राजेन्द्र श्रेष्ठ
केवल एक दशकभन्दा बढी समयमै डिजिटल प्रविधिले आधुनिक जीवनलाई पूर्णतः रूपान्तरण गरिदिएको छ । स्मार्टफोन, कम्प्युटर र इन्टरनेट पहुँच अब हाम्रा काम, अध्ययन र सम्पर्कका लागि अपरिहार्य बनिसकेका छन् । तर यो असीमित पहुँचसँगै एक गम्भीर समस्या पनि देखा परेको छ—विशेष गरी बालबालिका र किशोरहरूमा बढ्दो स्क्रीन लत ।
सामाजिक सञ्जाल–विशेषगरी टिकटक, इन्स्टाग्राम, युट्युब, स्न्यापच्याट र फेसबुकजस्ता प्लेटफर्महरूले–सञ्चार रमनोरञ्जनको स्वरूप परिवर्तन गरेका छन् । तर, यिनले तत्काल सन्तुष्टिको संस्कृति पनि सिर्जना गरेका छन्, जसले ध्यान केन्द्रित गर्ने क्षमता घटाइरहेको छ र आत्म अन्वेषण र व्यक्तिगत विकासका अवसरलाई कम गरिरहेको छ । विशेष गरी टिकटक र इन्स्टाग्रामलाई सबैभन्दा लत लाग्ने प्लेटफर्मको रूपमा हेरिन्छ, जसले किशोरहरूको सोच्ने र व्यवहार गर्ने तरिकालाई प्रभावित गरिरहेको छ ।
धेरै अध्ययनहरूले अत्यधिक स्क्रिन प्रयोगलाई शैक्षिक गिरावट र मानसिक स्वास्थ्य समस्यास“ग जोडिएको देखाएका छन् । यद्यपि कारण–परिणामको सम्बन्ध पुष्टि भइसकेको छैन, सम्बन्धहरू भने गम्भीर चिन्ताको विषय बनेका छन् । ‘समस्यायुक्त स्मार्टफोन प्रयोग’ भनिने व्यवहार, दैनिक जीवनमा बाधा पु¥याउने गरी मोबाइलको जबर्जस्ती र नियन्त्रण बिहीन प्रयोग हो—जसले व्यवहारजन्य लतस“ग समानता देखाउँछ ।
जर्मनीमा गरिएको एक सर्वेक्षणअनुसार, १२ देखि १८ वर्षका किशोरहरूमा स्मार्टफोन स्वामित्व सन् २०१२ मा ६२ प्रतिशतबाट २०२१ मा ९४ प्रतिशत पुगेको थियो । कोभिड–१९ ले त झनै यो निर्भरता बढायो, जब बन्दाबन्दीका कारण किशोरहरू घरभित्रै सीमित भए र डिजिटल उपकरण नै बाहिरी संसारस“ग जोडिने एक मात्र माध्यम बन्यो । यस अवधिमा गरिएको अध्ययनहरूले किशोरहरूमा दिक्दारी, चिन्ता, विषाद (डिप्रेसन) र रिसको स्तरमा वृद्धि देखाएका छन् ।
एक अध्ययनले देखायो कि १५ प्रतिशत बालबालिका र किशोरहरू दैनिक ९ घण्टा वा सोभन्दा बढी समय शैक्षिक प्रयोजन बाहेकका स्क्रिन गतिविधिमा खर्च गर्छन्—जसमा स्ट्रिमिङ, डूमस्क्रोलिङ, बिंज–वाचिङ र सामाजिक सञ्जाल समावेश छन् । यी व्यवहारहरू केही अनुसन्धानकर्ताले पदार्थ लतस“ग तुलना गरेका छन् । अमेरिकी मेडिकल संघको जर्नलमा प्रकाशित यी निष्कर्षहरू एक गम्भीर चेतावनी हुन् ।
लिङ्ग–विशेष असरहरू
अध्ययनहरुले डिजिटल लतले सबै किशोरहरूमा समान रूपमा असर गर्दैन भन्ने पनि देखाएका छन् । अनुसन्धानहरूले लिङ्ग–विशेष जोखिम देखाएका छन् जसले लक्षित हस्तक्षेपको आवश्यकता देखाउ“छ । स्वीडेनमा करिब ५,००० किशोरहरूमा गरिएको अध्ययनले के देखायो भने केटाकेटी दुवैले सिफारिस गरिएको स्क्रिन समयभन्दा धेरै प्रयोग गरे तापनि, एउटै स्तरको प्रयोगमा किशोरीहरूमाझ विषादको स्तर केटाहरूको तुलनामा दोब्बर थियो ।
अर्कोतर्फ, अत्यधिक गेमिङले केटाहरूमा दृष्टिदोष (मायोपिया), चिन्ता र निद्राको समस्यालगायत गम्भीर मानसिक र शारीरिक असर पु¥याउ“छ । यी निष्कर्षहरूले लिङ्गअनुसारको मानसिक स्वास्थ्य रणनीति र सचेतना अभियानको आवश्यकता औंल्याउँछन् ।
डूमस्क्रोलिङ र निष्क्रिय खपतको बढ्दो प्रवृत्ति
डूमस्क्रोलिङ—निरन्तर स्क्रिनमा बिना उद्देश्य सामाजिक सञ्जालको सामग्री हेर्ने बानी—सबैभन्दा हानिकारक डिजिटल व्यवहारमध्ये एक हो । यसले किशोरहरूमा चिन्ता र आत्मगौरवको कमी बढाउ“छ, किनभने उनीहरू अरूको ‘सजावटगरिएको वा ‘कृत्रिम’ जीवनसँग आफूलाई तुलना गर्छन् । यसले वास्तविकतालाई विकृत बनाइदिन्छ र किशोरहरूमा अपूर्णता भावना उत्पन्न गराउँछ ।
पुस्तागत विभाजन ‘मिलेनियल’ पुस्ताले एनालगदेखि डिजिटल युगसम्मको रूपान्तरण देखे । तर, ‘जेन जी’ र ‘जेन अल्फा’ भने डिजिटल युगमै जन्मिएका छन् । उनीहरू सानैदेखि स्क्रिनसँग परिचित हुन्छन्, प्रायः आफ्नै आमाबाबुको बानीअनुसार । मनोवैज्ञानिकहरू भन्छन्, यस्तो प्रारम्भिक सम्पर्कले स्क्रिन लत र पदार्थ लतबीच समानता देखाएको छ—स्क्रिन पाएपछि उत्साहित र नपाएपछि चिडचिडोपन ।
अध्ययनहरूले देखाएका छन् कि सन् २०१८ देखि २०२४ सम्मको अवधिमा किशोरीहरूमा समस्यायुक्त स्मार्टफोन प्रयोगको स्तरमा उल्लेखनीय वृद्धि भएको छ । के कारण के परिणाम भन्ने पुष्टि नहुन सक्छ, तर ‘पीएसयू’ स्कोरको उच्च स्तर जीवनको गुणस्तरसँग नकारात्मक रूपमा सम्बन्धित देखिन्छ ।
अभिभावकहरूको विरोधाभास बालबालिकाले प्रायः अभिभावकको बानी नक्कल गर्छन् । जब आमाबाबा निरन्तर फोन हेर्दै बस्छन्, तब बालबालिकाले पनि त्यही व्यवहार दोहो¥याउँछन् —र त्यसको असर भोग्छन् ।
अष्ट्रेलियामा १५ हजार भन्दा बढी बालबालिकालाई समेटिएको एक अध्ययनले देखायो कि आमाबाबाले सन्तानसँग हुँदा स्क्रिनमा अत्यधिक ध्यान दिनुले बालबालिकाको भावनात्मक विकासमा ढिलाइ, संज्ञानात्मक क्षमतामा कमी र चिन्ता तथा विषादको जोखिम बढाएको छ । यस्तो व्यवहारले बालबालिकाले सतही प्रतिक्रिया पाउने र त्यसले निराशा, स्वार्थीपन र भावनात्मक अस्थिरता निम्त्याउ“छ ।
यदि आमाबाबा स्वयं फोनमै व्यस्त छन् भने स्क्रिन कम गर्न भनिएको कुरा विश्वासिलो हुदैन । मनोवैज्ञानिकहरू भन्छन्, ‘बच्चाहरूले अभिभावकले के गर्छन् भन्नेबाट बढी सिक्छन्, न कि के भन्छन् भन्नेबाट । उदाहरण प्रस्तुत गर्नु नै सबैभन्दा महत्त्वपूर्ण हो ।’
सन्तुलित समाधानको बाटो
मनोवैज्ञानिकहरूका अनुसार सम्पूर्ण प्रतिबन्ध समाधान होइन—त्यस्ता उपायले गोप्यता र विद्रोह उत्पन्न गर्न सक्छ ।
यसको सट्टा, अनुसन्धानकर्ताहरूले सन्तुलित र सूचित दृष्टिकोण सिफारिस गर्छन् उमेरअनुकूल स्क्रिन समय सीमा तय गर्नु, बाबुआमाको नियन्त्रण र उपकरणका सुविधा प्रयोग गरेर प्रयोगको निगरानी राख्नु, शैक्षिक र अर्थपूर्ण सामग्रीलाई प्राथमिकता दिनु र स्क्रिन नियम र डिजिटल बानीबारे खुला संवाद प्रोत्साहित गर्नु ।
सानो उमेरका बालबालिकाका लागि—विशेषगरी पाँच वर्ष मुनिका—विश्व स्वास्थ्य संगठनले कडाइका साथ सीमित स्क्रिन समय सिफारिस गर्छ । एक वर्ष मुनिका शिशुहरूका लागि स्क्रिन समय शून्य हुनु पर्दछ । २ देखि ४ वर्षसम्मका बालबालिकाका लागि एक घण्टा बढी नहुने गरी सीमित गर्न भनिएको छ ।
शिक्षा प्रणाली र नीति निर्माता पनि जिम्मेवार हुनुपर्छ । डिजिटल साक्षरता शिक्षा प्रणालीमा समावेश गर्न, लत उत्पन्न गर्ने एल्गोरिदमको जोखिमबारे चेतना दिन र अनलाइन दबाबबाट जोगिने क्षमता विकास गराउनुपर्ने हुन्छ ।
उद्देश्य र दीर्घकालीन सोचको संरक्षण
नवीन अनुसन्धानहरूले देखाउँछन् कि जीवनको उद्देश्य बुझ्ने र दीर्घकालीन विकासको महत्व बुझ्ने किशोरहरू डिजिटल जालमा फस्ने सम्भावना कम हुन्छ । उद्देश्यविहीन किशोरहरूमा सामाजिक सञ्जालको ‘डोपामिन’ चक्रको शिकार हुने सम्भावना उच्च हुन्छ । तर, उद्देश्यप्रेरित किशोरहरू स्क्रिनलाई उपकरणको रूपमा प्रयोग गर्छन्, न कि भावनात्मक सहाराको रूपमा ।
निष्कर्षमा भन्न सकिन्छ कि हाम्रा बालबालिका यस्तो युगमा हुर्किरहेका छन् जहाँ स्क्रिनहरू सर्वत्र छन् र ती टार्न गाह्रो छ । तर उनीहरूले यो डिजिटल संसारसँग कसरी खेल्छन्् भन्ने कुराले उनीहरूको मानसिक, भावनात्मक र शारीरिक स्वास्थ्यलाई दीर्घकालसम्म असर गर्छ । अभिभावक, शिक्षक र समुदायका रूपमा हामीले उनीहरूलाई डिजिटल उपकरणको प्रयोगमा सन्तुलन, सिमाना र सशक्तता प्रदान गर्नुपर्छ ।
अन्ततः बालबालिकालाई अर्को एप, भिडियो वा सूचना होइन—आफ्ना आमाबाबाको समय र ध्यान चाहिएको हुन्छ । विज्ञहरू बारम्बार भन्छन्, प्रविधिले सिकाइ र सम्बन्धलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइन ।
View : 77
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved