पूर्वाञ्चल बालसेवा आश्रमकी आमा सीता पोखरेलको जन्म नेपालको कोशी प्रदेशको संखुवासभा जिल्ला चैनपुरको भञ्ज्याङखर्क भन्ने ठाउँमा बुबा पण्डित लक्ष्मीनारायण गौतम र आमा सरस्वती गौतमको चौथो सन्तानको रूपमा वि.सं. २००६ सालमा भएको हो । चार दाजुभाइ र चार दिदीबहीनी मध्ये माहिली छोरीको रूपमा आमा सीताको जन्म भएको थियो । उहाँका दाजुभाइ क्रमश: लेखनाथ, पीताम्बर, रेवती र श्यामभाइ गौतम र दिदीवहिनीहरू क्रमश: राधिका, सीता, विष्णु र दुर्गा नामले परिचित हुनुहुन्छ । सीता आमा बाह्र (१२) वर्षको उमेरमा धरान विजयपुरका बालमुकुन्द पोखरेलसँग विवाह बन्धनमा बाँधिनु भएको थियो ।
जीवनका अनेक आरोह अवरोहसँग जुद्धै अगि बढ्ने क्रममा अनेक दुःखकष्ट सहदै सामाजिक जीवन यापन गर्नु हुने सीता पोखरेलको समाज सेवा, मानव सेवा नै मानवको मुख्य काम रहेछ भन्ने कुराको ज्ञान भयो । सो कुरो ज्ञान भई दुःख पाएका मानवहरूको सेवा गर्ने मनमा उद्देश्य बन्दै गयो । सोही उद्देश्य अनुसार उहाँले अब म दुःख पाएका, अलपत्र परेका असहाय र अनाथहरूको उद्धारका लागि केही गर्छु भन्ने मनमा अठोट लिएर तनमनले लाग्न थाल्नुभयो ।
त्यही अठोटका साथ घर–घरमा गएर यथाशक्य दान सहयोग माग्न थाल्नु भयो । यस क्रममा उहाँले स्वेच्छाले सकेको दान गर्नुहोस् नसके पनि एक मुठ्ठी अन्न र एक रूपैयाँ पैसा दिनुहोस् भनि मुठ्ठी दानबाट उठेको पैसाले अनाथ बालबालिकाहरूलाई लालनपालन गर्दै ‘पूर्वाञ्चल अनाथ आश्रम’ नाम दिई संस्था स्थापना गर्नुभयो । सोही ‘पूर्वाञ्चल अनाथ आश्रम’ आज ‘पूर्वाञ्चल बालसेवा आश्रमको नामले परिचित छ ।
संस्था अगाडि बढ्दै गयो । एकसय भन्दा धेरै असहाय तथा बालबालिकाहरू जम्मा भए । ती सबैलाई सीता आमाले ममता प्रदान गर्दै लालन पालनका साथै स्वास्थ्य र शिक्षासमेत प्रदान गर्दै आमा र बुवाको भूमिका निर्वाह गरिरहनु भएको छ ।
पूर्वाञ्चल बालसेवा आश्रमकी आमा सीता पोखरेलको जन्म नेपालको कोशी प्रदेशको संखुवासभा जिल्ला चैनपुरको भञ्ज्याङखर्क भन्ने ठाउँमा बुबा पण्डित लक्ष्मीनारायण गौतम र आमा सरस्वती गौतमको चौथो सन्तानको रूपमा वि.सं. २००६ सालमा भएको हो । चार दाजुभाइ र चार दिदीबहीनी मध्ये माहिली छोरीको रूपमा आमा सीताको जन्म भएको थियो । उहाँका दाजुभाइ क्रमश ः लेखनाथ, पीताम्बर, रेवती र श्यामभाइ गौतम र दिदीवहिनीहरू क्रमश ः राधिका, सीता, विष्णु र दुर्गा नामले परिचित हुनुहुन्छ ।
सीता आमा बाह्र (१२) वर्षको उमेरमा धरान विजयपुरका बालमुकुन्द पोखरेलसँग विवाह बन्धनमा बाँधिनु भएको थियो । आज दशौं हजार मानवकी ममतामयी आमा बन्न सफल हुनुभएको सीता आमाका जीवनसाथी तथा श्रीमान बालमुकुन्द पोखरेल पनि आफ्नो जागिरबाट सेवानिवृत्त भएपछि आफ्नी धर्मपत्नी सीताले गरेको कामलाई नै तनमनले साथ दिई मानवसेवा मै लीन भएर लाग्नुभएको छ ।
आज पूर्वाञ्चल बालसेवा आश्रमको विकाश सुदृढ र सुसज्जित हुँदै समृद्धितर्फ गइरहेको छ । यस आश्रमका सबै बालबालिका दिउँसो विद्यालय जाने र विहान बेलुकाको आश्रममा नै ट्युसन पढाउने शिक्षकको समेत व्यवस्था गरिएको छ भने असहाय तथा बृद्धबृद्धाहरूको लागि पूजापाठ र धर्मकर्म गर्न टाढा जान नसक्ने भएकाले गर्दा आश्रम परिसर मै शिवालय र सरस्वती देवीको मन्दिर समेत निर्माण गरिएको छ । जहाँ नित्य पूजापाठ गर्न भनी एक पुजारीको आवास सहित व्यवस्था गरिएको छ ।
यसरी यो आश्रम मात्र नभएर देवधाम बनेको छ । सीता आमाले जसरी बालबालिकादेखि लिएर बृद्धबृद्धाहरूसम्मको सेवा गरिरहनु भएको छ, त्यसैगरी उहाँले गौसेवा पनि गरिरहनु भएको छ । हाम्रो हिन्दु संस्कारमा गाईलाई आमा सरह मान्ने चलन छ । त्यसैले गाईलाई गौमाता भनिन्छ । त्यसै संस्कार अनुसार नै सीता आमाले गाईलाई आमा सरहनै ठानी गौमाताको पनि सेवा गरिरहनु भएको छ । यसैगरी आश्रममा बालबालिकाको लागि खेल्ने खेल मैदान, अध्ययनका लागि पुस्तकालयको पनि राम्रो व्यवस्था गरिएको छ ।
यसैगरी फूलबारी सहितको पार्क, सभाकक्ष र अतिथिगृहको पनि राम्रो व्यवस्था गरिएको छ ।
सीता आमाको पालनपोषण र रेखदेखमा पूर्वाञ्चल बालसेवा आश्रमबाट धेरै बालबालिकाहरूलाई देशको सक्षम नागरिक बनाउने काम भइरहेको छ । हजारौं बालबालिकाहरू देशको सक्षम नागरिक बनिसकेका छन् । जो सक्षम नागरिक बनेका छन् तिनीहरूमध्ये कतिपय अहिले देशका विशिष्ट पदहरूमा कार्यरत छन् भने कतिपय नागरिक आफ्नो व्यवसायतर्फ लागेर राम्रो आम्दानी गरिरहेका छन् ।
कोही कोही त्यहाँबाट विद्या र ज्ञानले सुसज्जित भई आज विदेशसम्म पुग्न सफल भएका छन् । एउटी नारी, छोरी, बुहारी, समाजसेवी र आमा बन्दै मानवसेवामा निलिप्त भएकी सीता आमालाई आज हामी जिउँदो देवीको रूपमा मान्दछौं । सीता आमाको रूपमा रहेकी सबैको कल्याण गर्ने यस्ती देवीलाई आज हामीले पनि देख्न र भेट्न पाएका छौं ।
ठूलो तथा राम्रो चित्त भएको व्यक्ति, त्यागी, तपस्वी, दानी, इमान्दार र मन उज्यालो भएको हुँदा त्यसमा ईश्वरको वास हुन्छ । त्यस्तो व्यक्ति सामाजिक बन्दछ र त्यही उपकारी र उदारताको भावनाले महामानव, पुरूषोत्तम र देवता समानको सम्मानसमेत पाउँदछन् । नीति श्लोकहरूमा पनि भनिन्छ ‘उदार चरितानां तु बसुदैव कुटुम्वकम्’ त्यसैले उदार भावना भएकाहरूका लागि यो एक परिवार सरह बनेको हुन्छ । त्यसैकारणले पनि परोपकारी तथा जनसेवा गर्ने सीताआमा लोकप्रिय हुनुहुन्छ ।
उहाँको सरलता, साहस, दया, स्वतन्त्र विचार र लगनशीलताले नै सबैलाई प्रभावित बनाउँछ । उहाँ आफू जति सानो वा सामान्य मान्छे भएर देखिनुहुन्छ भित्रबाट त्यति नै सबल, सक्षम, दृढ, परोपकारी र निडर हुनुहुन्छ । उहाँ भावनाकी धेरै धनी हुनुहुन्छ साथै साहित्यलाई पनि उत्ति नै माया गर्नुहुन्छ । त्यसैको फलस्वरूप उहाँको भावनाको तरेलीका स्मृतिका हाल (लघुकाव्य) वि.सं. २०६३ मा प्रकाशमा आएपछि यो निकै लोकप्रिय भयो । जसको फलस्वरूप यो लघुकाव्य वि.सं. २०६३ मा पुनः प्रकाशन भयो ।
कवयित्री सीता पोखरलेको जीवनले भोगेको पीडाजन्य कविताले पाठकका आँखाहरू रसाउने नै छन् । दुःख र कष्टले भरिएका मर्म स्पर्शी अभिव्यक्ति दिन सक्षम यो खण्डकाव्य समाजको ज्वलन्त उदाहरण पनि हो । एउटी नारीले जीवनभर संघर्ष गरेर आफ्नो र आफ्नो परिवारको लागि मात्र नभएर कयौं टुहुरा, असक्त तथा असहायहरूको निम्तिसमेत पालनपोषण गर्दै समाजमा अस्तित्व कायम गर्न सक्नु सामान्य काम होइन । यो धेरै ठूलो चुनौतीले भरिएको कार्य हो ।
सीता पोखरेलले आज यो समाजमा जुन प्रतिष्ठित स्थान ओगट्न सफल हुनुभएको छ त्यसमा उहाँले गर्नुभएको परोपकारी सेवा भावना वा कर्मले नै हो । त्यसैले उहाँ धन्यधन्य हुनुहुन्छ ।
सीता पोखरेलद्वारा लिखित ‘स्मृतिका छाल’ मा नेपाली समाजका संस्कार, ंसंस्कृति तथा परिवारिक व्यवहारका धेरै पक्षहरू समेटिएका छन् । भाषागत दृष्टिले हेर्ने हो भने सरलता एवं सहज भाषा प्रवाह नै यस लघुकाव्यको विशेषता बन्छ । जसलाई सबै पाठकहरूले राम्ररी बुझ्दछन् । यो काव्य सम्वेदनशील बनेर हृदयले पढिने काव्य बनेको छ । यसले त्याग नेपाली नारीको प्रतिनिधित्व गरेको कुरा सबै पाठकले महसुस गर्ने छन् भन्ने कुरा निर्भयपूर्वक भन्न सकिन्छ । मान्छेका छोराछोरी मान्छे कै सामुन्ने मान्छे नै भएर स्वाभिमान र आत्मस्वावलम्बनका साथ उभिनु पर्छ भने उहाँको पाइन्छ । र
त्यसैका लागि नै उहाँ आफ्नो जीवन उत्सर्ग गर्नु हुन्छ । उहाँ स्मृतिका छालमा लेख्नु हुन्छ –
‘अपाङ्ग वृद्ध रोगी र दुःखी गरिब बालक ।
देख्नामा लाग्दथ्याृे श्रद्धा सकेको गर्न मद्दत ।।
यसरी आफूले भोगेका र देखका कुराहरू कवि भावनाहरू बहँदै कवितामा पनि पोख्नु हुन्छ । उहाँको जीवनको पूर्वार्ध ज्यादै संघर्षपूर्ण रहेको कुरा उहाँको ‘स्मृतिका छाल’ पढेपछि स्पष्ट हुन्छ । ‘परोपकाराय पुण्याय पापाय परपीडम्’ लाई चरितार्थ गर्दै उहाँ हाल सफलताका दिनहरू बिताइरहनु भएको छ । कोमल भावना, भावुक हृदय, उदार भावनाका तरङ्गहरूलाई अक्षरको मालामा उनेर तरङ्गहरूमा तरङ्गित कवि भावनाको ‘स्मृतिका छाल’ ले हरेक मानवका हृदयमा स्पर्श गर्ने छ ।
यो योग्यात्मक पनि छ । यसमा सामाजिक संस्कार संस्कृतिका भावहरू छताछुल्ल भएका छन् ।
तत्कालीन नारी समाजका र समग्र असहाय मानव समाजका कथा व्यथाले पाठकहरूलाई सम्वेदनशील तुल्याएको छ । त्यसैले यो लघुकाव्य सृजना सफल भएको मानिने छ । यो लघुककाव्य कवयित्रीको जीवनको पूर्वार्धको केही भागमध्ये एक भाग वा एक अंश मात्र हो । यसमा जीवनको सम्पूर्ण भाग समेटिन सक्यो भने पूर्ण महाकाव्य बन्ने छ ।
साहत्यिक समाजको ऐना हो भने सामाजिक जीवनका कटु मधु अनुभूतिहरूलाई आत्मसाथ गर्दै भावनात्मकताले अक्षरमा उनेर संसारमा चेतनशील किरणहरू फैलाएर समाजमा रहेका असहाय अशक्तहरू उद्धार गर्दै भावनाका अक्षरद्वारा स्मृतिका छालहरू उद्घाटन गर्नु सायद असल साहित्यकार वनेर देखिन आएको वा उहाँको मुख्य कर्तव्य बनेको पनि देखिन्छ ।
कविताको अध्ययन गर्दा विषय बस्तु परिवेश, उद्देश्य, दृष्टिविन्दु आदिका माध्यमबाट विश्लेषण गर्न सकिन्छ । आजका अधिकांश कविहरूले आफ्ना कविताहरूमा यही विधि अपनाएको पाइन्छ ।
उहाँ आफ्नो मनको भावना कलमको माध्यमबाट यसरी पोख्नु हुन्छ ः–
‘एउटा नाटक जस्तै छ हेर्दा मानव जीवन ।
आफ्नै किसिमका हुन्छन् अनुभूति र भावना ।।
आफ्नै जीवनका सत्य घटना लेख्नु भो मन ।
भोगेका घटना हुन् यी यसमा छैन कल्पना ।।’
त्यसैले आरोह अवरोहहरूको ज्ञान हुन्छ । तसर्थ सबै नेपालीले यस्ती साहसी, उच्च मनोबल भएकी, लगनशील, मायाकी खानी, परोपकारी भावनाले आतेप्रोत भएकी आमा सीता पोखरेलको ‘स्मृतिका छाल’ एक पटक मात्र भए पनि पढ्नै पर्दछ । कला, कविता, साहित्य, समाजसेवा, मानवसेवा, गौसेवामा अतुलनीय योगदान गरेर आफ्नो तन, मन र धनले आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नु भएकी, सदावहार नदी सरह कहिल्यै नसुकी तथा नथाकी बहने बालसेवा आश्रमकी हजारौं छोराछोरीकी आमा अविभावक बन्न सफल सीता पोखरेल पूर्वाञ्चलको मात्र नभएर नेपालकै गरिमामय आमा मात्र नभएर गुरूआमा पनि बन्नुभएको छ । उहाँबाट हामी नेपालीहरूले कतिपय कुराहरू सिकेका छौं भने अझ धेरै कुराहरू सिक्न बाँकि नै छन् । त्यसैले उहाँलाई पूर्व नेपालकी संघर्षशील नारी असहायहरूको ममतामयी आमा, वात्सल्यकी पात्र भनेर चिन्यौं भने न्यायोचित ठहरिने छ ।
पूर्वाञ्चल बालसेवा आश्रमकी संस्थापक अध्यक्ष सीता पोखरेले कविता त्रैमासिक पत्रिकाकी संरक्षकसमेत हुनुहुन्छ । साथै उहाँ पचासभन्दा धेरै संस्थामा आजीवन सदस्य रहेर कार्य गरिरहनु भएको छ । त्यसैले उहाँ वहुआयामिक व्यक्ति मानिनु हुन्छ । यसैगरी उहाँले–गोरखा दक्षिणबाहु चौथो २०४९, वाल हितकारी गुठीबाट पुरस्कार २०४९, महिला तथा समाज कल्याण मन्त्रालयबाट समाज सेवा पुरस्कार २०४८, ब्रम्हकुमारी राजयोग सेवाकेन्द्र काठमाडौंबाट सम्मानपत्र २०५५, अन्तर्राष्ट्रिय स्वयम्सेवी वर्ष २००१ बाट सम्मानपत्र, विराटनगर महानगरपालिकाबाट सम्मान २०६१, नारी मासिक पत्रिकाद्वारा सम्मान–२०६१ बाटसमेत पुरस्कार तथा सम्मान पाइसक्नु भएको छ ।
त्यस्तै उहाँले भारत, जर्मन, जापन, हल्याण्ड, स्पेन, लक्जम्बर्ग, अमेरिका, फ्रान्स लगायतको देशहरूको पनि भ्रमण गरिसक्नु भएको छ । यसरी विदेश भ्रमण गरेर आफूले पाएको अनुभव र ज्ञानलाई उहाँले जीवन र कार्यमा उतार्नु भएको पाइन्छ ।
अन्त्यमा सीता सीता टिपेर पोखिएका थोपा थोपा जम्मागरी आश्रम स्थापना गरेर दैनिकी सयभन्दा धेरै मानवको सेवा गर्ने आमा सीता पोखरेलको कामले उहाँको नामलाई सार्थकता दिएको छ ।
नाम अनुसारको काम उहाँले गरेर दुनियालाई देखाइदिनु भएको छ । यो राज्यले गर्नु पर्ने काम एउटी नारीद्वारा हुनु धेरै गौरवको कुरा हो । उहाँ नेपालको एक विभूति हुनुहुन्छ । उहाँ र उहाँको आश्रमप्रति हाम्रो धेरै धेरै शुभकामना ।
View : 331
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved