Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

फलोअप

कोशी ब्यारेजमा बेपत्ता दुई सशस्त्र प्रहरी गोताखोरका प्रशिक्षक भएको खुलासा

बेपत्ता भएका सशस्त्र प्रहरीका सुरज साउद र हरदेव राजवंशी गोताखोरका प्रशिक्षक रहेको प्रहरी स्रोतले जनाएको छ । साउद डोटी र राजवंशी झापाका हुन् ।
उद्‌घोष सम्वाददाता
२२ जेठ २०८२, बिहिवार

विराटनगर । सप्तकोशी नदीको कोशी ब्यारेजमा उद्दार अभ्यासका क्रममा बेपत्ता भएका सशस्त्र प्रहरीका दुई गोताखोर सिकारु प्रशिक्षार्थी नभई प्रशिक्षक (गुरुबा) भएको खुलेको छ । 

उनीहरू कोशी ब्यारेजको उत्तरपटि प्रशिक्षार्थीहरूलाई अभ्यास गराइरहेका थिए ।

निरन्तरको बर्षाले बहाव बढेको कोशी ब्यारेजमा तल्लो भागमा ब्यारेजका ढोका खोलिएका थिए । उनीहरू माथिल्लो क्षेत्रमा अभ्यासमा रहेको बेला अक्सिजनसहित बेपत्ता भएका हुन् ।

बेपत्ता भएका सशस्त्र प्रहरीका सुरज साउद र हरदेव राजवंशी गोताखोरका प्रशिक्षक रहेको प्रहरी स्रोतले जनाएको छ । साउद डोटी र राजवंशी झापाका हुन् । बिहीबार विहानदेखि उनीहरु त्यहाँ तालिम गरिरहेका थिए ।

दक्षिणतर्फ ब्यारेजका ढोका खुलेका कारण नदीमुनि पानीको तिब्र बहाव रहेकोले उनीहरू पानीको सतहमुनि परेको भूमरीमा फसेर बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको जनाइएको छ ।

प्रशिक्षक नै बेपत्ता भएपछि तालिममा सहभागी प्रशिक्षार्थीहरूले तत्कालै खोज्ने प्रयास गरेका थिए । तर उनीहरूलाई समेत केहीबेर बगाएको थियो ।

स्रोतका अनुसार उद्दार तालिमको समापन शनिबार हुने तयारी थियो । बेपत्ता गोताखोरको खोजीमा सप्तरी र सुनसरीबाट थप उद्दार टोली परिचालन भएको जनाइएको छ । 

सशस्त्र प्रहरीको मधेस प्रदेशको विपद्जन्य उद्दार टोलीको आयोजनामा उक्त तालिम गरिएको थियो । तालिमको समापन आउँदो शनिबार गर्ने तयारी भइरहेको बेलामा गोताखोर नै बेपत्ता भएका हुन् ।

View : 278

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved