Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
साहित्य

गेंड सिंह बाबाको पूजा गर्दै बाँतर सरदार समुदायले मनाए माघे संक्रान्ति

उद्‌घोष सम्वाददाता
१ माघ २०८०, सोमवार

विराटनगर । देशैभरीका बाँतर सरदार समुदायले आफ्नो कुल देवता गेंडसिंह बाबाको पूजा गर्दै माघे संक्रान्ति पर्व मनाएका छन् । माघे संक्रान्तिका दिन उनीहरुले हरेक वर्ष आफ्नो कुल देवताको नाममा पूजाआजा गर्नुका साथै सुँगुर र खसीलाई बली दिएर यो पर्व मनाउने गरेका छन् । 

मोरङको कटहरी गाउँपालिका–५ भौडाहामा पनि सोमबार उनीहरुले भव्य कुल पूजा गरेका हुन् । मोरङमा माक्रै बाँतर सरदार समुदायको जनसंख्या ७० हजार जति रहेको जनाइएको छ । माघे संत्रान्तिका दिन आफ्नो टोलको सरदारको नेतृत्वमा कुल देवताको पूजा गर्ने गरेका हुन् ।

सरदारकै नेतृत्वमा घरको आँगनमा उनीहरुले तील, भुजा र चिउराको लड्डुसहित फलफूल राखेर आफ्नो कुल देवता गेंडसिंह बाबाको पूजा गर्ने गर्दछन् ।

बाँतर जातिका मानिसहरुको इष्टदेवता गेंडसिंह सरदार हुन् । उनी चामत्कारिक देवता रहेको बाँतर समुदायका मानिसहरुको विश्वास छ । पौराणिक कालमै बाँतर समुदायका मानिसहरुले शिकार खेल्ने क्रममा निलगाईको हत्या गरेपछि उनीहरुले त्यसको पापबाट मुक्ति पाउन गेंडसिंह बाबाको शरणमा पुगेर आराधना गरेको किम्वदन्ती छ । 

आराधनाका क्रममा सेतो कपडाले छोपेको निलगाईको टाउको गेंडसिंह बाबाकै चमत्कारले माघे संक्रान्तिकै दिने सुँगुरको टाउकोमा परिणत भएपछि उनीहरु गौहत्याको पापबाट मुक्ति भएकोले त्यस यता हरेक बर्ष बाँतर सरदार समुदायले यो पर्व मनाउने गरेको नेपाल बाँतर सरदार समाज कल्याणकारी समितिका केन्द्रीय सभापति मोहनलाल सरदारले बताए । सोही परम्परा अनुसार उनीहरुले परम्परा अनुसार सुँगुरको बली दिएर मोरङमा पनि पर्व मनाएका छन् ।

गेंडसिंह बाबाले आफ्नो समुदायलाई पापबाट मुक्त गरेको विश्वासका साथ आफ्नो पुर्खा ठानेर हरेक बर्ष यो पर्व मनाउने गरेको नेपाल बाँतर सरदार समाज कल्याणकारी समिति मोरङका अध्यक्ष एवं धनपालथान गाउँपालिका–५ का वडाध्यक्ष गयानन्द सरदारले जानकारी दिए ।

बाँतर समुदायले आफ्नो पुर्खाहरु उदयपुर जिल्लाको चौदण्डीगढी र उदयपुरगढी आसपास क्षेत्रमा बसोबास गर्ने झल्लु सरदार र उनीकी पत्नी भोगोदेवी सरदारका छोराका रुपमा जन्मिएका गेंडसिंह सरदार नै भएको विश्वास गर्दछन् ।

यस पर्वका दिन आफ्नो घर परिवारमा सुख शान्तिको कामना गर्ने र गेंडसिंह बाबाको पूजाआजा गरेपछि पकाइएको सुँगुर र खसीको मासुलाई प्रसादको रुपमा बाँड्ने चलन रहेको जनाइएको छ ।

View : 280

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved