Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

फिल्म रिभ्यू

तमोर बाहिर बरालिएको ‘मनसरा’

निशान्त ढुंगाना
३ जेठ २०८१, बिहिवार

सिर्जनाले भूमि खोज्छ, आधार खोज्छ, स्थान विशेष खोज्छ । भूमिले सिर्जनालाई पात्र–पात्रता दिन्छ, कथा–किम्वदन्ती दिन्छ, धर्म–देवता दिन्छ, खोला किनार–नदी नाला दिन्छ, हिमाल–पहाड दिन्छ, जमिन–वनस्पति दिन्छ, बिम्व–प्रतीक दिन्छ र एउटा सुन्दर क्यानभास दिन्छ जहाँ सर्जकले आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका पाउँछ । यदाकदा स्थान विशेषभन्दा माथि स्वैरकाल्पनिक संसारमा सिर्जानाको प्रस्फुटन नहुने होइन, तथापि सो संसारले पनि आफ्नो पात्र, कथालगायत वस्तु वरपरबाटै टिप्ने गर्छन् ।

चलचित्र ‘जारी’ सँगै निर्देशनमा समेत हात हालेका ख्यातिप्राप्त निर्देशक, कवि, लेखक उपेन्द्र सुब्बाका लागि धेरै सिर्जनाको उर्वरभूमि पूर्व पहाड लिम्बुवान क्षेत्र हो । सोही ठाउँका उपेन्द्रले आफ्ना कथा, कविता र सिनेमामा त्यहाँको कथाकुथुङ्ग्री विशिष्ठ ढंगले आफ्ना दर्शक एवम् पाठकसामु राख्दै आइरहेका छन् । ‘जारी’ मा लिम्बुवानको कथा देश–विदेशको नेपालीहरू सामू देखाएका सुब्बाले दर्शकहरूबाट पनि त्यसै किसिमको माया पाएका थिए । जारीको सफलताबाट हौसिएर ‘मनसरा’ निर्माण गरेका सुब्बाले आफ्नो दोस्रो चलचित्रलाई भने हल्कै रुपमा लिएको देखिन्छ । ‘कबड्डी’ र ‘छक्कापञ्जा’ टोलीले एउटै सुत्रमा चलचित्र बनाएर बजारबाट राम्रो प्रतिफल उठाए । कबड्डीको निर्माण टोलीमा समेत जोडिएका सुब्बाले त्यस्तै सुत्रलाई आफ्नो चलचित्र निर्माणको उद्देश्यका रुपमा राख्दा एउटा सम्भावनायुक्त चलचित्रको ‘सिनेमिक अवसान’ भएको छ ।

कमजोर पटकथा

‘मनसरा’ को सबैभन्दा कमजोर पक्ष नै यस्को पटकथा भएको छ । मानौं, चलचिक्र निर्माणको त्रममा निर्माणकर्मीको टोलीले सुरू चलचित्रको नाम ‘मनसरा’ मा सहमति गरेपछि सोही अनुसारको कथा लेखेको जस्तै लाग्दछ । एउटा धानको प्रजाति ‘मनसरा’ लाई मात्र रोप्दा धान नफल्ने र अर्को प्रजातिको धानसँग रोप्यो भने राम्रो मात्रामा फल्छ भन्ने कृषि शास्त्रीय मान्यतामा आधारित भएर निर्माण गरिएको यो चलचित्रमा नेपाली समाजको विविधतालाई देखाउनै पर्छ भन्ने दबाव देखिन्छ । त्यसैको बीचमा चलचित्र बनाएको भान दर्शकलाई चलचित्र हेर्दा हुनसक्छ । विविधता देखाउने कथामा दर्शकले छेउमात्र भेट्छ, कथाको टुप्पो कतै चलचित्रमै हराउँछ ।

धनिराम पोखरेल (प्रवीण खतिवडा) र नानीमैयाँ (मेनुका प्रधान) सन्तान प्राप्तिको प्रयत्नमा छन् । तान्छोको आमा (मिरूना) दम्पतिको छिमेकी छिन् । धनिरामको दोस्रो पत्नीलाई विवाहको दुई वर्षसम्म भगिरथ प्रयत्नगर्दा समेत सन्तान नभएकोले लोग्नेले छिमेकी तरूनी एकल महिलालाई उनको छोरासँगै भित्र्याउने हो कि भन्ने डर छ । धनिरामलाई वंश धानिदिने र मरेपछि पिण्डको व्यवस्था गरिदिने कर्ता चाहिएको छ ।

डाक्टरलाई देखाएपछि र उपाचार पश्चात अरूको ‘वीर्यदान’ बाट मात्रै आफ्नो सन्तान जन्मिने छ भन्ने भन्ने कुरामा करिब–करिब चित्त बुझाएको धनिरामले एकदिन तान्छोको आमाले स्नान गरिरहँदा पारदर्शी पहिरनमा देखेपछि यौन उत्तेजनाले खरो पल्टिन थाल्छ । दोस्रो श्रीमतीसँगै रहँदा र झगडा गरेर गएपछि कालक्रमले तान्छो र तान्छोको आमासँग नजिक भएको धनिराम कतिबेला मायाजालमा फस्छ पत्तै पाउँदैन् । दैनिक जीवनका भात खाने र व्यापार गर्दागर्दै कहिले धनिरामको यौनिक अपेक्षाले प्रेममा परिणत हुन्छ भन्ने कुरालाई चलचित्रको महत्वपूर्ण घटनाको रूपमा देखाउनु पर्नेमा बडो सामान्य ढंग देखाइएको छ । कथालाई समाएर बलियो बनाउनु पर्नेमा निर्देशकलाई चलचित्र सक्न हतार भएको जस्तै लाग्छ । 

त्यस्तै मानाङ र तान्छोको आमाको अस्पतालमा भएको भेट ८०–९० को दशकमा बलिवुडमा जस्तै सामान्य र कृत्रिमरूपमा प्रस्तुत गरिएको छ । पटकथामा अलि बढी मेहनत गरेको भए सायद चलचित्रले दर्शकलाई अझ बढी न्याय गर्न सक्थ्यो । 

निर्देशकीय कमजोरी

‘मनसरा’ मा निर्देशकको रूपमा उपेन्द्र सुब्बाको धेरैनै कमजोरी देखिन्छ । ‘जारी’ पछिको दोस्रो चलचित्रमा ‘चलिहाल्छ’ भन्ने हिसाबले सुब्बाले आफ्नो कामलाई लिएको बुझिन्छ । नेपाली चलचित्रको साझा समस्या जस्तै अनावश्यक सम्वाद यस चलचित्रमा पनि दोहोरिएको छ ।

‘जारी’ लाई लिम्बुवान पहाडकै वरपर बनाएका सुब्बाले लिम्बुवानको कथालाई मिसमास पारेर तमोर खोला कटाएर काठमाडौं ल्याउँदा पहाडमा देखाउनु पर्ने कुराहरू यता पनि देखाउनै पर्ने भन्ने दबावमा देखिन्छन् । पहाडमा पालम गाउने नाच्ने कुराहरू स्वाभाविक रूपमा आउने भए पनि कथा पहाड तल ल्याईसकेपछि पनि ती दृश्य राख्ने बाध्यता र प्रसङ्ग बुझाउन राखिएको लामा–लामा संवादले सुब्बाले फिल्मभन्दा पनि डकुमेन्ट्री (वृत्तचित्र) पो बनाएका हुन् जस्तो पनि लाग्न सक्छ । ‘फौज्दारी’ बुझाउन मात्रै कुटपिटको दृश्य राख्नुले पनि निर्देशक अलि बढी भावनामा बगेको हो कि भन्ने पनि लाग्छ ।

’खोलाको गीत’ कविता सङग्रह, ‘लाटो पहाड’ कथा संग्रह र ‘जारी’ चलचित्रमा विशिष्ठ प्रतिभा र काम देखाएका सुब्बाले ‘मनसरा’ बाट आफ्ना दर्शकको मन खिन्न बनाएका छन् ।

सुब्बाका सबल पक्ष ‘ह्युमर’ हो । सुब्बाको सबै सिर्जनामा पर्याप्त मात्राको ‘ह्युमर’ (हास्यरस) देख्न पाइन्छ । यद्यपि, चलचित्रमा ‘ह्युमर’ को प्रयोग गर्दैगर्दा श्रीमान् श्रीमतीको झगडा हुँदा बाहुन श्रीमान्ले लगाएको जनै पटक–पटक चुडाउनमा सुब्बाले देखेको ‘ह्युमर’ दर्शकलाई पचाउन गाह्रो छ । ‘ह्युमर’ को नाममा यस्ता प्रयोग गर्दा निर्देशक बढी सचेत हुनुपर्ने देखिन्छ । 

चाँदीको घेरा

चलचित्रको कालो बादलमा चाँदीको घेरामा मुख्य भूमिकामा रहेका प्रवीण खतिवडा, मिरूना मगर र मेनुका प्रधानको अभिनयलाई लिन सकिन्छ । लामो समय साइड रोलमा हराएका खतिवडाले आफ्नो प्रतिभालाई राम्रैसँग देखाउन मौका पाएका छन् र देखाएका पनि छन् । 

खतिवडाले प्रमुख पात्रकै हैसियतका भूमिका पनि आफ्नो योग्यता पुग्ने सशक्त दावी गरेका छन् । मेनुका प्रधानको सानो भए पनि प्रभावकारी भूमिका छ । प्रधानले लबजदेखि पात्र, शैलीमा आवश्यक भावनाको पूर्ण प्रदर्शन गरेकी छिन् । मिरूनाले हालसम्म गरेको चलचित्र मध्ये सबैभन्दा राम्रो काम नै ‘मनसरा’ मा गरेको भन्दा फरक नपर्ला । जारीमा समेत लिम्बुनी महिलाको भूमिकामा देखिएकी मगरले आफूलाई पूर्ण रुपमा चरित्रमा ढालेकी छिन् । मिरूनाको र प्रवीणको कामको यथेष्ट तारिफ हुनुपर्छ । दयाहाङले पनि बढो सोम्यतासाथ चरित्र निर्वाह गरेका छन् ।

दयाको अभिनय शान्त र ओजपूर्ण छ । यद्यपि चलचित्रको अन्त्यतिर दयाले दिएको ‘डाइलग’ले श्रीमति खोज्न भन्दा पनि सांस्कृतिक अभियन्ताको भूमिका निर्वाह गरेको जस्तो पनि लाग्न सक्छ ।

तर समग्रमा पहिलो चलचित्रमा प्रशस्त सम्भावना देखाएका उपेन्द्र सुब्बाले दोस्रो चलचित्रमा समेत पहिलेको जस्तै बनाउन खोज्दा थुप्रै स्थानमा चुकेका छन् । फिल्मकै एक टुक्का पालामको केही शब्द सापटी लिएर सुब्बालाई ‘पहिलो चलचित्र जस्तो भएन कान्छी’ भन्दा त्यति अन्याय नहुनु पर्ने हो ।

View : 557

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved