Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
विचार

संस्कृतिले गराउँछ राष्ट्रियताको बोध

जुन मुलुकको पारम्परिक संस्कृति लोप भयो, त्यो मुलुकमाथि विजेताले आफ्ना धर्म, संस्कृति लादेको पाइन्छ । तसर्थ धर्म र संस्कृतिको सम्मान गर्नु भनेको त्यो देशको राष्ट्रियताको भावनालाई अझ जागृत गर्नु पनि हो ।
प्रभाषचन्द्र झा
११ फागुन २०८१, आइतवार

एआई निर्मित तस्वीर

विश्वका प्रत्येक देशमा फरक–फरक समुदायका आ-आफ्नै कला, संस्कृति, रहनसहन, भाषा र भेषभूषा हुन्छ । तर, सवै संस्कृतिलाई सम्मानका साथै राष्ट्रिय संस्कृति एवम् राष्ट्रिय पोशाकले पहिचानको प्रतिनिधित्व गर्छ । एउटै धर्म मान्ने समुदायको संस्कृतिमा केही न केही फरक देखिन्छ । धर्म र संस्कृतिलाई सीमासँग बाधिन सकिंदैन । कुनै पनि मुलुकमा बस्दा आफ्नो देश र समुदायको पहिचानको जगेर्नामा धर्म र संस्कृतिको अमूल्य योगदान पुर्‍याउँछ । यसमार्फत विदेशमा राष्ट्रियताको बोध हुन्छ । 

अहिले भारतको प्रयागराजमा महाकुम्भ जारी छ । नेपालबाट पनि लाखौं सनातनीहरु कुम्भ नुहाउन पुगेका छन् । यस्ता धार्मिक आयोजनामा देशको सिमानाले छेक्दैन । नेपालमा पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर, सप्तरीको छिन्नमस्ता र कङ्कालिनी र मोरङ रङ्गेलीको संसारीमाइ मन्दिरले हजारौं भारतीय श्रद्धालुलाई आकर्षित गर्छन् । 

महाकुम्भमार्फत भारतको उत्तर प्रदेशमा धेरै ठूलो रोजगार सिर्जना भएको छ । नेपालका खोटाङका हलेसी मन्दिर लगायतका पहाडी क्षेत्रका अन्य प्रसिद्ध मन्दिरमा श्रद्धालुलाई आकर्षित गर्नका लागि व्यापक रुपमा प्रचार प्रसार गरी आन्तरिक र भारतीय तीर्थयात्रीलाई तान्न सक्यो भने भने प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हजारौंले रोजगार पाउने देखिन्छ । हामी कतै न कतै चुकेका छौं । प्रदेश सरकारहरुलाई धार्मिक पर्यटकलाई गन्तव्यसम्म पुर्‍याउनका लागि योजनाबद्ध रुपमा कार्य गर्नु पर्छ । धार्मिक करिडोर बनाएर आन्तरिक तथा बाह्य तीर्थयात्रीलाई आकर्षित गर्नुपर्छ ।

संस्कृतिको माध्यमबाट समुदायका पहिचानका साथै राष्ट्रप्रति समर्पणको भावना जागृत हुन्छ । जुन मुलुकको पारम्परिक संस्कृति लोप भयो, त्यो मुलुकमाथि विजेताले आफ्ना धर्म र संस्कृति लादेको कतिपय देशको इतिहासमा उल्लेख गरिएको छ । तसर्थ, सवैलाई आ-आफ्ना  धर्म र संस्कृतिको सम्मान गरी राष्ट्रियताको भावनालाई अझ जागृत गर्नु पर्दछ । हामीलाई विभिन्न कालखण्डमा घटेको घटनाबाट पाठ सिक्नुपर्छ । 

प्राचीन र मध्यकालमा राजाहरुबीच युद्ध भइरहन्थ्यो । जित्ने राजाले प्रायः आफ्ना धर्म र संस्कृति जनतालाई स्वीकार गर्न बाध्य पारिन्थ्यो । बाँच्नका लागि स्वीकार गर्नु पर्दथ्यो, नगर्ने मारिन्थ्यो वा पलायन हुनु पर्थ्यो । द्वितीय विश्वयुद्धपछि आर्थिक क्रान्तिको लहर शुरु भयो । धर्मलाई आधार बनाएर गरिने राजनीतिकको तुलनामा मानवअधिकार र प्रजातान्त्रिक अधिकारको पक्षमा अधिकांश मुलुक उभिएपछि धार्मिक विद्वेष धेरै हदसम्म घट्दै गयो । एक अर्काको धर्म र संस्कृतिलाई सम्मान गर्ने सोच विकसित भयो । 

अहिले धर्म र संस्कृतिप्रति सचेतना बढेको छ । आधुनिकताको लहडको प्रभावमा पर्ने व्यक्तिहरुले संस्कृतिलाई परिबन्द सम्झने गर्छन् । पुरानो सोच भनेर व्यङ्ग्य पनि गर्छन् । आचार्य चाणक्यले भनेका छन्, ‘राष्ट्र रह्यो भने संस्कृति जीवन्त रहन्छ । उनले जुन देशले आफ्नो धर्म संस्कृति गुमाउँछ, त्यो देशको नाम र पहिचान पनि गुम्छ र प्रजालाई दासको जीवन विताउन बाध्य हुनुपर्छ ।’ 

नेपाल-भारतको संस्कृति विश्वको प्राचीन संस्कृति मध्ये एक हो । हजारौं वर्षदेखि संस्कृति मूल रुपमा जीवित रहनुनै विशेषता हो । जवकि मिश्र, सिरिया, युनान र रोमको संस्कृति आफ्ना मूल रुपबाट विस्मृत भइसकेका छन् । भारत र नेपालमा नदी, बर पीपलको रुख, सूर्य र प्राकृतिक देवी देउताको पूजा अर्चनाको क्रम शताब्दिदेखि चल्दै आएको छ ।

आदिवासी लिम्बू, किराँत, राई, मगरहरु पनि प्रकृतिका उपासक हुन् । हवन र पूजापाठले आज पनि निरन्तरता पाएको छ । वेद र वैदिक धर्ममा करौंडो सनातनीको आज पनि उस्तै आस्था कायम छ । गीता र उपनिषदको सन्देश हजारौं वर्षदेखि हाम्रो कर्म र प्रेरणामा आधारित छन् । यो संस्कृतिमा सहिष्णुता पनि छ । सहिष्णु प्रकृतिले यसलाई स्थायित्व प्रदान गरेको छ । हिन्दुहरुले कुनै देवीदेउताको पूजा, आराधना गरे पनि नगरे पनि उनीलाई बाध्य पारिदैंन । उनलाई स्वतन्त्रता प्रदान छ ।

महाभारत युद्धमा भगवान कृष्णले अर्जुनलाई गीताको उपदेश दिएपछि अर्जुनलाई भने, ‘इति ते ज्ञानमाख्यातं गुह्याद्गुह्यतरं मया । विमृश्यैतदशेषेण यथेच्छासि तथा कुरु ।’ यस प्रकार तिमीलाई गोपनीयभन्दा गोपनीय ज्ञान दिए । यसलाई पूर्णतया चिन्तन मनन गर र त्यसपछि जे इच्छा लाग्दछ, त्यही गर ।

भगवान कृष्णले धर्मबारे उपदेश दिए, तर युद्ध गर्नेपर्छ भनेर अर्जुनलाई दवाव दिएनन् । सनातनी संस्कृतिको उदारताको कारण व्यक्तिमा ग्रहणशीलताको प्रवृत्ति विकसित हुने अवसर प्राप्त हुन्छ । वस्तुतः जुन संस्कृतिको लोकतन्त्र एवम् स्थायित्व आधारस्तम्भ छ भने त्यो संस्कृतिमा ग्रहणशीलता प्रवृत्ति स्वाभाविक रुपमा उत्पन्न हुन्छ ।

संस्कृति भनेको के हो ?

संस्कृति कुनै समाजको गहराईको व्याप्त गुणहरुको समग्र स्वरुप हो । जसले समाजलाई सोच्न, विचार गर्न र कार्य गर्न स्वरुप अन्तर्निहित हुन्छ । यो ‘कृ’ धातुबाट बनेको छ । सो धातुबाट तीन शब्द निर्माण हुन्छ । ‘प्रकृति’को मूल स्थिति यसको संस्कृत हो । यदि, यो बिग्रयो भने ‘विकृत’ हुन्छ । अङ्ग्रेजीमा संस्कृतिको लागि ‘कल्चर’ शब्द प्रयोग गरिन्छ । जो लेटिन भाषाको ‘कल्ट’ वा कल्टसबाट लिइएको छ । जसको अर्थ हुन्छ, जोत्नु, विकसित गर्नु, परिष्कृत गर्नु र पूजा गर्नु हो । संक्षेपमा भन्नुपर्दा, कुनै वस्तुलाई संस्कारित गर्नु वा परिष्कृत गर्नु हो । जसको अन्तिम स्वरुपबाट प्रशंसा र सम्मान प्राप्त होस् । ठीक उस्तै, संस्कृत भाषाको शब्द ‘संस्कृति’ हो ।

संस्कृति शब्दको अर्थ उत्तम वा सुधार गरिएको अवस्था हो । मानिस प्रगतिशील प्राणी हुन् । यसले बुद्धिको प्रयोगबाट चारैतिर प्राकृतिक परिस्थितमा निरन्तर सुधार र उन्नत गर्दै जान्छ । प्रत्येक जीवन पद्धति, रीतिरिवाज रहन सहन आचार–विचार नयाँ अनुसन्धान र आविष्कार गर्दै रहन्छ । जसको माध्यमबाट मानिस जनावरको दर्जाबाट माथि उठेर सभ्य बन्छ । सभ्यता संस्कृतिको अङ्ग हो ।

यदि, सभ्यता संस्कृतिको अङ्गको हो भने नेपालको मौंलिक संस्कृति र सभ्यता के हो ? नेपालको मौंलिक संस्कृति र सभ्यतामा आाच आउन नदिनका लागि सरकारको भूमिका कस्तो हुनुपर्ने हो ? सभ्यताबाट मानिसको भौंतिक प्रगति सूचित हुन्छ । जवकि संस्कृतिबाट मानसिक क्षेत्रको प्रगतिलाई सूचित गर्दछ ।

संस्कृति जीवनको पद्धति हो भने भोजन गर्नु, पोशाक लगाउनु, भाषा र पूजा गर्नु सभ्यता अन्तर्गत पर्दछ । तर, यसमा संस्कृति पनि सूचित हुन्छ । सरल शब्दमा भन्नुपर्दा, संस्कृति त्यो विधिको प्रतीक हो, जसको आधारमा हामी सोच्दछौं र कार्य गर्दछौं । यसमा अमूर्त, मूर्त एवम् अभौंतिक भावना र विचार सम्मिलित हुन्छ । समाजका सदस्यले मानवका सम्पूर्ण उपलब्धिहरु संस्कृतिबाट प्रेरित गर्न सकिन्छ ।

कला, सङ्गीत, साहित्य, वास्तुविज्ञान, शिल्पकला, दर्शन, धर्म र विज्ञानहरु यी सवै संस्कृतिको पक्ष हो । यसका साथै, संस्कृतिमा रीतिरिवाज, परम्पराहरु, पर्व र जीवनशैलीलगायत विभिन्न पक्षमा व्यक्तिका आफ्ना दृष्टिकोण पनि सम्मिलित हुन्छ । यस्तै, संस्कृति मानव जीवनको मानसिक पर्यावरणसाग सम्बन्ध राख्छ । जसको माध्यमबाट एक पुस्ताले अर्को पुस्तामा हस्तानान्तरण गर्दै जान्छ ।

संस्कृतिमा मानिसद्वारा प्राप्त सवै आन्तरिक र बाह्य व्यवहारहरु समाहित हुन्छ । यो चिह्नको माध्यमबाट पनि स्थानान्तरित गर्न सकिन्छ ।  यसलाई शिल्पकारले मूर्त रुपमा प्रदान गर्छन् । वस्तुतः संस्कृतको मूलकेन्द्र विन्दु, त्यो सुक्ष्म विचारमा निहित हुन्छ । जो समूहमा ऐतिहासिक रुपमा उनको सम्बद्ध मूल्यसहित विवेचना गरिएको हुन्छ । संस्कृति समाजको सुक्ष्म संस्कार हो । जसको माध्यमबाट मानिसहरु एकापसमा विचारको सम्प्रेषण गर्छन् र जीवनको विषयमा आफ्नो उद्देश्यका साथै ज्ञानलाई दिशा प्रदान गर्छन् । संस्कृति हाम्रो जीवनयापन गर्ने  र सोच्ने विधिको अन्तस्थ प्रकृतिको अभिव्यक्त हो ।

धार्मिक साहित्य कार्य, मनोरञ्जन र आनन्द प्राप्त गर्ने तरिकाको रुपमा पनि लिन सकिन्छ । संस्कृतिको दुई उप–विभाग पनि हुन्छ । भौंतिक र अभौंतिक । भौंतिक संस्कृति त्यो विषयसँग सम्बन्ध राख्छ, जसलाई हामी आफ्नो सभ्यता भन्छौं । जस्तै, भेषभुषा, भोजन, घरेलु सामानहरु । अभौंतिक संस्कृतिको सम्बन्ध विचार, आदर्श र भावनासँग प्रत्यक्ष सम्बन्ध राख्छ । 

सत्य के हो भने कुनै पनि देशको मानिसको पहिचान उनको विशिष्ठ सांस्कृतिक परम्पराबाट नै हुन्छ । सोही कारणले मुलुकबाट विदेशमा प्रतिनिधित्व गर्नेहरु राष्ट्रिय पोशाक धारण गर्छन् । त्यसको माध्यमबाट राष्ट्रिय पहिचान र संस्कृति झल्किन्छ । भारत, भुटान, श्रीलङका र सउदी अरबलगायतका मुलुकका प्रतिनिधिहरु आ–आफ्नै राष्ट्रिय पोशाकमा सजिएको हुन्छ । त्यसको माध्यमबाट देशको छुट्टै संस्कृति र पहिचानबारे सन्देश प्रवाह हुन्छ । दौंरासुरुवालको सट्टा कोटपेन्टमा सहभागी भएर आफू बढी उदारवादी देखाउन र पश्चिमी मुलुकका प्रतिनिधिलाई खुशी पार्न खोजिएको स्पष्ट हुन्छ । हिजोआज विहेवारीमा पनि कतिपयले आफ्ना सांस्कृतिक पोशाकको ठाउामा कोटपेन्टलाई प्राथमिकता दिन्छन् । यस्तै, प्रवृति रह्यो भने विस्तारै विस्तारै संस्कृति लोप हुने खतरा छ । 

संस्कृति र सभ्यता

‘संस्कृति र सभ्यता’ यी दुइटै शब्दमा मौंलिक भिन्नता छ । संस्कृतिको सम्बन्ध व्यक्ति र समाजमा निहित संस्कारसँग हुन्छ । सभ्यताले व्यक्ति र समाजको सामूहिक रुपलाई आकार दिन्छ । सभ्यतालाई अङ्ग्रेजीमा ‘सिभिलाइजेशन’ भन्छ र कल्चरसँग अन्तर स्पष्ट हुन्छ । संस्कृति र सभ्यतामा यही फरक हो । संस्कृति मानवको अन्तरमनको उच्चतम स्तर हो । मानवमा तीनस्तर हुन्छ । भौंतिक, मानसिक र आध्यात्मिक ।  प्रकृतिको राम्रो उपयोगलाई सभ्यता भन्न सकिन्छ । तर, सुसंस्कृत हुनु नै पर्याप्त होइन । जव कुनै व्यक्ति बुद्धि र अन्तरात्माको गहन स्तरको अभिव्यक्ति दिन्छ । तव, हामी संस्कृति धारण गरेको भन्न सक्छौं ।

संस्कृतिको सामान्य विशेषता 
मातापिता एवम् पारवारिक पृष्ठभूमिको माध्यमबाट संस्कृतिको बारेमा जानकारी प्राप्त हुन्छ । तर, सामाजिक –सांस्कृतिक व्यवहारहरु परिवारको सदस्यबाट सिकिन्छ । मानवको संस्कृति शारीरिक र सामाजिक वातावरणबाट प्रभावित हुन्छ । संस्कृति मानिसको समूहद्वारा विभाजन गरिन्छ । सोच, विचार र कार्यलाई पनि संस्कृति भनिन्छ । यदि, मानिसको समूहद्वारा विभाजित गरिएको  नयाँ अभ्यास गर्छ भने संस्कृति सञ्चित हुन्छ ।

संस्कृतिमा समावेश भएका विभिन्न ज्ञान एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित गर्न सकिन्छ । समय वित्दै गएपछि बढीभन्दा बढी ज्ञान संस्कृतिमा थपिंदै जान्छ । जसको माध्यमबाट जीवनमा आइपरेका कठिनाइलाई समाधान गर्न मद्दत पुग्छ । संस्कृतिलाई अनेक प्रकारका समाजले अपनाएका व्यवहारका तरिका प्रदान गर्छ । त्यसले कुन कार्यको सम्पादन कसरी गर्ने र मानिससाग समूचित व्यवहार गर्ने संस्कार प्रदान गर्छ ।

मुलुक सङ्घीय गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेपछि अधिकांस आदिवासी जनजातिका साथै विभिन्न समुदायमा आ-आफ्ना पहिचान र संस्कृतिको लागि जोडदार रुपमा आवाज उठाएको देखिन्थ्यो । नेपालमा मात्रै होइन कि विश्वका विभिन्न धर्मालम्बी र समुदायले आफ्ना संस्कृतिप्रति समर्पणको भावना देखाउँछ । तर, आधुनिकताको नाममा विदेशी  संस्कृति अपनाउनु उचित होइन । भारतीय टेलि सिरियलमा विवाहोत्सव विधिमा धेरै कुप्रभाव परेको छ । टेली सिरियलले गर्दा संस्कृतिमाथि आघात पर्न थालेको छ ।  

मानव जीवनमा संस्कृतिको महत्व धेरै बढी हुन्छ । संस्कृतिबेगर मानिस अस्तित्वविहिन हुन्छ । संस्कृति परम्परा, आध्यात्मिक र भौंतिक पक्षसँग निरन्तर जोडिएको हुन्छ । यसले जीवनको उद्देश्य, बाँच्ने तरिका सिकाउँछ । मानव संस्कृतिको निर्माता हो र संस्कृतिले मानवलाई मानवताको ज्ञान प्रदान गर्छ । संस्कृतिको एक मौंलिक तत्व भनेको धार्मिक विश्वास र सोको प्रतिकात्मक अभिव्यक्ति हो । हामीलाई धार्मिक पहिचानको सम्मान गर्नुपर्छ  । 

सत्य, शिव र सुन्दरम् यो तीन शाश्वत मूल्य हो । जो संस्कृतिको निकटसँग जोडिएको छ । यो संस्कृति नै हो जसले दर्शन र धर्मको माध्यमबाट सत्यको निकट ल्याउँछ । संस्कृतिले नै हामीलाई नैतिकवान बनाउछ र अर्को मानवको निकट पुर्‍याउँछ । यसका साथै, हामीलाई प्रेम, सहिष्णुता र शान्ति पाठ पढ्ने अवसर प्राप्त हुन्छ ।

View : 217

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved