Biratnagar, Morang, Nepal
२५ चैत २०८१, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

इण्डो नेपाल क्रिकेट : उद्घाटन खेलमा होराइजनको जित

उद्‌घोष सम्वाददाता
२४ चैत २०८१, आइतवार

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता विराटनगरको जुटमिट खेलमैदानमा सुरू भएको छ । 

शनिबार भएको उद्घाटन खेलमा घरेलु टिम विराटनगरको होराइजन क्रिकेट क्लबले पाहुना टोली प्रशान्त क्रिकेट क्लब जोगवनीलाई १०७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको होराइजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाई २१९ रनको विशाल स्कोर बनाएको थियो । 

२२० रनको विशाल लक्ष्य पछ्याएको प्रशान्त क्रिकेट क्लब जोगवनीले दबाबमा परेर मात्र १४.१ ओभरमा सबै विकेट गुमाई ११२ रनमा अलआउट भयो । 

आइतबार दुई वटा खेलहरू हुने छन् । पहिलो खेल भारतको दिल्ली युथ क्लब र फार्मेन्स क्रिकेट एकेडेमी पटनाबीच हुनेछ भने दोस्रो खेल सिराहा जिल्ला क्रिकेट क्लब र डिजायर क्रिकेट क्लब पूर्णिया भारतबीच हुने आयोजकले जनाएको छ ।

आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्ता श्रेष्ठका अनुसार प्रतियोगितामा विजेता टिमले २ लाख १ हजार नगद पुरस्कारसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । 

प्रतियोगिताभर सर्वाधिक उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द टुर्नामेन्ट’ घोषणा गरी २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

यसका साथै प्रतियोगिताको सर्वाधिक रन बनाउने ‘बेस्ट ब्याटर’ र सर्वाधिक विकेट लिने ’बेस्ट बलर’लाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । 

चौथो संस्करणको यस प्रतियोगितामा नेपालका ६ र भारतका ६ गरी कूल १२ टिमहरूको सहभागिता रहेको छ ।

View : 57

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved