प्रेस चौतारीको १० औं महाधिवेशन सुरु
अध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेका राजेश राई र गणेश पाण्डे ।
विराटनगर । नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन आज आइतबारबाट विराटनगरमा सुरु हुँदैछ । महाधिवेशनको पार्टी महासचिव शंकर पोखरेलले केहीबेरमा उद्घाटन गर्दैछन् । यसअघि महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने चर्चा थियो । तर उनले महाधिवेशन उद्घाटनका लागि आफू नआई महासचिव पोखरेललाई पठाएका छन् ।
महाधिवेशन सुरु हुनुअघि नै चौतारीको अध्यक्षसहितका आकांक्षीहरू मैदानमा देखिन थालेका छन् । यद्यपि पार्टीका नेताहरूले अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम किटान गरिदिएपछि चौतारीभित्र तीव्र असन्तोष सुरु भएको छ । महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न भन्दै देशैभरीबाट विराटनगर आइपुगेका चौतारीका प्रतिनिधिहरू आफ्नो संगठनको नेतृत्व आफै छान्न पाइने हो कि नेताहरूले घोषणा गरेको नाममा समर्थनको ताली बजाउनुपर्ने हो भन्ने अन्योलमा देखिन्छन् । पार्टी नेताहरूले आफै चौतारीको नेता घोषणा गरिदिने तयारीको सुइँको पाएकाहरूले सार्वजनिक रुपमै यसको प्रतिवाद गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले महाधिवेशन सुरु हुनुअघि नै बालुवाटारबाट चौतारीको अध्यक्षसहितका पदाधिकारीको नाम किटान गरिदिएपछि असन्तोष चुलिएको हो । अध्यक्ष ओलीले भर्खरै मात्रै प्रचार विभाग सचिवमा नियुक्त भएका गणेश पाण्डेलाई अध्यक्ष बनाउनू भन्ने निर्देशन जारी गरेपछि उपाध्यक्ष राजेश राईले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । महाविधेशन प्रतिनिधिहरूको अधिकार छिन्नेगरी बालुवाटारबाट नेतृत्व चयन गरिनु र स्वीकार्नु दुवै गलत काम भएको भन्दै चौतारीका नेताहरूले नै असन्तोष प्रकट गरिरहेका छन् ।
रेडियोकर्मका ख्यातिप्राप्त सञ्चारकर्मी अमरध्वज लामाले शनिबार सामाजिक सञ्जालमार्फत यसको प्रष्ट संकेत गरेका छन् । चौतारीका नेतासमेत रहेका लामाले फेसबुकमा लेखेका छन् ‘कसैले टीका लगाएर पद दिन्छु भन्यो भने हैन हजुर म एक खेप चुनावै लडेर आउँछु भन्ने जवाफ भएन भने मान्नुस् तपाईले संगठन हाँक्ने गरी आफूलाई विकास गर्नुभएकै छैन । र, चुनाव ह“ुदा संगठन कमजोर हुन्छ भन्ने ‘न्यारेटिभ’ चाहिँ आफू कमजोर हुँदा अघि सार्ने अस्त्र मात्रै हो । बाँकी तपाई आफै बुझ्नुस् । हामी विराटनगर झर्दै छौं ।’
चौतारीभित्रको यो असन्तोषको बीऊ भने प्रधानमन्त्री ओली स्वयम्ले रोपेको यसका नेताहरूको भनाइ छ । अहिले अध्यक्ष दाबी गरिरहेका राई र पाण्डे दुवैले अध्यक्ष ओलीबाट आफ्नो नाम घोषणा होस् भन्ने चाहेका थिए । पहिले ओलीविरोधी कित्तामा रहेका तर पछिल्लो समय ओली खुसी पार्न जोडतोडले लागेका राईले सुरुमा सफलता पाएका पनि थिए । तर, ओलीले लगत्तै बोली र निर्णय फेरेपछि उनको प्रयास विफल भएको छ ।
बालुवाटारमै तोकियो अध्यक्षसहितका मुख्य पदाधिकारीहरू
चौतारी स्रोतका अनुसार गएको फागुन १६ गते प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले एमाले जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतलाई एकै ठाउँ राखेर प्रेस चौतारी नेपालको अध्यक्ष राजेश राई, उपाध्यक्ष हिरामान लामा र महासचिव चेतन अधिकारीलाई बनाउन निर्देशन दिएका थिए । त्यही दिन प्रचार तथा प्रकाशन विभागको सचिव गणेश पाण्डेलाई बनाउनू भन्ने निर्देशन ओलीले दिएका थिए ।
फागुन १८ मा बसेको पार्टी पदाधिकारी बैठकले गणेश पाण्डेलाई प्रचार सचिवमा मनोनित गर्याे । उनलाई प्रचार सचिव बनाउने निर्णयबारे वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रश्न गरेका थिए । पोखरेल आफू निकट पाण्डेलाई चौतारीको अध्यक्ष बनाउने लाइनमा थिए । उनले सचिव बनाउन नहुने बताएपछि ओलीले ‘अहिलेको आवश्यकता भएको भन्दै प्रेस चौतारी नेपालको अध्यक्ष राजेश राई, उपाध्यक्ष हिरामान लामा र महासचिव चेतन अधिकारी बनाउन’ निर्देशन दिएका थिए । लामा हालका महासचिव हुन् भने अधिकारी यसअघि ओली प्रधानमन्त्री हुँदा सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन् ।
तर चैत ६ को रातिपछि भने ओलीले एकाएक निर्णय फेरे । ‘६ चैतको रातिपछि एमाले सचिवालय बैठककै निर्णय उल्टियो’, चौतारीका नेताहरू भन्छन् ‘त्यसदिन बालुवाटार पुगेका जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई ओलीले त्यसरात गणेश पाण्डेलाई अध्यक्ष बनाएर आउन निर्देशन दिएका रहेछन् ।’ ओलीको सोही निर्देशनपछि उपाध्यक्ष राजेश राईले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए भने गणेश पाण्डेले प्रचार सचिवबाट राजीनामा दिदै उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्षमा दाबी पेश गरिरहेका राई र पाण्डेले उम्मेदवारी घोषणा गर्दा एकअर्काविरुद्ध कटाक्ष पनि गरिरहेका छन् । पाण्डेले राईलाई यसअघि कहिल्यै ओलीलाई साथ नदिएको, २०७७ को महासंघ निर्वाचनमा चौतारीका उम्मेदवार हराउन भूमिका खेलेको लगायतका आरोप लगाइरहेका छन् भने राई र उनी पक्षका नेताहरूले पाण्डेको पृष्ठभूमिबारे नै प्रश्न उठाइरहेका छन् । लमजुङका पाण्डे शाहीकालमा राजाले गठन गरेको पत्रकार महासंघको समानान्तर समितिमा रहेर काम गरेका व्यक्ति हुन् । उनै पाण्डेले राईलाई ‘एमाले र नेतृत्वप्रति जिम्मेवार नभएको’ भन्दै सामाजिक सन्जालमार्फत कटाक्ष गरेपछि राईले पनि त्यसको उत्तर दिएका छन् ।
राईले सोधेका छन् ‘कसैले मेरो निष्ठामाथि प्रश्न गरेका रहेछन् । युग बदल्ने कठिन र भीषण आँधीबेहरीमा तपाईहरू को कता हुनुहुन्थ्यो ? समाज चिन्ने भएपछि म एक सेकेन्ड पनि नेकपा एमालेको झन्डा बाहिर गएको छैन ।’ यसरी महाधिवेशन सुरु हुनुअघि नै अध्यक्ष ओलीले चौतारीको नेतृत्व तोकिदिए पनि आफूहरू चुनावमा होमिने राई पक्षले बताउँदै आएको छ ।
पूर्वसमाजवादीहरूको सर्वसम्मत हुने दाउ
यता नेकपा एकीकृत समाजवादीनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनबाट रातारात चौतारीमा प्रवेश गरेका विश्वमणि सुवेदीहरूले नेतृत्व पाउने आश मारेका छैनन् । सुवेदी सानो स्वरमै भएपनि चौतारीको अध्यक्ष आफू हुनपर्छ भनिरहेका छन् । चौतारीको अध्यक्ष पदमा गणेश पाण्डे र राजेश राईको सहमति नभए सर्वसम्मतिको अध्यक्ष आफू हुनुपर्ने सुवेदी पक्षको माग छ । चुनावी प्रतिष्पर्धा भए अध्यक्षमा प्रतिष्पर्धा नगर्ने तर राईलाई समर्थन गर्ने उनीहरूको रणनीति भएको बुझिएको छ । राईलाई अध्यक्ष समर्थन गरेर सुवेदीलाई उपाध्यक्षमा र अन्य केही पूर्वसमाजवादीहरूलाई सोही टिममा पदाधिकारी सेट गरेर जाने उनीहरूको रणनीति देखिएको छ ।
पाण्डेको प्रगतिप्रति चौतारी नेतृत्वकै इर्ष्या
चौतारीको दशौं महाधिवेशनमा अध्यक्ष दावी गरिरहेका गणेश पाण्डे छोटो अवधिमा राम्रै आर्थिक हैसियत बनाएका पत्रकारका रुपमा चिनिन्छन् । पत्रकारिताबाहेक विभिन्न विषयमा डकुमेन्ट्री बनाई देशविदेश प्रदर्शनी गरी उनले राम्रै आयआर्जन गर्दै आएका छन् । यसबाहेक काठमाडौंमा उनले प्राकृतिक चिकित्सासम्बन्धी अस्पताल पनि सञ्चालन गरिरहेका छन् । पार्टीभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अत्यन्त विश्वासपात्र मानिएका पाण्डेले चौतारी महाधिवेशनको मुखैमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनसँग सम्बन्धित पुस्तक विमोचन गरेर नेतृत्वको थप विश्वास पनि जित्ने काम गरेका छन् ।
आर्थिकसँगै राजनीतिक रुपमा पनि उल्लेखीय प्रगति गरेका कारण चौतारी नेतृत्व वृत्तमा भने पाण्डेको यही प्रगति डाहको विषय बन्ने गरेको छ । जसका कारण कुनै बेला पाण्डे लमजुङ जिल्लामा राजवादी पत्रकारहरूको नेता भएको विषय झिकेर उनको शुद्धतामाथि प्रश्न उठाउने गरिएको छ । जुन विषयमा उनले पटक-पटक स्पष्टीकरण पनि दिइरहनुपरेको छ ।
होटल मनास्लु : संस्थापनका लागि छैन शुभ
गएको फागुन १७ मा एमाले मोरङको दशौं अधिवेशन भएकै होटल मनास्लु इनमा चौतारीको महाधिवेशन पनि सुरु हुँदैछ । पार्टीको मोरङ अधिवेशनमा ओलीसहितका बहुसंख्यक नेताले राजकुमार ओझालाई जिल्ला अध्यक्ष बनाउन निर्देशन दिएका थिए । तर, मोरङका कार्यकर्ताहरूले भने नेतृत्वको निर्देशन अवज्ञा गर्दै अजम्बर राईलाई जिल्ला अध्यक्ष चुनेका थिए । अहिले चौतारीको अध्यक्ष गणेश पाण्डेलाई बनाउन ओली र नेताहरूको निर्देशन छ । एउटा पक्ष चुनावमै जाने अडानमा छ । ओलीको निर्देशनअनुसार नै चौतारीमा नेतृत्व चयन होला कि एमाले मोरङकै जस्तो बागी समूहले बाजी मार्ला ? यसका लागि भने अरु केही समय कुर्नुपर्नेछ ।
View : 424
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved