Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

१० दिन चलेको शिविरमा २१ सय बढीको आँखा जाँच

उद्‌घोष सम्वाददाता
२४ माघ २०८१, बिहिवार

विराटनगर । उदयपुरका चौदण्डीगढी नगरपालिकाले सञ्चालन गरेको १० दिने निःशुल्क आँखा शिविरमा दुई हजार एक सय आठ जना ज्येष्ठ नागरिकको आँखा जाँच गरिएको छ ।

नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको संयुक्त आयोजनामा माघ १२ गतेबाट माघ २२ गतेसम्म आयोजना गरिएको शिविरमा ज्येष्ठ नागरिकहरूको निःशुल्क आँखा जाँच गरिएको हो । 

शिविर पालिकाको प्रत्येक वडा र छिमेकी बेलका नगरपालिकाको वडा नम्बर २ र ४ मा समेत सञ्चालन गरिएको जनाइएको छ ।

उक्त शिविरबाट मोतियाविन्दुका ३ सय ११ जना बिरामीको छनोट भएको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले बताए । 

उनीहरूको वडा नम्बर ६ सातधारेस्थित पुरानो कोभिड अस्पतालको भवनमा निःशुल्क शल्यक्रिया सुरु भएको उनले जानकारी दिए ।

शिविरमा विरामीहरूलाई आवश्यक चस्मा न्यूनतम मूल्यमा उपलब्ध गराइने जनाइएको छ ।

नगरपालिकाले अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा २ हजार ६ सय र २०७९–८० मा २ हजार २ सय ३५ जनाको निःशुल्क आँखा जाँच गरेको थियो ।

मेयर लामाले आफ्नो कार्यकाल भरी हरेक वर्ष आँखा शिविर सञ्चालन गरिने बताए ।

View : 140

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved