विराटनगर । नेपालको सीमा जोडिएको भारतको बिहार राज्यको पूर्णियामा नेपाल भारत साझेदारी शिखर सम्मेलन, २०२५ हालै सम्पन्न भएको छ । ‘छिमेकीसँगका सहकार्यलाई तिव्रता’ विषयमा आधारित उक्त सम्मेलनमा नेपालका तर्फबाट नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेशले सहभागिता जनाएको छ ।
सम्मेलनको आयोजना भने सब-हिमालयन रिसर्च इन्सटिच्यूट, नेपाल भारत सेन्टर र पी एच डी च्याम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज नयाँदिल्लीले गरेको हो । सम्मेलनमा नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष मुकेश उपाध्यायले जानकारी दिएका छन् ।
उनका अनुसार, जवाहरलाल नेहरु विश्वविद्यालयका ट्रस्टी प्राध्यापक मनिन्द्रनाथ ठाकुरको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा विशिष्टि वक्ताहरूमा नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष मुकेश उपाध्याय, सब-हिमालयन रिसर्च इन्स्टिच्युटका अध्यक्ष प्रा.रत्नेश्वर मिश्रा, नेपाल भारत सेन्टर र पी एच डी च्याम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजका सचिव अतुल ठाकुर, पूर्णिया विश्वविद्यालयका उपकुलपति प्रा.पवनकुमार झा थिए ।
नेपालबाट सम्मेलनमा सहभागी भएका नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष मुकेश उपाध्यायका अनुसार, सम्मेलनमा नेपाल भारतबीचको आपसी सम्बन्धका विषयमा छलफल भएको छ । सम्मेलनमा नेपाल भारत आपसी सम्बन्ध, नागरिकहरूबीचको सम्बन्ध, वातावरणीय सहकार्य र सामूहिक विपद् व्यवस्थापन, आर्थिक अन्तरनिर्भरता तथा व्यापार, नेपाल भारत द्विपक्षीय सहकार्यमा तिव्रता, नेपाल भारतको औद्योगिक विकास प्रवर्द्धन, व्यापार नीतिको पुनरावलोकन र सीमा क्षेत्रहरूको विकास आदि विषयमा वक्ताहरूले धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा सब-हिमालय रिसर्च इन्स्टिच्यूट तथा विद्या विहार इन्स्टिच्यूट अफ टेक्नोलोजी र नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेशबीच आपसी सम्बन्धका विविध विषयहरूको समझदारीपत्रा हस्ताक्षर भएको छ । निकट भविष्यमा सोही प्रकारको सम्मेलन विराटनगरमा गर्ने नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष उपाध्यायले जानकारी दिएका छन् ।
View : 127
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved