Biratnagar, Morang, Nepal
११ वैशाख २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

माओवादी महानगर सम्मेलन, पदाधिकारी निर्वाचन अन्यौल

उद्‌घोष सम्वाददाता
११ वैशाख २०८२, बिहिवार

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको सात पदाधिकारी चयनका लागि हुने निर्वाचन अन्यौलमा परेको छ । 

आकांक्षीहरू भने पार्टीको केन्द्रीय ‘लाइन’ अनुसारको टिम बनाएर आफ्नो पक्ष बलियो देखाउन तल्लिन बनेका छन् ।

महानगर कमिटीमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सर्वसम्मत नेतृत्व चयनका लागि मञ्चबाटै दवावपूर्ण भाषण गर्दै प्रतिष्पर्धालाई गुटबन्दीको संज्ञा दिएका थिए । त्यसैको परिणाम कोशी प्रदेशस्तरका नेताहरूको उल्लेख्य उपस्थिति रहने विराटनगरमा निर्वाचनको अन्यौलता बढेको हो ।

अध्यक्षदेखि उपसचिवसम्म आकांक्षीको लर्को छ । उनीहरू केही नेताहरूसँगै सल्लाह गरेर भित्रभित्रै चुनावी माहौलमा केन्द्रीत बनेका छन् । आफ्नो पक्षमा नेताहरूलाई प्रभाव पार्न विहान बेलुकै भेटघाटमा जुटेका छन् ।

आइतबार विराटनगर–४ स्थित शुभ ब्याङ्केटमा महानगर सम्मेलनको उद्घाटन गरिएको थियो । ९९ सदस्यीय महानगर कमिटीमा ८१ जना भने बन्दसत्रबाट चुनिइसकेका छन् । तिनै ८१ जनाले अब पदाधिकारी चयन गर्नेछन् । 

माओवादी महानगर कमिटीको अध्यक्षका लागि अहिले मुख्यतया दुईजनाबीच प्रतिष्पर्धा हुने कार्यकर्ताहरू बताउँछन् । पार्टी संस्थापनको हवाला दिंदै वर्तमान सचिव नमिता न्यौपाने र अर्का नेता जनार्दन शर्माको समूहबाट उपाध्यक्ष दिनेश राजवंशी (देव) बीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

महानगर कमिटीको ८१ जनाभित्र चयन भइसकेका एक सदस्यका अनुसार जनार्दन समूहबाट अध्यक्षको दाबेदार रहेका राजंवशी बलियो भएका कारण संस्थापनले निर्वाचनको प्रक्रिया लम्ब्याउँदै लगेको हो । 

पदाधिकारी चयनको प्रक्रियाका लागि घोषित निर्वाचन कमिटीका सदस्यले समेत निर्वाचनसम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढेको जानकारी दिए । उनले नेताहरूले तयार रहन भनेपछि मात्रै आफूहरूले काम अघि बढाउने बताए ।

न्यौपानेको पक्षमा बहुसंख्यक नेताको समर्थन जुटाउन कसरत जारी रहेका कारण अन्य पदका आकांक्षीहरूले पनि आफ्नो दाबी जोडदार बनाउँदै लगेका छन् । 

उपसचिव पदमा एक्लो महिला आकांक्षी भएको दाबी गरेकी चम्पा कार्कीले पार्टीले पछाडि पारिएका महिलालाई अगाडि ल्याउनुपर्ने बताइन् । 

पार्टी अध्यक्ष दाहालले नै महिला, दलित, मधेसी, मुस्लिमलगायतका क्षेत्रलाई माओवादीले विशेष स्थान दिने बताउने गरेका कारण उपसचिव पदमा आफ्नो दाबी बलियो बनेको बताइन् ।

महानगर कमिटीको सम्मेलनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष चयन गर्नुपर्ने छ । 

बुधबार दिनभर पनि निर्वाचनको प्रक्रिया अघि नबढेका कारण कार्यकर्तामा भने झन अन्यौलता बढेको जनाइएको छ ।

View : 101

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved