Biratnagar, Morang, Nepal
११ वैशाख २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

४७ जना सहसचिवको एकसाथ सरुवा, विराटनगरका मेयरले जनाए आपत्ति

सरसल्लाह नगरी गएिको सरुवाले स्थानीय तहको अपमान गर्न खोजिएको मेयर कोइरालाले बताएका छन् ।
उद्‌घोष सम्वाददाता
१० वैशाख २०८२, बुधवार

विराटनगर । संघीय सरकारले ४७ जना राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरूको सरुवा गरेको छ । सहसचिव सरहका यी कर्मचारीहरूको सरुवा सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने मंगलबार मन्त्रिपरिषद्को निर्णयबमोजिम भन्दै ४७ सहसचिवको विभिन्न कार्यालयमा सरुवा भएको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार, विराटनगर महानगरपालिकामा रामचरित्र मेहता प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका छन् । 

त्यस्तै, कुनै समय सोही कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत भएका एकदेव अधिकारीको कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । 

अर्का सहसचिव प्रदीपराज अधिकारीको कोशी प्रदेश प्रमुखको कार्यालय सरुवा भएको छ । त्यहाँ वहाल रहेका पुष्कर न्यौपानेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको कार्यालयमा सरुवा भएको छ । 

इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज भुषालको बागमती प्रदेश सरकारमा सरुवा भएको छ । भुषालको सट्टा त्यहाँ अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइएको छैन ।

सहमति नलिएकोमा मेयर कोइरालाको आपत्ति

यसैबीच आफूसँग एक वचन पनि सरसल्लाह नगरी प्रमुख प्रशासकीय अधिकृत पठाएको भन्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आपत्ति जनाएका छन् ।

उनले प्रमुख प्रशासकीय अधिकृतमा व्यक्ति को पठायो आफूलाई मतलब नभएको तर नसोधीकन पठाएकाले आफूलाई मान्य नहुने बताएका छन् । 

संघीय सरकारले विराटनगर महानगरपालिकामा रामचरित्र मेहतालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको छ । 

मेहताले यसअघि इटहरी, इनरुवासहित सुनसरीका केही पालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेका छन् । 

आफूलाई एकवचन पनि नसोधी, सरसल्लाह नगरी गठबन्धन सरकारले गरेको सरुवाले स्थानीय तहको अपमान गर्न खोजिएको मेयर कोइरालाले बताएका छन् । 

‘जोसुकै सरुवा भएर आओस्, तर स्थानीय तहका जनप्रतिनिधिलाई सोध्नुपर्छ’ मेयर कोइरालाले उद्घोषसँग भने, ‘यो पटक सरुवा गर्दा किन सोधिएन, नसोधी सरसल्लाह नगरी एकतर्फी रुपमा कर्मचारी पठाएको हो भने हामी पनि त्यहीअनुसारको कदम चाल्छौं ।’ 

उनले स्थानीय जनप्रतिनिधिहरूको सम्मानमा आघात पुग्नेगरी गरिएको सरुवा र पठाइएको कर्मचारीलाई हाजिर गराउन आफूहरू बाध्य नहुने बताए । 

‘यसरी कसरी चल्छ ?’ उनले भने, ‘अरे बाबा, हामी पनि त केही होलाम् नि, हामीलाई चाहिँ सोध्नु पर्दैन ? सल्लाह गर्नु पर्दैन ? मानिदैन ।’

View : 657

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved