Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

एमालेको जरा अभियानको समापन

उद्‌घोष सम्वाददाता
६ वैशाख २०८२, शनिवार

इनरुवा । नेकपा एमालेको वडा केन्द्रित जरा अभियान सुनसरीको इनरुवा– ५ ज्येष्ठ नागरिकलाई सम्मान गर्नेसहितका कार्यक्रम गरी शुक्रबार सम्पन्न भएको छ । नयाँवर्षको शुभकामना आदानप्रदानसमेत गरिएको कार्यक्रममा १०५ वर्षीय कृष्णमायादेवी कोइरालालाई सम्मान गरिएको छ ।

कार्यक्रममा इनरुवा–५ का ६८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको जरा अभियानका प्रमुख अभियन्ता तथा एमाले कोशी प्रदेश कमिटी सदस्य लोकेश निरौलाले जानकारी दिएका छन् । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य भीम आचार्यले सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै आचार्यले देशभित्रै रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमा जाने क्रम नघटेकोमा चिन्ता व्यक्त गरे । सरकारले अब युवालक्षित बजेट निर्माणमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । आचार्यले चार लेनको इनरुवा–दुहबी सडक खण्डलाई प्रदेशको गौरवको आयोजनाको रूपमा अगाडि बढाइएको बताए । उनले आफू मुख्यमन्त्री भएका बेला डिजाइन स्टिमेट गरेकाले ठेक्का लगाउन प्रदेश सरकारलाई निरन्तर ‘फलोअप’ गरिरहेको बताए ।

एमाले केन्द्रीय सदस्य जगदीश कुसियतले देशको लोकतान्त्रिक व्यवस्था मजबुत बनाउन पार्टी जनताको बीचमा निरन्तर लागिरहेको बताए । एमालेको वडा केन्द्रित जरा अभियान गत फागुन २४ देखि अभिमुखीकरण र सदस्यता नवीकरण गरी सुरु गरिएको अभियानका प्रमुख अभियन्ता एमाले कोशी प्रदेश कमिटी सदस्य लोकेश निरौलाले जानकारी दिएका छन् ।

समापन कार्यक्रममा नेकपा एमाले अनुशासन आयोग सदस्य पोष्टकुमार नेपाल, कोशी प्रदेश कमिटी सदस्यहरू नीरा खनाल, रामप्रसाद मेहता,  कालुराम गुरुङ, राजकुमार दङ्गाल, सुनसरी जिल्लाका कार्यवाहक अध्यक्ष पर्शुराम यादवसहित विभिन्न जनसंगठनका नेताहरू, इनरुवा नगर कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो । पार्टी वडा कमिटी उपाध्यक्ष लालबहादुर श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता वडा कमिटी अध्यक्ष पार्वतीराज पोखरेलले गरेका थिए ।

View : 590

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved