Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

‘पुलको डिजाइन पास नहुने अवस्था अन्त्य गरौं’

उद्‌घोष सम्वाददाता
९ वैशाख २०८२, मङ्गलवार

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले प्रदेश सरकारले निर्माणका लागि लागेको ठेक्काको म्याद सकिंदा समेत पुलको डिजाइन पास नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । 

सोमबार विराटनगरमा आयोजित मोटरेबल पुलको डिजाइन र डिजाइन सुपरीवेक्षण सम्बन्धित तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री राईले पुलको डिजाइन नै पास नहुने अवस्था बनेको प्रति इञ्जिनियरहरूलाई ध्यानाकर्षण गराएका छन् ।

मन्त्री राईले तालिम र दक्षता प्राप्त इञ्जिनियरहरूले विराटनगर छोड्न नमान्ने अवस्था रहेको भन्दै उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्न आग्रह गरे । 

‘हाम्रो प्रदेशमा अहिले पनि डिजाइन नै फेल भएका धेरै पुलहरू निर्माणको प्रक्रियामा अघि बढेका छैनन्, ती पुलको ठेक्का निस्किएर सम्झौता अवधि पनि सक्किइसक्यो’ मन्त्री राईले भने, ‘आफ्नो कामलाई जिम्मेवारीपूर्वक सवैले गरौं, प्रदेशलाई बलियो बनाउने बिषयमा राजनीतिक नेतृत्व दृढ रहन्छ, पुलको डिजाइन नै पास नहुने अवस्था हुनुहुँदैन, यस्तो परिस्थिति फेरिनुपर्छ ।’

कोशी प्रदेशमा अहिले पनि पुल निर्माणका आवश्यक दक्ष इञ्जिनियरहरूको अभाव रहेको भन्दै प्रदेश सरकारले निर्माण गर्ने मोटरेबल पुलको डिजाइनको सुपरीवेक्षणमा सहयोग गरिरहेको स्वीस सरकार अन्तरगतको स्थानीय सडक पुल सहयोग इकाईको प्राविधिक सहयोगमा सीप हस्तान्तरण सम्बन्धि तालिम आयोजना गरिएको थियो ।

परामर्शदातृ वास्तुकला इञ्जिनियर्स फर्म (स्क्याफ) को आयोजनामा भएको तालिममा कोशी प्रदेशका इञ्जिनियरहरूको क्षमता विकास सम्बन्धि ६ दिने तालिम आयोजना गरिएको जनाइएको छ । 

मन्त्रालयका सचिव इञ्जिनियर अशोक साहले प्रदेशमा सुरूदेखि नै पुल डिजाइनसम्बन्धि दक्ष जनशक्तिको अभाव रहेको बताए ।

उनले तालिमपश्चात अब प्रदेशमा वर्षमा कम्तिमा पनि २५ वटा पुलको डीपीआर जाँच गर्ने क्षमतामा इञ्जिनियरहरूमा हुनुपर्ने बताए ।

सन् २०११ देखि हालसम्म पुल डिजाइन र त्यसको सुपरीवेक्षणमा सहयोग गर्दै आएको स्थानीय सडक पुल सहयोग इकाईको अवधि सकिन लागेपछि त्यससम्बन्धि ज्ञान सीप हस्तान्तरण गर्न तालिम आयोजना गरिएको कार्यक्रममा इकाईका संयोजक इञ्जिनियर सूर्यनारायण चौधरीले बताए । 

तालिममा निर्माण व्यवसायीका इञ्जिनियर, प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर, परामर्शदाता संस्थामा कार्यरत इञ्जिनियरहरूको सहभागिता रहेको थियो ।

पुल विज्ञ ई रञ्जीत मानन्धरले तालिमका सहभागीलाई सहजीकरण गरेका थिए । स्क्याफका केन्द्रीय अध्यक्ष ई ठाकुरप्रसाद शर्मासहित सहभागीहरू तालिम फलदायी भएको बताए ।

View : 33

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved