Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

इलाममा प्रेमको बहानामा अमर्यादित कार्य गर्ने युवायुवतीविरुद्ध कारवाही अभियान

उद्‌घोष सम्वाददाता
१८ भदौ २०८१, मङ्गलवार

विराटनगर । जिल्ला प्रहरी कार्यालय इलामले लागूऔषध तथा मादक पदार्थ सेवन गरी अशान्ति मच्चाउने र माया प्रेमको बहानामा युवा युवतीहरू रातको समयमा अमर्यादित कार्यमा संलग्न रहेको भन्दै उनीहरु विरुद्ध कारवाही अभियान सुरु गरेको छ ।

सोमबार सार्वजनिक सूचना नै गरेर इलाम प्रहरीले यस्तो कारवाही अभियान सुरु गरिएको घोषणा गरेको हो । प्रहरीले केही समयदेखि इलाम बजार आसपासका क्षेत्रहरूमा लागू औषध तथा मादक पदार्थ सेवन गरी रातको समयमा अशान्ति मच्चाउने र माया प्रेमका बहानामा युवा युवतीहरू रातको समयमा सार्वजनिक स्थलहरूमा बसी सामाजिक मर्यादा र आचरण विपरितका गतिविधिहरूमा संलग्न रहेको बताएको छ ।

नजिकिँदै गरेको चाडपर्वलाई मध्य नजर राख्दै सभ्य, शान्त र सुरक्षित इलाम बजार कायम राख्नका लागि त्यसअघि नै कारवाही अभियान सुरु गरेको जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार अमर्यादित गतिविधिहरूलाई नियन्त्रण गर्न प्रहरीले विशेष अभियान मार्फत भदौ ११ गतेदेखि नै प्रहरी पोसाक तथा सादा पोसाकमा प्रहरी खटिएको जनाइएको छ ।

प्रहरीले त्यस्तो कार्यमा संलग्न भएर नियन्त्रणमा लिएका व्यक्तिहरूलाई तत्काल स्क्रिनिङ गरिने, अभिभावकहरूको जिम्मा लगाउने, प्रहरीबाटै सम्झाउने बुझाउने, काउन्सिलिङमा राख्ने र कानुन बमोजिम कारवाही समेत गर्ने जनाएको छ । 

त्यसैगरी गाउँ समाज, नगर टोलहरूमा भएका सामाजिक अपराध र विकृतिविरुद्ध गतिविधिहरू भएको वा देखेको खण्डमा तत्कालै प्रहरीलाई सूचना उपलब्ध गराउन समेत आग्रह गरेको छ ।

View : 225

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved