Biratnagar, Morang, Nepal
१५ वैशाख २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

शिक्षक आन्दोलन नरोकिने संकेत, निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीद्वारा लाठीचार्ज

उद्‌घोष सम्वाददाता
१४ वैशाख २०८२, आइतवार

काठमाडौं । गत चैत २० गतेदेखि सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले जारी राखेको सडक आन्दोलन चर्किंदै गएको छ । आइतबार शिक्षकहरू २६ औं दिनको आन्दोलनमा छन् ।

आन्दोलनका क्रममा शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरी लाठी चार्ज र पानीको फोहोरा हानेको छ । करीव दुई दर्जन शिक्षकहरू घाइते भएको जनाइएको छ । 

सरकार र शिक्षक प्रतिनिधिहरूबीच वार्ताको प्रयास भएपछि कुनै ठोस सहमति हुन सकेको छैन । शिक्षकहरूले सरकारसँग वार्ता जारी राख्दै आन्दोलन पनि चर्काएका हुन् । 

आन्दोलनको नेतृत्व नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले गरेको छ । उनीहरूले २०२८ सालको शिक्षा ऐन विस्थापित गरी संघीय संरचनाको नयाँ शिक्षा ऐन माग गर्दै आन्दोलन गरेका हुन् ।

शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयको नतिजा प्रकाशन समेत हुन सकेको छैन । त्यस्तै शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियानमा शिक्षकहरू सहभागी नहुँदा अभियान नै असफल भएको छ ।

आन्दोलनकै कारण शिक्षकहरुले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सकिएको एक महिना हुँदा समेत उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण गरेका छैनन् । 

कक्षा १२ को वार्षिक परीक्षा समेत आन्दोलनका कारण प्रभावित भएको छ । 

शिक्षकको आन्दोलन चलिरहेकै बेला सर्वोच्च अदालतले शिक्षकहरूका माग तीन दिनभित्र पुरा गर्न र शिक्षकहरूलाई समेत आन्दोलनबाट विद्यालय फर्किन निर्देशनात्मक आदेश गरेको छ । 

तर सरकारले माग सम्बोधन नगरेपछि शिक्षकहरूले आन्दोलन चर्काएका छन् । 

शिक्षक आन्दोलनले गर्दा ७० लाख जति बालबालिकाहरू पढ्न पाउने अधिकारबाट वञ्चित भएको जनाइएको छ । 

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले संघीय शिक्षा ऐन खल्तीमा लिएर मात्र घर फर्किने बताइरहेका बेला चालु बर्खे अधिवेशनमा शिक्षा विधेयक पेश गर्ने कुनै तालिका नरहेको जनाइएको छ ।

View : 145

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved