Biratnagar, Morang, Nepal
४ वैशाख २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

केराबारीका अध्यक्षको शिक्षामन्त्रीलाई पत्र

‘भर्ना अभियान प्रभावित भयो, माग सम्बोधन गरिदिनु’

उद्‌घोष सम्वाददाता
२७ चैत २०८१, बुधवार

विराटनगर । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न शिक्षामन्त्रीलाई आग्रह गरेका छन् । 

शिक्षक र सरकारबीच पटक–पटक भएका सम्झौता पालना नभएको भन्दै शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा गाउँपालिकाको शैक्षिक कार्यक्रम र नयाँ शैक्षिक सत्रको विद्यालय भर्ना अभियान प्रभावित भएको अध्यक्ष मिरिङचिङले बताए ।

उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई सम्बोधन गर्दै मंगलबार शिक्षकहरूको जायज माग तत्कालै सम्बोधन गरी उच्च मनोबलका साथ विद्यालय फर्किने वातावरण बनाउन मन्त्रालयमा पत्राचार गरेका हुन् । 

शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू चैत २० गतेयता काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण केराबारी गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरू काठमाडौं गएपछि विद्यालयको कामकाज र गाउँपालिकाको शैक्षिक कार्यक्रम प्रभावित भएको उक्त पत्रमा जनाइएको छ ।

‘शिक्षक महासंघद्वारा मिति २०८१ चैत्र २५ गतेदेखि अनिश्चितकालिन शैक्षिक हडताल नै घोषणा भएकोले शैक्षिकसत्र २०८२ सालको विद्यालय भर्ना अभियान नै प्रभावित हुने देखिन आएकोले शिक्षक कर्मचारीहरुको जायज मागप्रति समर्थन र ऐक्यावद्धता जनाउँदै उहाँहरुको न्यायोचित मागहरु अविलम्ब सम्बोधन गरी उच्च मनोवलकासाथ विद्यालयमा फर्कने वातावरण निर्माणका लागि आवश्यक सहजीकरण गरिदिनु हुन अनुरोध छ ।’ अध्यक्ष मिरिङचिङले शिक्षामन्त्री भट्टराईलाई लेखेको पत्रमा उल्लेख छ ।

आन्दोलनका लागि मोरङका अधिकांश स्थानीय तहका सामुदायिक विद्यालयका शिक्षक शिक्षिका, विद्यालय कर्मचारीहरू काठमाडौं पुगेका छन् । 

नेपाल शिक्षक महासंघको नेतृत्वमा उनीहरूले शैक्षिक हड्तालको घोषणा गर्दै सरकारलाई निर्णायक आन्दोलनको चेतावनी दिइसकेका छन् ।

View : 93

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved