Biratnagar, Morang, Nepal
५ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा नयाँ नेतृत्व छान्दै नेकपा एस

प्रतिस्पर्धा ‘रोकिने’ अधिवेशनमा आकांक्षीको लर्को

नेकपा एमालेबाट विभाजित हुँदै बनेको यो पार्टी पनि प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्ने मान्यता राख्छ । तर, चुनावी प्रतिस्पर्धा गराइदिन भने नेताहरू सँधै हच्किरहेको देखिन्छ ।
२७ चैत २०८१, बुधवार

इटहरी । नेकपा एकीकृत समाजवादीको पहिलो कोशी अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने पार्टीका शीर्ष नेताहरूले प्रदेश नेतृत्व ‘सर्वसम्मत रुपमा छान्नुपर्ने’ भन्दै प्रतिस्पर्धा रोक्ने प्रष्ट सन्देश दिएका छन् । 
नेताहरूले यस्तो निर्देशन दिइरहेकै बेला एकीकृत समाजवादी कोशीको अध्यक्ष पदमा भने आकांक्षीहरूको लर्को लागेको छ ।

पार्टीको पोलिटब्युरोमा रहेका नेताहरूदेखि केन्द्रीय समितिको जिम्मेवारीमा रहेकाहरूले नै नेतृत्वमा दाबी गरिरहेका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले मंगलबार सुनसरीको इटहरीमा उद्घाटन गरेको अधिवेशनको बन्दसत्र बुधबार सुरु हुँदैछ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालदेखि सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष जगन्नाथ खतिवडा, जयन्ती राई लगायतका नेताहरूले सहमतिमा नेतृत्व चयन गरेर कोशीले देशैभरी सकारात्मक सन्देश दिनुपर्ने बताएका छन् ।

नेकपा एमालेबाट विभाजित हुँदै बनेको यो पार्टी पनि प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्ने मान्यता राख्छ । तर, चुनावी प्रतिस्पर्धा गराइदिन भने नेताहरू सँधै हच्किरहेको देखिन्छ । केन्द्रीय महाधिवेशनमा पनि नेताहरू आफैले नेतृत्व चयन गरेको एकीकृत समाजवादीमा भर्खरै मोरङमा पनि नेताहरूले प्रतिनिधि घर पठाएर ६ दिनपछि पार्टी कार्यालयको भित्तामा नाम टाँसेका थिए ।

केन्द्रदेखि जिल्लासम्म यस्तो अभ्यास गरेको पार्टीको प्रदेश नेतृत्व चयनमा कस्तो अभ्यास होला ? पोलिटब्युरो सदस्य अशेष घिमिरेले भने ‘सहमतिमा नेतृत्व चयन सबैभन्दा उन्नत लोकतान्त्रिक विधि हो । सकेसम्म त्यही उन्नत विधिमार्फत नेतृत्व चयन हुन्छ । सहमति जुट्न नसकेको खण्डमा अपनाउनुपर्ने विधि पार्टीले अवलम्बन गर्नेछ ।’

शीर्ष नेताहरूले उद्घाटनको मञ्चबाटै सहमतिमा नेतृत्व छान्न भनिरहे पनि अध्यक्षका आकांक्षीहरूले नेतृत्वमा पुग्न अधिवेशनस्थलमा लविङ सुरु गरिसकेका छन् ।

एकीकृत समाजवादीको प्रदेश अध्यक्षका लागि चार जना नेताहरू दाबेदार छन् । पोलिटब्युरो सदस्य महेश रेग्मी, केन्द्रीय नेताहरू धर्मराज निरौला, सरिता खड्का र केशव बिष्ट अध्यक्षका दाबेदार छन् । 

अध्यक्षमा दाबी गरिरहेका चार जनामध्ये सुनसरीका निरौला प्रदेशको अहिले  उपाध्यक्ष पनि हुन् । उनले पार्टी प्रदेश हाँक्नलाई आफू सबै हिसाबले तयार रहेको बताएका छन् ।

एमालेमा छँदा सुनसरी पार्टीमा बलियो नेताको छवि बनाएका उनी एकीकृत समाजवादीमा अलि पछि जोडिएका नेता हुन् ।

अध्यक्षकै अर्का दाबेदार विराटनगरका महेश रेग्मी अहिले पार्टीको पोलिटब्युरो सदस्य तथा प्रदेशका सचिवसमेत हुन् । इमान्दार र लगनशील वाम नेताको छवि बनाएका उनले औपचारिक रुपमा अध्यक्षको दाबेदारीबारे बोलेका छैनन् । तर, पार्टी नेता तथा कार्यकर्ताहरू माझ उनले आफू प्रदेशको नेतृत्वमा जाने बताइरहेका छन् । 

अर्का दाबेदार केशव बिष्ट इटहरीका नेता हुन् । यसअघि राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव भइसकेका र पछिल्लो स्थानीय चुनावमा इटहरी उपमहानगरको उपमेयरमा पराजित उनी पनि अध्यक्षको दौडमा सामेल छन् । संखुवासभाकी सरिता खड्का प्रदेश अध्यक्षमा दाबी गर्ने अहिलेसम्मकी एक्ली महिला नेता हुन् । 

२०७४ मा एमालेबाट कोशी प्रदेशसभा सदस्य रहेकी खड्का २०७९ को प्रदेशसभा निर्वाचनमा भने झिनो मतान्तरले पराजित भएकी थिइन् । 

एकीकृत समाजवादीभित्र अध्यक्ष दाबी गरिरहेका नेताहरूलाई मनाएर उपाध्यक्ष, सचिव लगायतका पदमा मिलाउने सम्भावना कायमै भएकाले अन्य पदमा दाबी गर्नेहरू खुलिनसकेको नेताहरू बताउँछन् । बुधबार बिहान मात्रै बन्द सत्र सुरु हुने भएका कारण बिहानसम्ममा आकांक्षीहरूबारे थप विवरण खुल्ने उनीहरू बताउँछन् । 

अधिवेशन उद्घाटन कार्यक्रममा सहमतिमा नेतृत्व छान्न निर्देशन दिएका शीर्ष नेताहरूले निराश नभई अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह गरेका थिए । 

‘गएको चुनावमा हामीले सीट संख्या थोरै पाएकै हौं’, बहुसंख्यक नेताहरूले दोहोर्याएको वाक्य थियो ‘तर, चुनावमा अपेक्षित सफलता नपाए पनि हामीले राजनीति जितेका छौं । हाम्रो एजेन्डा हारेको छैन ।’ 

नेताहरूले आउँदो चुनावमा एक्र्लै प्रतिस्पर्धा गर्ने गरी पार्टी निर्माणमा लाग्न पनि कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

View : 241

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved