शिक्षादीप कलेजमा तेस्रो जलवायु सम्मेलन
विराटनगर । बढ्दो जलवायु परिवर्तनको असरबारे विराटनगरस्थित शिक्षादीप कलेजका विद्यार्थीहरूले गर्मागर्मी बहस चलाएका छन् ।
कलेजको सभाहलमा आयोजित तेस्रो जलवायु सम्मेलनका अवसरमा विद्यार्थीहरूले जलवायु परिवर्तनमा नकारात्मक असर गरिरहेका अनेकौं विषय र मुद्दामा जोडदार प्रस्तुतिकरण गरेका थिए ।
कलेजको कक्षा ११ जीव विज्ञानतर्फ अध्ययनरत विद्यार्थीहरूले जलवायु परिवर्तनको असरबारे नेपालसहित विश्वमा परिरहेका गम्भीर असरबारे ‘तेस्रो जलवायु सम्मेलन–२०२५’ आयोजना गरी समुहगत प्रस्तुतिकरण गरेका हुन् ।
‘ग्रहलाई सितल पार, हृदयलाई न्यानो पार’ भन्ने नाराका साथ आठ समूहमा विद्यार्थीले गरेको अनुसन्धानमुलक प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले जलवायु परिवर्तनको असरका कारण विश्व नै प्रदुषणको चपेटामा परेको बताए ।
उनले हिमालहरू चट्टानमा परिवर्तन हुँदै जाँदा ठुलो जोखिम निम्तिएको भन्दै चिन्ता व्यक्त गरे ।
जलवायु परिवर्तनकै कारण कोशी प्रदेशमा यो सिजनमा फुलिसक्ने लालिगुराँस अहिलेसम्म पनि पूर्ण रुपमा नफुलेको उनले बताए । यसले विस्तारै मानव जीवनलाई नै संकटतर्फ धकेलिरहेको उनले बताए ।
कलेजका प्रिन्सिपल ज्ञानु खड्काले जलवायु परिवर्तनले ल्याएका प्रमुख चुनौति र समाधानका उपाय समेत विद्यार्थीहरूले समेटर प्रस्तुतिकरण गर्न सफल भएको बताए ।
सरकारले गर्नुपर्ने अध्ययन अनुसन्धानको काम कलेजका विद्यार्थीहरूले नै जलवायु सम्मेलनमार्फत हरेक बर्ष अघि बढाइरहेको दाबी गरे ।
शिक्षादीपले हरेक विद्यार्थीलाई ज्ञानसँगै सीप पनि सिकाउने भएकोले विद्यार्थीहरूले अध्ययनमा रुचिपूर्ण सहभागीता जनाउँदै आएको बताए ।
सञ्चालक समिति सदस्य रामचन्द्र अधिकारीले शिक्षादीपले अव सिधै काठमाडौंका कलेजहरूले झैं राष्ट्रव्यापी सवाल तय गरी त्यसबारे राष्ट्रिय बहस चलाउने अवस्थामा पुगिसकेको बताए । उनले तीन बर्षदेखि कलेजका विद्यार्थीले जलवायु सम्मेलनमार्फत वातावरण संरक्षणका सवाल उजागर गर्दै आएको जानकारी दिए ।
कलेजका अध्यक्ष एवं कोशी प्रदेश सभाका सांसद भीम पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा नाष्टका सहप्राज्ञ इन्द्रमणि भगतसहित कलेजका प्राध्यापक र विज्ञान संकायका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
सम्मेलनकै अवसरका कलेजले अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थी सिरिन भट्टराईलाई सम्मानित गरेको थियो ।
उनी नेपाल राष्ट्र बैंक विराटनगरले आयोजना गरेको निवन्ध प्रतियोगितामा तेश्रो भएकी थिइन् । त्यस्तै ललितकला संगम विराटनगरले आयोजना गरेको चित्रकलामा सर्वोत्कृष्ट हुन सफल भएकी थिइन् । चित्रकलामै सर्वोत्कृष्ट हुन सफल अपेक्षा राईलाई समेत सोही अवसरमा सम्मानित गरिएको जनाइएको छ ।
View : 437
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved