Biratnagar, Morang, Nepal
२३ चैत २०८१, शनिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

३० औं वसन्तमा स्वर संगम संगीतालय

शास्त्रीय संगीत : भावनाको तरंग र साधनाको सौन्दर्य

स्वर संगम संगीतालय ३० औं वसन्तमा अघि बढिरहेको छ । स्थानीय संगीत पारखीको साथ, सहयोग र आशीर्वचनद्वारा नै संगीतालय वर्तमान अवस्थामा आइपुगेको हो ।
महिमा शर्मा
२४ पुष २०८१, बुधवार

शास्त्रीय संगीतको तरंगले मानव हृदयलाई पुलकित गर्दै अविरल बगिरहेको छ विराटनगरस्थित स्वर संगम संगीतालय । स्वर संगम संगीतालयले ३० औं वसन्तलाई अङ्गीकार गरी अघि बढिरहको छ, स्थानीय संगीत पारखीको साथ, सहयोग र आशीर्वचनद्वारा नै वर्तमान अवस्थामा आएको हो ।

शास्त्रीय संगीत मात्र गीतको आधारमा नभई शास्त्रगत अध्ययनले गायकको साधना र कल्पना शक्तिद्वारा प्रस्तुत गरिने सिर्जनालाई शास्त्रीय संगीत भनिन्छ । यस किसिमको गायकीमा स्वरसँगै गमक, खट्का, मीड,  आलापचारी जस्ता स्वरका तयारी पक्षलाई र तालमा लयसँगै विलम्बित, मध्य र द्रुतलाई वढी महत्व दिइन्छ ।  यस गायकीको दोस्रो विशेषता भनेको प्रत्येक गायकको कल्पनाशक्ति फरक हुने हुँदा उसको प्रस्तुतीकरणमा पनि  फरक–फरक अनुभूति हुन जान्छ, श्रोतालाई । 

गायनमा साहित्य, स्वर, ताल रस यी चार गुण हुनु आवश्यक हुन्छ । यी चारै गुणलाई हाम्रो जीवनको आध्यात्मिक उचाई चारै वेदसँग जोडिएको पाउँछौ । साहित्य-ऋग्वेद, स्वर-सामवेद, ताल-यजुर्वेद, रस-अथर्ववेद । तसर्थ गायनमा यी चार कुराहरू विशेष महत्व राख्ने हुँदा भावना प्रेरक भई आनन्दलाई उत्सवको रुपमा प्राणीलाई समायोजन गरेको पाइन्छ ।

अर्कोतिर शास्त्रीय संगीतमा अध्ययन गरिने रागहरूको काल्पनिक कलात्मकताले पनि हामीलाई भावनात्मक रूपमा प्रतिविम्वित गर्ने गर्दछ , जसरी जीवनको दैनिकी सृष्टिको समय अनुसार विस्तारित हुँदै जान्छ, ठीक त्यसैगरी रागलाई पनि उसको सरूप अनुसार समयमा विभाजित गरी परिकल्पनाद्वारा प्रस्तुत गरिन्छ । जस्तै- रे ध कोमल स्वर प्रयोग भएको रागले विहान सवेरैको समयलाई निर्देश गर्दछ । किनकि यतिवेला शान्त वातावरणमा चराहरूको चिरविर–चिरविर आवाज,  हल्का-हल्का शीतल स्पर्श, माधूर्ययुक्त सूर्यको किरण, मन्दिरमा प्रार्थनाका स्वरहरुसँगै घण्टीको आवाजले मानवीय संवेदनालाई शान्तभावतिर डोर्याउँछ, जुन भाव भैरवको प्रस्तुतीमा विशेषतः पाइन्छ ।

त्यसैगरी वर्षा ऋतुमा गाइने रागहरू, मिया मल्हार (जुन मल्हार अंगमा पर्छ), देश, दुर्गाले वर्षा ऋतुको यसरी वर्णन गरेको हुन्छ, कि त्यसलाई एउटा राम्रो प्रस्तोताले हाम्रो मानसपटलमा वरिपरी वर्षायामलाई उभ्याई दिने गर्दछ, चाहे वर्षाबाट प्रकृति रुझेको होस्, चाहे प्रेमी–प्रेमिका टाढिएर विरह भावमा व्यग्रह भई उनका आँखाबाट साउने झरी उर्लिएका हुन् ।

प्रकृतिलाई उल्लासमय वातावरणमा रुपान्तरण गर्नका लागि मानव परिश्रमले त्यत्ति न्याय पाउन सक्दैन, जति वशन्त ऋतुले प्राकृतिक रुपमा नै न्यायीक बनाएको हुन्छ । शास्त्रीय–संगीतमा पनि राग वहार, वसन्तको प्रस्तुतीमा गायकले वरिपरीको परिवेशलाई नै हरियाली, मनोरम बनाएको भान हुन्छ, जव हामी सुन्नमा एकाग्र हुन्छौं । यी रागहरुलाई उसको प्राकृतिक ऋतुमा कुनै पनि समय गाउन वजाउन सकिन्छ ।

हामीले जतिनै शास्त्रगत ज्ञानका कुरा गरे पनि परिवेशसँग प्रतिम्बित देशको पहिचान आफ्नो गौरव, विविधतामा एकता मौलाउने यो संस्कृतिलाई व्यवहारिक रुपमा शैक्षिक सहजीकरण नगरे हाम्रो अबको सन्ततीले देशको मौलिक संस्कार र माटोलाई सहजै अवलोकन तथा आत्मसाथ गर्न असमर्थ रहन्छ, जुन हाम्रो, नेपाली हुनुको  विडम्बना हुन पुग्छ ।

‘स्रष्टाको सम्मान गर्नु हाम्रो दायित्व हो, संस्कृतिको जगेर्ना गर्नु नेपालीको पहिचान हो ।’ जीवनलाई जगतसँगै चीरस्थायी बनाउनका लागि  आफूभित्रका प्रतिभाहरुलाई चिनेर जीवन निर्माणको बाटोमा पाइला चाल्दै जाँदा साधकबाट स्रष्टाको रुपमा स्थापित हुनु हुने हाम्रो समाजको परिचायक व्यक्तित्वलाई हामीले सदैव सम्मानको संस्कारले बुझ्न सक्नु पर्छ । जुन परिपाटीले प्रतिभासँगै  मर्यादित संस्कृतिको  विकाश वा भनौ संस्कार रहन्छ । साथै नेपाली संस्कृतिको स्थान पनि सर्वोपरी हुन आउँछ । यसै संस्कारलाई जीवित राख्ने उद्देश्य अनुरुप स्वर संगम संगीतालय विराटनगरले स्थापना कालदेखि नै स्रष्टा सम्मानसमेत गर्दै आइरहेको छ ।

यसै क्रममा २०८१ सालमा पनि स्रस्टा सम्मानलाई निरन्तरता दिंदै यसपाली पनि विभिन्न विधाका कर्मयोगी व्यक्तित्वहरूलाई सम्मान गरी संस्कृतिको जर्गेना गरेको छ । यस अन्तर्गत साहित्यमा जयप्रसाद पाण्डे, संगीतमा रामा मण्डल, ललीतकलामा निवास पोखरेल र  समाजसेवीमा जगत अज्र्याललाई सम्मान गरेको छ । 

त्यसैगरी यसपालि स्वर संगमले आफ्नो स्थापनाकालका विद्यार्थीहरुलाई आफ्नो व्यक्तिगत पहिचान वनाई कर्मपथमा अग्रसर रहनु भनी शुभकामनासहित एउटा अध्यायको पनि शुरुवात गरेको छ । जसमा यसपाली सो आशीर्वाद पाउनेमा रश्मी हमाल हुनुहुन्छ । जुन कार्यले नेपाली कार्यले नेपाली हुनुको गौरवलाई चित्रित गर्दछ ।

सौन्दर्य तथा भावयुक्त लालित्यद्वारा आफ्नो अव्यक्त भावलाई सिर्जनाको रूप दिनुनै ललितकला हो । यस कलाले देशको पहिचान बोकेको हुन्छ । जुन भावना प्रेरक पनि हुन्छ । ललितकलाभित्र पर्ने संगीत, साहित्य लगायतका समाजका ऐनारुपी विषयगत स्रष्टाको सम्मान गरिनुका साथै समाजलाई उदारहणीय वनाउनका लागि निरन्तर अथक प्रयास गरिरहेका वयोवृद्ध योद्धा, सामाजिक व्यक्तित्वलाई पनि एकै  मञ्चमा एकैसाथ सम्मान गरियो ।

यसरी आदरणीय व्यक्तित्वलाई सम्मान गरी ललितकलाको भावनात्मक संगमलाई चित्रण गर्न सफल भएकोछ । हर्षोल्लासमय वातावरणमा आदरणीय व्यक्तित्वलाई  सम्मान गर्न पाउँदा स्वर संगम संगीतालय सबै संगीतप्रेमीप्रति हार्दिक आभार व्यक्त गर्दछ । स्वर सम्राटद्वारा गाइएका वा सिर्जना गरिएका जीवन्त गीतहरुले जीवनलाई हरेक संवेदनाद्वारा परिस्कृत गर्दै भावनारूपी संसारमा फैलाउन खुला आकाशलाई पनि चुनौती दिएको आभाष हुन्छ, उच्चकोटीको सिर्जनाको तरंगहरुले बोलेको भावहरु निम्न रुपमा व्यक्त हुन्छन् भन्ने नितान्त आशय मात्र हो ।

 
स्वर सम्राट नारायणगोपालको ३४ औं स्मृति दिवस मनाइ रहदा हामीले स्रष्टा सम्मानको अर्को अनुभूतिलाई पनि संगीतप्रेमीका साथमा केही हदसम्म भए पनि संगीत संस्कारलाई आत्मसाथ गर्न सफल भएको महसुस गरिएको छ ।  

वास्तवमा स्रष्टा भनेकै उनकै सिर्जनाहरूले, सोचका अठोट पाइलाहरुले जनमानसलाई आ–आफ्नाे कर्मपथमा लगनशील बनाइरहोस्, जसको सानो उदाहरण स्वर संगम संगीतालयले हालै सम्पन्न गरेको कार्यक्रममा प्रस्तुत गरिएका स्वर सम्राटका कालजयी गीतहरुलाई स्वर संगम संगीतालयका  मिहनेती र लगनशील विद्यार्थीहरुद्वारा दर्शक दीर्घामा आसिन आदरणीय संगीतप्रेमी स्रष्टा व्यक्तिहरु माझ सांगीतिक रसास्वादन गराउन सफल भएको अनुभूति पायौं ।

गाइएका गीतका गीति भावहरु
तिमीले पनि म जस्तै : माया शब्द जीवनमा हरेक पल बाँचिरहन्छ, चाहे त्यो जोडीको रूपमा होस्, चाहे आदरको सम्मानको रूपमा होस् वा आत्मिक रूपमा । त्यसैले यी सबै सम्बन्धमा मायालाई बचाएर बाँच्न नसक्दा सागरको लहर जस्तै, सुनसान रातमा, जीवन विथोलिन सक्छ, अनि भनिंदै छ तिमीले पनि म जस्तै ।

मान्छेको माया यहाँ :  आधुनिकीकरण स्वीकार्ने क्रममा हामीले मानव जीवनको मौलिकता कहिल्यै बिर्सनु हुँदैन । नभए खोलाको पानी जस्तै बगिरहन्छौं । बस्ने कुनै स्थायी घर, महल हुँदैन । नाच्नलाई कुनै सयपत्री फूलको आँगन हुँदैन । हामीले जुनै सम्बन्ध पनि मायाले शृङ्गार्न सक्नुपर्छ । त्यही माया, माया भएन भने बगरलाई छोएर बग्नुको विकल्प हुँदैन ।

केही मीठो  : भनिन्छ मायाको परिधि हुँदैन र परिधिभित्रको माया पनि माया हैन, त्यहाँ स्वार्थ लुकेको हुन्छ, यस गीतमा पनि मायाबाट टाढिएका, सम्झनाका हुरीले सिमलको भुवा जस्तै निस्काम उडिरहेका, अँध्यारोमा जूनकीरीका साथी भएका प्रेमिल जोडीले आफैंलाई सान्त्वना दिंदै भनिरहेछन् – दुःख छोड दुःखलाई त जिन्दगानी छँदैछ... केही मीठो बात गर ।

कसरी म भुलेँ : माया एक त्यस्तो दर्शन हो, जुन व्यक्ति विशेषको भावनामा समाहित भई छल्किने गर्दछ, समय र परिवेशद्वारा उन्माद पनि छाएको हुन्छ, यस गीतमा पनि आफ्नो मायालाई सोधिदैछ । तिम्रो मुस्कानमा ? आँखामा कि भाकामा ? कसरी म भुलँ ?

हिमालसरी अग्लिरहेछु  : संसारमा एक प्रेम मात्र शाश्वत अनुभव हो, जुन हरेक वर्ग र सम्बन्धमा समाहित भएर निरन्तर चलिरहेको छ, चलिनै रहने छ । यहा“ पनि प्रेमीप्रेमीकाले आफूलाई परिस्कृत गर्ने सोचमा हिमाल जस्तै अटल, उच्च र बादल जस्तै रसिक भावमा प्रस्तुत गरेका छन् । हिमालसरी अग्लिरहेछु । 

वीरताको चिनो : ‘जननी जन्मभूमिश्च स्वर्गदपी गरियशी’ जन्म दिएकी आमा र जन्मभूमि स्वर्गभन्दा पनि माथि हुन्छिन् । हामीले आफ्नो देशको मौलिक पहिचानलाई अटल बनाउनुपर्छ । देशलाई समृद्धशाली बनाउनुपर्छ । अनि मात्र सन्ततिले हामीलाई सम्मानको आँखाले हेर्दछ र नयाँ इतिहास कोर्न ऊ पनि सदैव तत्पर हुन्छ ।

यति चोखो : सबै प्रेमी जोडीमा एउटा वाचा चाहिं पक्कै हुन्छ । हाम्रो माया जस्तो चोखो कसैको हुँदैन । मेरो खुशी मेरो जीवन मेरो मीठा–मीठा पल सबै तिमीलाई, यतिले मात्रै नभएर मायालाई सपनीमा पनि सुस्तरी चिहाउन बोलाइन्छ भने पक्कै चोखो र मिठो माया नै त हो नि । 

यति धेरै माया दिई : मायालाई तौलिन सकिन्न जति पुरानो भयो उति नै हरेक परिवेशलाई सहर्षित र सजक बनाई रहने निश्चल अनुभव हो, साथ हो । यहाँ पनि भनिदैछ भाग्यमा कोरिएका सबै सुख–दुःख स्वीकार्य छ, जब तिमी साथ हुन्छौं, मेरा कर्मशील हातहरूले पनि प्रशस्त पाइला बढाउने छन् । सान्त्वना दिई मलाई दुःख चै नदेऊ ।

गल्ती हजार हुन्छन् : प्रेममा बासनाले महत्व पाउन थाल्दा प्रेमी पनि सहजै राक्षस, पशुको रूपमा परिभाषित हुने क्रम बढ्दो छ, वर्तमान परिवेशमा । त्यसैले पनि प्रेमलाई कुनै पनि परिधिसँग जोडेर सीमारेखा कोर्नु हुँदैन, जसले प्रेमको वास्तविक मूल्याङ्कनलाई नै नकारात्मक बनाउँछ ।

पोखिएर घामको झुल्का : आँखा, हेराइ, दृष्टिको पर्यायवाची शब्द संवेदना पनि हो । कलाकारले कलाकारितामा भाव व्यक्त गर्दा आँखाबाट नै उपयुक्त भाव दर्शाउने गर्छन् । रचनाकार हरिभक्त कटुवालले आँखाको भावलाई गीतमा सरी समेट्नु भएको छ । कति कति आँखाहरू बाटो छेक्न आउँछन् । परेलीमा बास माग्न कति आँखा धाउँछन् । मलाई भने तिम्रै आँखा रोजु रोजुँ लाग्छ ।

पर्खी बसे : प्रेम जब स्वार्थको रूपमा देखापर्छ जब बोझको रूपमा मौलाउन थाल्छ । अनि आँखा खोलेर हेरे पनि चिम्लेर हेरेर पनि अँध्यारो नै पाउँछन् । अनि यस परिस्थितिमा मायाबाट निरस भएकाहरूले वरिपरिको सबै परिवेशलाई आफू अनुकूल नपाउँदा निस्सासिएर दिलै जलाउने गर्छन् । अनि आफ्नै छायाँ पनि आफूसँग छुटेको भान हुन्छ । बर्सौं वित्दा पनि मनभित्रको आँधीलाई चाहनाले बाँधेर पर्खी बसेका छन् सच्चा प्रेमीहरू ।

छोरीको जन्म : नारी सिर्जनाकी मूल, भूमिका स्वरूप हुन् । यस गीतले पनि संघर्षमय नारी जीवनलाई प्रस्तुत गरेको छ । सार्थक सबै जीवनमा नहुन सक्छ तर नारी त नारी हुन् उनी सबै जीवनमा बाँधिएकी हुन्छिन् ।

मन्दिरमा छ कि मूर्तिमा : यहाँ ईश्वरीय शक्ति र मायालाई एकै साथ गाँसिएको छ । हुन पनि त हो त्यस शक्ति बिना आफ्नो सा“चो मायालाई पाउन सकिंदैन, अनि भनिदैछः एक अञ्जुली मायाको लागि पल पल ह्दय चर्किन्छ, साउन र भदौ बनेर आँखा वर्षौवर्ष बर्सिन्छ, मन्दिरमा छ कि मूर्तिमा माया ।

जुन फूल : मायामा चाहनु र पाउनु अलग दुई विश्वास हुन् । यस गीतमा मायालाई एउटा राम्रो वास्ना युक्त फूलसँग दाँजिएको छ । जसरी एउटा फूल फुल्दा फूलबारी नै उज्यालो हुन्छ, त्यसैगरी आफ्नो विश्वासलाई पाउँदा जीवन नै रङ्गीन हुन्छ तर समयको चापले यहाँ जीवन टाढिएर जीवन निरस बनेको छ ।

अल्झेछ क्यारे : यस गीतमा चियाको बुटा भन्नाले भौतिक सुख सयललाई औंल्याएका छन् रचनाकार भूपी शेरचनले । हामी सुखलाई पाउने दौडमा पारिवारिक भावनात्मक सम्बन्धबाट धेरै नै टाढा हुँदै जाने क्रम बढ्दो छ, अनि त मातृत्व भावमा सल्बलाएका भावनाहरू सल्लाझै सुसाउँछन्, बाबाको आ“सुले टीकाको थाली भरिन्छ, दाजुभाइका निधारमा बहिनीद्वारा इन्द्रेणी रङले अनुहार खुल्दैन, चेलीको हाँसोले घर आँगन उज्यालो हुँदैन ।

मोहनी लाग्ला है : मानव भएर जीवनमा एकअर्कामा मानवताको परिचय दिन सक्नुपर्छ, नत्र स्वार्थको पूतलामा परिभाषित हुन बेर लाग्दैन ।  स्वर संगम संगीतालयले पनि माया, प्रेम, सद्भाव छर्दै, मोहनी लगाउँदै नयाँ सम्बन्धको थालनी गरेका छ । अवश्य पनि सम्झना रहला आज (कार्यक्रम गरेको दिन) को साँझ, रमाइलो भेटघाट ।

(शर्मा स्वर संगम संगीतालयकी महासचिव हुन् । )

View : 380

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved