स्ववियू निर्वाचन आज
विराटनगर । राजनीतिक नेतृत्व निर्माणको पहिलो ‘भट्टी’ मानिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनअन्तरगत मोरङका ११ मध्ये ९ वटा क्याम्पसमा आज मंगलबार निर्वाचन हुँदैछ ।
राष्ट्रिय राजनीतिमा प्रभाव राख्दै मुलुककै सर्वोच्च तहमा पुग्ने दर्जनौ नेता जन्माइसकेको विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससहित यसपटक ११ वटा क्याम्पसले स्ववियुको नेतृत्व पाउने भएको हो । जसमध्ये दुईवटा क्याम्पस भने सर्वसम्मत भइसकेका छन् ।
महेन्द्र मोरङमा दल निकट विद्यार्थी संगठनका ६ सहित ७ जनाले सभापतिमा उम्मेदवारी दिएका छन् । ५ हजार ९८३ विद्यार्थी मतदाता रहेको जिल्लाकै सबैभन्दा ठुलो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा प्रमुख दल निकट विद्यार्थी संगठनहरू आ–आफ्नै प्यानलसहित उम्मेदवारी दिएका छन् ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व गर्दै अनिश बोगटीले प्यानलै उम्मेदवारी दिएका छन् । कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका दुईवटा प्यानल बनाएर उम्मेदवारी दर्ता गरे पनि निर्वाचन समितिले कांग्रेस संस्थापन समूहको समर्थन पाएका प्रज्वल बिष्टलाई आधिकारिकता प्रदान गरेको छ ।
नेता शेखर कोइराला पक्षका योगराज दाहालले समेत नेविसंघकै नाममा प्यानलै दर्ता गरेको उम्मेदवारीलाई निर्वाचन समितिले स्वतन्त्र उम्मेदवारीका रुपमा कायम गरेपछि विवाद भएको थियो ।
दाहालले उच्च अदालत विराटनगरमा महेन्द्र मोरङ क्याम्पसको निर्वाचन समितिसहित प्रमुख निर्वाचन अधिकृत, क्याम्पस प्रमुख र नेविसंघबाट सभापतिको उम्मेदवार कायम गरिएका बिष्टलाई समेत प्रतिवादी बनाएर आइतबार रिट समेत दायर गरेका थिए ।
निर्वाचन समितिले अवैधानिक रुपमा उम्मेदवारी कायम गरेको भन्दै परेको सो रिटमाथि भएको सुनुवाइपछि न्यायाधीश नरेशकुमार चौधरीको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि बुधबार छलफलमा झिकाउने आदेश दिएको छ । यद्यपि निर्वाचन भने एक दिनअघि नै हुँदैछ ।
नेविसंघको दाहाल समूहले मतदाता नामवलीमा धाँधली भएकोसमेत आरोप लगाएको छ । त्रिविविले कायम गरेकोभन्दा फरक मितिमा कलेज भर्ना गरेकालाई समेत मतदाता तथा उम्मेदवार बन्ने सुविधा दिएर धाँधली गरिएको उक्त समूहको आरोप छ ।
महेन्द्र मोरङ क्याम्पसमा मंगलबार हुने स्ववियु निर्वाचनको सबै तयारी पूरा भएको जनाइएको छ । अदालतको आदेशले निर्वाचनको कार्यक्रममा बाधा नपुगेका कारण शान्तिपूर्ण रुपमा निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।
महेन्द्र मोरङमा माओवादी निकट अखिल क्रान्तिकारीले भने अघिल्लो निर्वाचनमै पराजित बनेका रोहित यादवलाई यसपटक पनि पुनः सभापतिको उम्मेदवार बनाएको छ । यादवले प्यानलै उम्मेदवारी दिएर चुनावी मैदानमा बलियो दाबेदारी प्रस्तुत गरेका हुन् ।
महेन्द्र मोरङसहित डिग्री (स्नातकोत्तर) क्याम्पस, विराटनगर नर्सिङ क्याम्पस, लेटाङ क्याम्पस, सुकुना बहुमुखी क्याम्पस, पथरी बहुमुखी क्याम्पस, रमाइलो बहुमुखी क्याम्पस, बेलबारी बहुमुखी क्याम्पस र खदम क्याम्पस केराबारीमा मंगलबार निर्वाचन हुन लागेको हो । यी क्याम्पसमा कतै दुई पक्षीय त कतै त्रिपक्षीय प्रतिष्पर्धा हुने जनाइएको छ ।
३ हजार ६८२ जना विद्यार्थी मतदाता रहेको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसमा मुख्यतया एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघको प्यानल मुख्य प्रतिष्पर्धी बनेका छन् ।
अनेरास्ववियुसहित चारवटा अखिलको संयुक्त प्यानलबाट एलिश ओझा सभापतिको उम्मेदवार बनेका छन् । त्यस्तै नेविसंघबाट विजय ओझा सभापतिका उम्मेदवार छन् ।
डिग्री क्याम्पसमा एमाले निकट अनेरास्ववियुबाट निर्मल भण्डारी, नेविसंघबाट विजय बराल र माओवादी निकट अखिल क्रान्तिकारीबाट प्रितम साह सभापतिका उम्मेदवार बनेका छन् । एमाले निकट अखिलबाट सभापतिको उम्मेदवार बनेका भण्डारी एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका नेता हुन् । उनको संगठन क्याम्पसमा दर्ता नभएका कारण अनेरास्ववियुले भण्डारीलाई नै सभापतिमा अघि सारेर नेविसंघ र अखिल क्रान्तिकारीसँग प्रतिष्पर्धा तय गरेको हो ।
साढे दुई सय विद्यार्थी मतदाता रहेको विराटनगर नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी दीक्षा अधिकारी, नेविसंघबाट सुजिता खत्री र अखिल क्रान्तिकारीबाट रोहित ताजपुरिया सभापतिका उम्मेदवार छन् ।
लेटाङ बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट निशाल भुजेल र नेविसंघबाट लेखनाथ दाहाल सभापतिको उम्मेदवार बनेका छन् । यो क्याम्पसमा २१६ जना विद्यार्थी मतदाता रहेको जनाइएको छ ।
कानेपोखरीस्थित रमाइलो बहुमुखी क्याम्पसमा त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ । एमाले अखिलबाट उपेन्द्र पौडेल सभापतिको उम्मेदवार बनेका छन् । त्यस्तै नेविसंघबाट मनोज कार्की र अखिल क्रान्तिकारीबाट अनिश कार्की सभापतिको उम्मेदवार बनेका हुन् ।
बेलबारी बहुमुखी क्याम्पसमा भने अनेरास्ववियुबाट प्रशान्त पोखरेल र अखिल क्रान्तिकारीका कपिल बिष्टबीच प्रतिष्पर्धा निश्चित भएको छ । नेविसंघले उम्मेदवारी दर्ता नगरेका कारण यहाँ अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच प्रतिष्पर्धा हुन लागेको हो ।
मिक्लाजुङ बहुमुखी क्याम्पसमा नेविसंघबाट हेलिन आचार्य सभापतिको उम्मेदवार बनेका छन् । एमाले निकट अनेरास्ववियुको समर्थनमा यहाँ अखिल क्रान्तिकारीका सुजन घिमिरे प्रतिष्पर्धामा उत्रिएका छन् । एमाले अखिलले उपाध्यक्ष, सचिव र कोषाध्यक्ष लिएर क्रान्तिकारीलाई सभापति छाडेको जनाइएको छ ।
केराबारीस्थित खदम क्याम्पसमा एमाले अखिलका संगम कन्दङ्वा सभापतिको उम्मेदवार छन् । यहाँ अखिल क्रान्तिकारीका सिमान्त लुईंटेल पनि सभापतिमा लड्दैछन् । उपाध्यक्ष, सचिव र सहसचिवमा भने नेविसंघका उम्मेदवार सर्वसम्मत भइसकेको जनाइएको छ । खदम क्याम्पसमा ९१ जना विद्यार्थी मतदाता रहेका छन् ।
उर्लाबारी र पथरीमा भागबण्डाबाट सर्वसम्मत
मोरङका दुईवटा क्याम्पसमा भने विद्यार्थी संगठनहरूले भागबण्डाबाट सर्वसम्मत नेतृत्व चयन गरेका छन् । उर्लाबारी बहुमुखी क्याम्पस र पथरी बहुमुखी क्याम्पसमा नेविसंघको नेतृत्वमा अनेरास्ववियु र अखिल क्रान्तिकारी लगायत भागबण्डामा नेतृत्व टुंग्याएका हुन् ।
उर्लाबारीमा नेविसंघका पोषण आचार्य र पथरीमा केशर थुलुङ सर्वसम्मत सभापति चयन भएको जनाइएको छ । उर्लाबारीमा अनेरास्ववियुले उपाध्यक्ष र सचिव लिएर नेविसंघले नेतृत्व छाडेको हो ।
क्रान्तिकारीको भागमा कोषाध्यक्ष परेको जनाइएको छ । यहाँ तीनवटै विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गराइसकेपछि नेतृत्व सर्वसम्मत बनाउने पहल सुरु भएको थियो । लामो प्रयासपछि सर्वसम्मत गरिएको स्ववियु नेतृत्वको घोषणा मंगलबार हुने जनाइएको छ ।
View : 304
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved