सुनसरी । चराको राजधानी भनेर चिनिने कोशीटप्पुमा ३८ वर्षदेखि जलपंक्षी गणना हुँदै आएको छ । गणनाका क्रममा चखेवा र खोयाहाँसका झुण्डहरू फेला परेका छन् ।
शुक्रबारबाट सुरु भएको गणनाका क्रममा सबै भन्दा बढी चखेवा भेटिएको हो । यो पंक्षी जोडी मर्यो भने चारो नखाई आफू पनि मर्ने गरेको बताइन्छ । कोशी नदीमा जलपंक्षीमा सबै भन्दा बढी चखेवा देखिएको कोशी पंक्षी समाजका पूर्वअध्यक्ष अनिष तिम्सिनाले बताए । यस्तै खोयाहाँस पनि उल्लेख्य मात्रामा पाइएको गणकहरूले बताएका छन् ।
पहिलो दिन ४७ वटा खोयाहाँसको झुण्ड एकै ठाउँमा फेला परेको थियो । नदीमा ढुङ्गाबाट गणना गर्ने क्रममा सो झुण्डले गणकहरूको माथिबाट दुई फेरा लगाएको थियो । हिउँद महिनामा जाडो छल्न साइबेरियादेखि आउने यो पानीहाँस प्रजातिको ठुलो आकारको चरा सगरमाथाको उचाइ भन्दा माथिबाट उड्ने गरेको चराविद्हरू बताउँछन् ।
यस्तै शनिबार गणनाको दोस्रो दिन कोशी टप्पु वन्यजन्तु आरक्ष भित्र नदीमा दुई सय भन्दा बढीको संख्यामा खोयाहाँस फेला परेको छ ।
कोशी पंक्षी समाजको अगुवाइमा कोशी टप्पु वन्यजन्तु आरक्ष, नेपाली सेना र चराविद्हरूको सहभागितामा चरा गणना हुँदै आएको छ । कोशी टप्पुमा बर्सेनि चराको प्रजाति र संख्या घट्दो क्रममा छ ।
कोशी नदी र आसपासमा मानवीय अतिक्रमणले युरोपदेखि जाडो छल्न र बच्चा कोरल्न आउने चराको संख्या कोशी क्षेत्रमा कम हुँदै गरेको छ । नदीमा सरकारको चासो नहुने भएकाले पनि माछा मार्ने, चौपाया चराउने र नदीमा दाउरा निकाल्नेहरूले बाक्लो उपस्थिति हुन्छ । जसका कारण स्थानीय रैथाने जलपंक्षी पनि कम हुँदै गएको छ ।
कोशी नदीमा २२ प्रजातिका हाँस प्रजातिका चरा पाइने गरिएकोमा प्रजाति पनि कम हुँदै गएको चरा गणकहरू बताउँछन् ।
चराको अध्ययन र अवलोकनका लागि विश्वका बिभिन्न देशबाट पर्यटकहरू कोशी टप्पु आउने गरेका छन् । कोशीमा बर्सेनि चराको संख्या घट्नुले देशकै चर्चित चराको अस्थायी बासस्थान कोशी टप्पु आसपासका बासिन्दा चिन्ति छन् ।
चरा अवलोकन गर्न बिभिन्न देशबाट मानिस आउने भएकाले कोशी आपसासको क्षेत्रका मानिसको आयआर्जन बढेको स्थानीय लोकबहादुर बुढाथोकी बताउँछन् ।
बाहिरबाट आउने चरा अवरोध नहुने ठाउँमा जाने भएकाले कोशी ब्यारेजको दक्षिण (भारत) तर्फ बढी पाइने गरेको छ । उत्तरबाट उडेर आउने चरा मानिसको चहलपहल देखेर ब्यारेजको दक्षिण तर्फ उत्रिने गरेका छन् ।
चराले नै संसारमा नाम चलेको कोशी टप्पुमा मानिसको अवरोध रोक्न तीनै तहको सरकारले चासो लिनुपर्ने पंक्षी समाजका अध्यक्ष चक्र तिम्सिना बताउँछन् । उनका अनुसार, युरोपदेखि उडेर जाडो छल्न आउने चराका कतिपय प्रजातिले बच्चा कोरलेर लैजाने गरेका छन् । बच्चा हुर्काएर फर्कने क्रममा अवरोध नभए ती बच्चा बयस्क भएर अर्को वर्ष यस क्षेत्रमा आउँछन् ।
वन्यजन्तु आरक्षभित्रको क्षेत्रमा पनि मानिसको चहलपहल उत्तिकै हुने गरेको छ । ठुलो क्षेत्रमा नदी फैलिएकाले सुरक्षामा रहेको नेपाली सेनाबाट पनि लुकेर माछा मार्नेहरूको आवत जावत हुने गरेको छ ।
आरक्षभित्र कोशीमा माछा मार्नेलाई नियन्त्रण गर्न खोज्दा मन्त्रीसम्मको दवाब आउने गरेको चराप्रेमी प्रेम थुलुङको भनाइ छ ।
आरक्षभित्रको सुरक्षाको जिम्मेवारी कोशी टप्पु वन्यजन्तु आरक्ष प्रशासन र नेपाली सेनालाई छ ।
विश्वमा पाइने चरामध्ये नेपालमा ८ सय ९२ प्रजातिका पाइन्छन् । त्यसमध्ये कोशी टप्पुमा मात्रै ५ सय ३५ प्रजातिका पाइन्छन् । कोशीटप्पुमा ५ दिन लगाएर चरा गणना गरिन्छ ।
हिउँदमा चिसो बढेसँगै चराले बसाइँसराइ गर्ने भएकाले एसियाका देशहरूमा हरेक वर्ष जनवरी ४ देखि १९ सम्ममा जलपंक्षीको गणना हुने गरेको छ ।
View : 434
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved