर्‍याएको योगदान चिन्न जरूरी छ । राज्यले ल्याएका नीतिहरूमा समय सापेक्ष परिमार्जन हुनु पर्दछ ।

स्थानीय तहले स्वदेश फर्केका आप्रवासी र तिनका परिवारलाई  सामाजिक तथा आर्थिक विप्रेषण उत्पादनशील क्षेत्रमा सञ्चालन गर्न प्रोत्साहित गर्न सक्नुपर्छ । फर्किएका आप्रवासीहरूको पुनः एकीकरण व्यवस्थापनमा सहभागिता सुनिश्चित गर्न स्थानीय सरकारहरूलाई सक्षम बनाउनुपर्छ ।

hellowjunu@gmail.com

View : 368

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved