Biratnagar, Morang, Nepal
२ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले महानगर अधिवेशन

प्यानलै निर्वाचनमा जाने रोहित कोइरालाको तयारी

उद्‌घोष सम्वाददाता
१ वैशाख २०८२, सोमवार

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशन नजिकिएसँगै आकांक्षीहरू चुनावी तयारीमा जुटेका छन् । 

वर्तमान संगठन कमिटी अध्यक्ष रहेका रोहित कोइरालाले आइतबार विराटनगरमा आफू निकटका नेता कार्यकर्ताहरूले साक्षी राखेर अध्यक्षको घोषणा गरेका हुन् । 

विराटनगरको संगम पार्टी प्यालेसमा कोइराला निकटको भेलामा संस्थापन पक्षका पुरानै नेता अनुहारहरू देखिए । हुन त, कोइरालाले नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान भनेर प्रतिनिधि भेटघाटकै कार्यक्रमलाई प्राथमिकताका साथ आयोजना गरेका थिए ।

एमाले मोरङको १० औं जिल्ला अघिवेशनमा संस्थापन पक्षलाई विनोद ढकाल र सागर थापाको समर्थनमा रहेको टोलीले पराजित गरेको थियो । 

जिल्लाको परिणाम आफ्नो पक्षमा पार्ने मुख्य ‘फ्याक्टर’ को रुपमा ढकाल टिमले विराटनगर महानगरकै पार्टी संगठनलाई हेरेको सो पक्षका कार्यकर्ताहरूको बुझाइ छ । यस्तो अवस्थामा हुन लागेको महानगर कमिटीको दोस्रो अधिवेशन पनि जिल्ला अधिवेशनकै ‘लाइन’ मा अघि बढ्ने रोहित कोइरालाको आइतबारको उम्मेदवारी घोषणाले स्पष्ट संकेत गरेको हो ।

अध्यक्षको दाबी गरिरहेका कोइराला पक्षको भेलामा उपस्थित सवैलाई खानासहितको निम्तो गरिएको थियो । कोइरालाले आइतबार विहान मात्रै सरसल्लाह गरेर शुभकामना तथा प्रतिनिधि भेटघाट कार्यक्रम आयोजना गरिएको बताए ।

यसअघि जिल्ला अधिवेशनमा पनि एमालेमा संस्थापन पक्ष र संस्थापन इतर पक्षको नेतृत्व गरेको विनोद ढकाल पक्षले अलग–अलग स्थानमा खाना नै खुवाएर आफ्ना पक्षका प्रतिनिधिहरूलाई सम्पर्कमा राखिराख्ने रणनीति बनाएका थिए ।

सोही रणनीति अनुसार कोइरालाले पनि आइतबार भेटघाटका नाममा डाकिएका महानगर प्रतिनिधिहरूलाई खानाको समेत बन्दोबस्त गरिएकोले खाना खाएर मात्रै जान आग्रह गरेका थिए । 

आफ्नो सम्बोधनका क्रममा कोइरालाले पार्टीलाई अघि बढाउन सबैको साथ सहयोग जरुरी रहेको बताए । 

‘खानाको व्यवस्था गरेका छौं, आज बिहान मात्रै सल्लाह गरेर कार्यक्रम आयोजना गरिएको हो, अब सबैको साथ सहयोग जरुरी छ’ उनले भने, ‘अहिले पनि हाम्रो पार्टी र सरकारमाथि प्रहार भैरहेको छ, त्यसका विरुद्ध एकतावद्ध भएर उभिनुपर्दछ ।’

कोइरालाले कार्यक्रममा उपस्थित भएर शुभकामना दिने नेता कार्यकर्ताहरूको मुखबाट बढी आफ्नो नाम घोषणा गराएका थिए । 

शुभकामना दिने क्रममा जिल्ला कमिटीको उपसचिवमा पराजित भएकी विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले पनि आफ्नै कमिटीमा सचिवका रुपमा काम गरिसकेका कोइरालाले अध्यक्षमा दाबी गर्नुलाई स्वाभाविक भएको बताइन् ।

उनले सकेसम्म सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्ने तर सर्वसम्मत नभए स्वस्थ रुपमा निर्वाचन गर्न सवै प्रतिनिधिहरूले भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

‘अहिले पार्टी बनाउने सही समय आएको छ, सबै मिलेर भव्य रुपमा महानगर अधिवेशन सम्पन्न गरौं’ कार्कीले भनिन्, ‘पार्टीमा सवैले लामो समयदेखि काम गरेका कारण सवै अटे हुन्थ्यो भन्ने अपेक्षा स्वाभाविक हुन्छ, सकिएन भने प्रतिष्पर्धा स्वाभाविक हो ।’

उनले आफू उपाध्यक्ष भएको अघिल्लो महानगर कमिटीका अध्यक्ष सागर थापा अहिले जिल्ला कमिटी उपाध्यक्ष भइसकेको, आफू पनि महानगरपालिकाको जनप्रतिनिधिका रुपमा नेतृत्वमा पुगेको बताइन् ।

आफ्नो कमिटीको सचिव रहेका रोहित कोइराला भने अहिले अध्यक्षमा इच्छा राख्नु स्वाभाविक भएको उनले बताइन् ।

उक्त कार्यक्रममा जिल्ला कमिटीको अध्यक्षमा पराजित भएका राजकुमार ओझा पूर्वमन्त्रीको हैसियतमा सहभागी भए ।

मोरङ जिल्ला इञ्चार्ज रहेका एमाले केन्द्रीय सदस्य जीवन घिमिरे प्रमुख अतिथि थिए । त्यस्तै कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार कमिटी सदस्य नरेश पोखरेल, सांसद एवं सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, निर्वतमान् जिल्ला कमिटी अध्यक्ष बाबुराम कार्की र प्रदेश कमिटी सचिवालय सदस्य एवं महानगर कमिटी इञ्चार्ज पर्शुराम बस्नेत लगायतले कोइरालालाई सम्भावित महानगर अध्यक्षका रुपमा शुभकामना दिएका दिए । 

एमाले महानगर कमिटीको दोस्रो अधिवेशन मंगलबारदेखि दुई दिनसम्म विराटनगरमा हुन लागेको छ । उक्त अधिवेशनमा १९ वटा वडाबाट २२० जना प्रतिनिधि प्रत्यक्ष रुपमा चुनिएका छन् । त्यस्तै जनसंगठनहरूबाट ७९ जना प्रतिनिधि चयन भएको जनाइएको छ । 

थप १५ जना प्रतिनिधि मनोनित हुने महानगर कमिटीका प्रवक्ता राम पोखरेलले जानकारी दिए । 

कोइरालाले टुंग्याउँदैछन् पदाधिकारी

यसैबीच, कोइराला पक्षले उपाध्यक्ष बाहेक सचिव र दुई उपसचिवका उम्मेदवार भने टुंगो लगाएको छ ।

विराटनगर–४ का वडा कमिटी अध्यक्ष नवराज काफ्लेले महानगर कमिटीको सचिवमा कोइरालाको टिमबाट उम्मेदवार बन्ने निश्चित भएको बताए । 

त्यसैगरी उपसचिवमा चन्द्रशखेर विश्वास उपसचिव (महिला) मा कला डाँगीलाई अघि सारिएको जनाइएको छ । 

उपाध्यक्षमा भने राम पोखरे, सुनिता श्रेष्ठ र मनोज विक्रम शाह मध्ये एकजना उम्मेदवार बन्ने जनाइएको छ ।

कोइराला समुहले उम्मेदवार टुंगो लगाउँदै गए पनि ढकाल–थापा पक्ष भने रणनीति बनाउन केन्द्रित रहेको जनाइएको छ । 

उक्त समूहबाट अध्यक्षको दाबी गरिरहेका नवराज नेपाल (टुप्पी) ले दैनिक रुपमा सामूहिक भेटघाट र छलफल चलिरहेको बताए ।

View : 509

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved