स्व. कमल कोइराला ।
विराटनगर । कमल कोइराला खासमा राजनीतिक प्राणी थिए । तर, अहिलेको चल्तीका ‘नेता’ हरू जसरी उनी त्यही भूमिकामा मात्रै खुम्चेर कहिल्यै बसेनन् । नजिकैबाट चिन्नेहरू भन्छन्, ‘उनले चिन्तामुक्त जिन्दगी बाँचे । जति बाँचे, शानदार जीवन बाँचे ।’
वि.सं २०५१ पछि उनको नामका पछिल्तिर पूर्व सांसद्को फुर्को सदा जोडियो । पूर्व राजदूतको पदवी पनि कमल कोइरालाको एउटा पहिचान थियो । यसबाहेक उनी एक काविल कानुन व्यवसायी थिए, सक्रिय पत्रकार र एक जना सिद्धहस्त लेखक पनि थिए ।
यसरी राजनीतिज्ञदेखि लेखक–पत्रकारसम्मको भूमिकामार्फत एउटा अग्लो र बेदाग छवि निर्माण गरेका कमल कोइराला आइतबार साँझदेखि भौतिक रूपमा विगत भएका छन् । काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारकै क्रममा कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ ।
त्यसो त कमल कोइराला आफै पनि उच्च राजनीतिक उपलब्धि हासिल गरेका पात्र थिए । सांसद, राजदूत भइसकेका व्यक्ति थिए । सँगै उनी दुईपटक मुलुकको प्रधानमन्त्री भएका मातृकाप्रसाद कोइरालाका छोरा थिए । नेपाली राजनीतिका शिखर व्यक्तित्व मानिने बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाका भतिजा थिए । यो विराट व्यक्तिगत र पारिवारिक विरासतको बोझबाट उनी सदा मुक्त देखिन्थे ।
विराटनगर होस् या काठमाडौं ठमठमी हिँडेर मान्छे भेटिरहने, नयाँ पुस्तक खोजिरहने स्वभाव थियो उनको । सदा सडकमै भेटिइरहने, अखबारहरूमा लेखिरहने अनि साथीभाइ भेटिरहने उनै कमल कोइराला अब कहिल्यै कसैलाई नभेट्ने गरी बिदा भएका छन् ।
विराटनगरको कोइराला परिवार भन्नेबित्तिकै जोडिने मुख्य विशेषताहरूमध्ये त्यो परिवारले लोकतन्त्र स्थापनाका खातिर गरेको योगदान त स्मरण हुन्छ नै, राजनीतिक रूपमा कांग्रेस पनि सँगै जोडिन आइपुग्छ । त्यही परिवारको सदस्य भएर पनि कमलले भने राजनीतिक यात्रामा फरक बाटो रोजेका थिए । अर्थात् कोइराला परिवारका एक्ला कम्युनिष्ट थिए उनी ।
बहुसंख्यक कोइरालाहरूको पार्थिव शरीरमा चारतारे झण्डा ओढाइँदा कमलको पार्थिव शरीरमा सोमबार हसियाँ हथौडा अंकित झण्डा ओढाइयो । नेकपा एकीकृत समाजवादीको सल्लाहकारको भूमिकामा रहेका उनलाई अन्तिम श्रद्धाञ्जलि प्रकट गर्न पनि आलोकनगरस्थित एकीकृत समाजवादी कार्यालयको परिसरमै राखिएको थियो ।
‘विराटनगरको कोइराला परिवारका सदस्य कम्युनिष्ट भएको कुराले नै हाम्रा लागि कमल दा’ चाखलाग्दो र आकर्षणको पात्र हुनुहुन्थ्यो’ , २०२१–२२ सालतिरका दिनहरूको सम्झना गर्दै राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलले भने ‘त्यही आकर्षण र चाखले म उहाँलाई भेट्न फारबिसगञ्ज पुगेको थिएँ ।’
कोइराला परिवारमा जन्मिएका कारण कमल कोइराला पूरापूर राजनीतिक माहोलमा हुर्किए । बुबा मातृकाप्रसाद र काका विशेश्वरप्रसाद कोइरालाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा उनी पनि राजनीतिक रूपमा तिखारिँदै थिए ।
उपल्लो राजकीय जिम्मेवारी सम्हालिरहेको कांग्रेस उच्च नेतृत्वको सन्तान भएकाले उनलाई सानैमा राजकीय नोकझोकबारे थोरबहुत जानकारी भइसकेको थियो । तर, राजनीतिक यात्रामा उनले परिवारले हिँडेको भन्दा फरक बाटो रोज्नुको कारणले कौतुहल सिर्जना गर्ने पोखरेल बताउँछन् ।
त्यसबेला कमल कोइरालासहितका नेताहरू विराटनगर नजिकैको भारतीय बजार फारबिसगञ्जमा निर्वासित जीवन बिताइरहेका थिए ।
‘उहाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो, म पूर्वी कोशी प्रान्तीय कमिटीमा थिएँ, यता पार्टीका नयाँ निर्णयहरूको दस्तावेज उहाँलाई पुर्याउन म कुरियरको भूमिकामा गएको थिएँ’, पोखरेलले भने ‘त्यही बेलादेखि संगत भएको कमल दा’ सँग सदा आत्मीय र निकट सम्बन्ध रह्यो ।’
प्राध्यापक पोखरेलले आफ्नो पुस्तक ‘फर्केर हेर्दा’ मा कमल कोइराला किन कम्युनिष्ट भए भन्नेबारे उल्लेख गरेका छन् । लामो संगतका क्रममा पोखरेलले कोइरालालाई धेरैपटक प्रश्न गर्थे, ‘त्यत्रो कांग्रेस परिवारको छोरो कसरी कम्युनिष्ट बन्नुभयो कमल दा ?’
कोइराला एउटा हिन्दी सायरीको सहारा लिएर पोखरेललाई जवाफ दिन्थे । त्यो सायरीको सार थियो, ‘बनिबनाएको लिकमा त कि गाडी गुड्छ, कि कायर हिँड्छ । लिक छोडेर हिँड्ने आँट त कि सायरमा, कि सिंहमा कि सपुतमा हुन्छ ।’
उनले सधैंभरी फरक लिकमा हिँड्ने आँट देखाए । पोखरेलका अनुसार कोइराला परिवार राजनीतिक रूपमा खुला र र सुसंस्कृत थियो । त्यसैले उनलाई फरक राजनीतिक आस्थाले कहिल्यै असहज बनाएन ।
कमल कोइराला आफैले पनि बारम्बार दोहोर्याएका छन् ‘राजनीति विचारबाट निर्देशित हुन्छ र परिवार गृहस्थको अर्कै व्यवहारिक सिद्धान्त हुन्छ । सिंगै परिवार मुलुकको कांग्रेसी राजनीतिको केन्द्र हुँदा पनि मलाई त्यसले कुनै असर पारेन । बरू मैले कम्युनिस्ट राजनीति आत्मसात गरेर यहाँसम्म आइपुग्दा गौरव महसुस गरेको छु ।’
उनी भन्थे ‘पारिवारिक जीवन र राजनीतिक विचारको भेदले दैनन्दिन मलाई असर पारेनन् तर, केही यस्ता सम्झनाहरू मसँग छन् त्यसलाई आज विश्लेषण गर्दा मेरो परिवारमा सहिष्णु राजनीतिक संस्कार मौलाउने ठाउँ थियो भन्ने लाग्छ । म आफू कम्युनिस्ट भएर आफ्नै फुपूकी छोरीसँग चुनाव लड्दा र त्यसबेला आफ्नै भाइले पनि मलाई होइन बहिनी शैलजालाई जिताउन प्रचार गरेको सम्झँदा परिवारको भन्दा विचारको नाता बलियो पाएँ ।
न म कम्युनिस्ट भएबापत परिवारका कसैले विरोध गरे न त मैले नै चुनावमा परिवारले मलाई सघाइदिए हुन्थ्यो जस्तो गरेँ । एउटै चुल्होमा पाकेको खाना खाएर म कम्युनिस्टको राजनीतिमा सक्रिय हुन्थें र अरू सबै कांग्रेसको राजनीतिमा सक्रिय हुन्थे ।’
उनी २०४८ मा शैलजासँग पराजित भए भने २०५१ को मध्यावधि निर्वाचनमा भने विजेता बनेका थिए । त्यसबेला उनले कांग्रेसका डा. श्यामलाल तबदारलाई पराजित गरेका थिए । वरिष्ठ अधिवक्ता देवीबहादुर घिमिरेका अनुसार लामो समय विराटनगरमा भरतमोहन अधिकारीसँग मिलेर ‘कोशी ल फर्म’ मार्फत वकालत पनि गरेका कोइरालाको बढ्ता रूचि राजनीतिमै थियो । त्यही रूचिले उनलाई जीवनभर सक्रिय तुल्याएको उनको भनाइ छ ।
बुबा मातृकाप्रसाद प्रधानमन्त्री भएकै बेला १८ वर्षको उमेरमा सडक आन्दोलनबाट उनी समातिएका थिए । आफ्नै बुबा नेतृत्वको सरकारविरूद्ध सडकमा आन्दोलन गर्ने पात्र थिए कमल कोइराला । उनी नेपाल कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशनदेखि नै सक्रिय थिए ।
नेकपा माले र नेकपा माक्र्सवादी एकतापश्चात केन्द्रीय कमिटीको सदस्य रहेका कोइराला पछि सल्लाहकार समितिको सभापति, प्रतिनिधिसभामा राज्यव्यवस्था समितिको सभापति र दक्षिण कोरियाका निम्ति राजदूत पनि बनेका थिए ।
कोइरालाले बनारस हिन्दू विश्वविद्यालयबाट बीए र गोरखपुर विश्वविद्यालयबाट एलएलबी गरेका थिए । सन् १९६९ मा बिहे गरिएकी श्रीमती धनदेवी कोइराला दुई दशकअघि नै बितिसकेकी छन् । उनका छोरा डा. कञ्चन कोइराला अमेरिकामा र छोरी ऋचा कोइराला नेपालमै बसोबास गर्छिन् ।
उनै छोरा डा. कञ्चनको निमन्त्रणामा गत शुक्रबार अमेरिका जाने तयारी गरिरहेकै बेला पाँच दिनअघि कोइरालालाई पक्षघात भएको थियो । पाँच दाजुभाइमध्येका माहिला कमलका दाजु विमल र भाइहरू विजय, सञ्जय र दिदीबहिनीहरू सविता र कविता थिए । उनका दुवैजना दिदीबहिनीको निधन भइसकेको छ ।
कोइराला स्वयम्ले अन्तचरवार्ताहरूमा उल्लेख गरे अनुसार त्रिचन्द्र कलेजबाट औपचारिक रूपमा उनको राजनीतिक जीवनको आरम्भ भएको थियो । २०११ सालतिर त्रिचन्द्र कलेजमा आइए पढ्दै गर्दा जनअधिकार सुरक्षा समितिमार्फत भएको विरोध प्रदर्शनमा सहभागी हुँदा उनी पहिलोपटक पक्राउ परेका थिए । त्यसबेला निषेधाज्ञा उलंघन गरेर प्रदर्शन गरेपछि प्रहरीले समाएर एक हप्तासम्म नख्खु जेलमा राखेको थियो ।
‘एक हप्तापछि घर जाँदा बुबा मसँग बोल्नु भएन । एकतातिर कम्युनिष्ट पार्टीमा लागेको मन नपरेको, अर्कोतिर पढ्ने बेला आन्दोलनमा हिँड्यो भनेर बुबा मसँग ठुस्किनुभएको थियो’, कोइरालाले भनेका छन् ‘तर, मुखै फोरेर केही भन्नु भएन । आमालाई लगाएर, ‘पढ्ने बेला आन्दोलनमा लाग्यो’ भन्नुभएछ । म कम्युनिष्टमा लागेको थाहा पाएपछि करिब दुई महिनासम्म बुबा मसँग बोल्नु भएन । त्यसपछि बिस्तारै सामान्य हुँदै गयो ।’
काठमाडौंमा पहिलो पटक जेल परेपछि मातृकाप्रसादले उनलाई आइए पढ्न इलाहावाद पठाएका थिए । उनले बनारस युनिभर्सिटीबाट बिए पास गरे ।
उनी इलाहावादमा एमए पढ्दै थिए नेपालमा २०१७ सालको काण्ड भयो । तत्कालीन राजा महेन्द्रले बहुदलीय प्रजातन्त्र खोसे । ‘म त्यतिबेला अखिल भारत नेपाली विद्यार्थी फेडेरेसनको महामन्त्री थिएँ । विद्यार्थी फेडेरेसनमा सबै पार्टी निकट विद्यार्थीहरूको उम्मेदवारी पर्थ्यो ।
त्यतिबेला वामपन्थीहरूको वर्चस्व आयो फेडेरेसनमा’, एक अन्तरवार्तामा कोइरालाले भनेका छन् ‘नेपालबाट बीपी गएर फेडेरेसनको अधिवेशन उद्घाटन गर्नुभएको थियो । म महामन्त्री भएको केही दिनपछि महेन्द्रले ‘कु’ गरे । महेन्द्रलाई भारतको समर्थन थियो, यता सम्पत्तिको मोह भएका व्यक्तिहरूले राजालाई समर्थन गरेका थिए ।’
View : 110
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved